50Shares

अहिले पनि संघीय राजधानी काठमाडौं बाहिरकालाई ‘मोफसल’ भन्ने चलन हराइसकेको छैन । यद्दपि सामाजिक सञ्जाल, अनलाइन लगायतका नयाँ मिडियाको बढ्दो प्रभावले नेपाली पत्रकारितामा मोफसल र राजधानीको दुरी भनेको हटेको छ । तर काठमाडौँ भन्दा ‘मोफसल’ मा पत्रकारिताको चुनौती अझै बढ्दो छ । साँच्चै भन्नुपर्दा चुनौतीको चौघेरामा मोफसलको पत्रकारिता बाँचिरहेको छ । यही कारण मोफसलमा व्यावसायिक तथा खोज पत्रकारिताको साख क्रमशः गिर्दो अवस्थामा छ ।
नेपाली पत्रकारिताले एक सय वर्ष पार गरिसक्दा पनि यस क्षेत्रका चुनौतीहरु भने अझ कम हुन सकेका छैनन् । सञ्चारगृहको स्थापनाले हामीलाई अवसर त दिएकै छ, तर यसैबाट बाँच्नसक्ने स्थिति सिर्जना गर्न भने सकेको छैन । नयाँ प्रविधि, नयाँ स्रोतसाधन, नयाँ जमाना र नयाँ पाठक अब पुरानो आनीबानी बोकेका सञ्चारमाध्यमले थेग्नुपर्ने चुनौती बन्न थालिसकेका छन् ।
अझ हात हातमा मोबाईल पुगिसकेको अवस्थामा मोफसलले ‘डिजिटल पत्रिका’ मार्फत आफूलाई स्थापित गर्नुपर्ने चुनौती अझ थपिएको छ । डिजिटल पत्रिकाले कागजको पत्रिकालाई विस्थापित गर्ने क्रम शुरु भैसक्यो । तर परम्परागत मिडिया मूलधारमा छन् भने यिनका पाठकको छनौट बाँडिएका छन् । कोही फेसबुक, भाईवर, टुईटर, टिकटक, ईन्स्टाग्राम, गुगल, याहु, ईमु, युट्युब, ह्वाट्स एप जस्ता सामाजिक सन्जालमामार्फत पत्रकारिता गरिरहेका छन । कोही नयाँ ट्याब र ग्याजेट्समा रुमलिँदै नयाँ नयाँ वेवसाईट्स, ब्लगमा आफ्नो स्वाद खोजिरहेका छन् । यी सबै प्रविधिसँग प्रतिष्पर्धा गर्ने कुरा त हुँदै भयो, त्यसमाथि पनि श्रमजीवि पत्रकारका समस्याहरु झनै बढ्न थालेका छन् । श्रमजीवि पत्रकारलाई सञ्चारगृहले नियुक्तिपत्र नदिनु, तलब नतोकिनु, तोकिएको पारिश्रमिक र ऐन लागु गर्न तत्परता नदेखाउनुजस्ता कारणले मोफसलको पत्रकारिता अझै समस्याबाट समाधान तर्फ जान सकेको छैन ।

पत्रकारलाई जागिर कि तलब ?
पत्रकारलाई काम गरेवापत जागिर र तलब के दिने भन्ने बारे एउटा रमाइलो प्रसंग छ । एकजना बेरोजगार युवक जागिर खोज्दै एक सञ्चारगृहको ढोकामा पुगे । कार्यकक्षमा पत्रिकाका सम्पादक÷प्रकाशक भेटिए । युवकले सम्पादकसंग आफूलाई पत्रिकामा ‘पत्रकार’ भएर काम गर्न मन भएको र जागिर खाने इच्छा व्यक्त गरे । दुवै जनाको एकैछिनको भलाकुसारीपछि सम्पादक ती व्यक्तिलाई जागिर दिन सहमत भए । सम्पादकले ती युवकको बेरोजगारीको फाइदा उठाए । युवकले पनि ‘जागिर’ पाएपछि थप कुरो सोंच्दै सोंचेनन् । जागिर गरिसकेपछि पक्कै तलब पाईन्छ भन्ने युवकलाई लाग्यो । काम गर्दै गए । सम्पादकले जे जे भन्छन्, त्यही गरे । जता जा भन्छन् त्यतै गए । जे लेख्न भन्छन् त्यही लेखे । लेखेका कुरा पत्रिकामा छापिदै गयो । युवक मख्ख परे । सम्पादकले जागिर मात्रै होइन, स्यावासी समेत दिए ।
एउटा बेरोजगार युवक रोजगारी पाएकै कारणले गदगद थियो । घरपरिवार,इष्टमित्र, साथीभाई उ ‘पत्रकार’ बनेकोमा गर्व गर्न थाले । पत्रिकामा उसको नाममा ‘वाइलाइन समाचार’ आयो । उसको खुशीको सिमै रहेन । दिन वित्यो । महिना वित्यो । सधै स्यावासीले मात्रै दिन चल्दो रहेनछ । पत्रिकामा आएको वाइलाइन समाचारले भोको पेट भरिंदो रहेनछ । सम्पादकले तलब दिने लक्षणै देखाएनन् । पछि वाध्य भएर बेरोजगार युवकबाट पत्रकार भएका उनले सम्पादकसंग दुःखको भारी विसाउँदै भने,‘ सम्पादकज्यू, पैसा चाहिएको थियो । घरमा साह्रै समस्या छ ।’ आफै प्रकाशक भएको पत्रिका छाप्न सम्पादकलाई धौ धौ थियो । तनाव वेग्लै थियो । अनि सम्पादकले जवाफ फर्काए,‘ तपाईलाई मैले पत्रकारको जागिर दिएको हो । मैले जागिर र तलब दुवै दिन सक्दिन महोदय ।’ पत्रकारलाई पिरलो प¥यो । सम्पादकले दिएको यो जवाफले अब पत्रकारलाई यो पत्रकारिता पेशा ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार’ भनेझैं लाग्यो । एकजना सम्पादकसंग पत्रकारले पारिश्रमिक माग्दा ‘पत्रकारलाई जागिर र तलब दुवै दिन सकिन्न’ भनि सम्पादकले भनेको सन्दर्भ हो यो ।

संकटमा सञ्चारमाध्यम
द्रुतगतिमा पछिल्लो समयमा मोफसलमा पनि सञ्चारको विकास भईरहेको छ । पछिल्लो समयमा खुलेका इलेक्ट्रोनिक सञ्चारमाध्यमहरु (रेडियो, टेलिभिजन), न्यु मिडियाहरु (अनलाईन, युटुव, व्लग) र सामाजिक सञ्जालका कारण छापा माध्यमको बजार त खस्कदो अवस्थामै छ । यद्दपि अन्य मिडियाको अवस्था पनि सन्तोषजनक छैन ।
मोफसलका सञ्चारमाध्यम टिकाउने पहिलो अस्त्र भनेको विज्ञापन नै हो । तर काठमाडौँका विभिन्न सञ्चारमाध्यमबाट सजिलै सूचना पाउने भएपछि मोफसलका सञ्चार माध्यमको बजार र पाठकहरु घटेका छन् भने पाठकसँगै विज्ञापन समेत घटिरहेको छ ।
खस्कदो विज्ञापन वजारका कारण मोफसलका सञ्चारमाध्यमले गति लिन सकेका छैनन् । दिन प्रतिदिन वढेको विज्ञान वजारले सञ्चारमाध्यमको बजार पनि सुखद नै देखाउन सक्छ तथापी त्यो विज्ञापन बजार मिडिया सवल र सक्षम बनाउन तर्फ आकर्षित भएको देखिदैन । विज्ञापनले सञ्चार माध्यमलाई सवल र सक्षम वनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विज्ञापन वजारको वृद्धिले मिडियालाई सवलिकरण गरिरहेको हुन्छ । तर ती विज्ञापनका रोजाईमा मोफसलका सञ्चारमाध्यम पर्न सकेका छैनन् । अर्कोतर्फ सवै निकायले आफ्ना आफ्ना वेवसाईट वनाएर विज्ञापन समेत गर्ने हुँदा अन्य माध्यममा विज्ञापन दिने क्रम नै घटेको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा नै सवै खालका विज्ञापन प्रकाशन गर्ने चलन बढिरहेकाले त्यस्ता विज्ञापन सञ्चारमाध्यमको रोजाइमा पर्न सकेका छैनन् । यसका साथै सरकारी विज्ञापन उनीहरुकै वेवसाईटमा प्रकाशित हुन थालेका छन् । मोफसलका जनप्रतिनिधीको पूर्वाग्रहपूर्ण व्यवहार अझै पनि कायमै छ । आफू निकटका मिडिया र मिडियाकर्मीलाई मात्र विज्ञापन दिने उनीहरुको व्यवहारका कारण संचार क्षेत्रको आय स्रोत घटेको छ । यसले मोफसलका मिडियालाई टिकाउन अवरोध सृजना गरेको छ ।
पछिल्लो समय युटुवलाई मिडियाका रुपमा आम नागरिकले बुझिदिदा पनि समाचारमूलक सञ्चामाध्यम संकटमा पर्दै गएका हुन् । भिडियो र अतिरञ्जित अर्थात नकारात्मक वा सनसनीपूर्ण समाचारको खोजीमा रहने दर्शक पाठकका कारक बनेका युट्युव च्यानलले पनि मोफसलका सञ्चारमाध्यमको बजार घटाई रहेका छन् । पछिल्लो पुस्ताले पठनपाठनमा ध्यान नदिने, श्रव्यदृष्यलाई मन पराउने र भाइरल हुन चाहने जमातका कारण पनि मोफसलका पाठक र विज्ञापन बजार खस्किरहेको पाइन्छ ।
काठमाडौँबाट प्रकाशन हुने पत्रपत्रिकाले क्षेत्रीय स्तरमा विभिन्न शहरमा आफ्नै प्रेस राखेर पत्रपत्रिका प्रकाशन गरेका छन् । एफएम रेडियोले रिले स्टेशन राखेर आफ्ना रेडियो बजाइरहेका छन् । अनलाइनहरुले उचिन साधन स्रोतको प्रयोग गरेर समय समयमा आफ्ना सञ्चारसामग्रीहरु पस्किरहेका छन् । तर मोफसलका सञ्चारमाध्यममहरुले यस्ता सञ्चारमाध्यमसँग प्रतिष्पर्धा गर्न नसकेका कारण पनि यहाँका सञ्चारमाध्यमलाई टिकाइराख्न समस्या भएको छ ।

श्रमजीविलाई ‘युज एण्ड थ्रो’
अझै पनि पत्रिका, रेडियो र टेलिभिजन दर्ता गर्न नेपालमा समस्या छैन । अति नै न्यूनतम शुल्कमा सञ्चारमाध्यम दर्ता गर्न सकिन्छ । तर यसको ‘अपरेटिङ खर्च’ को हेक्का नहुँदा र यसप्रति गहन चिन्तन नगर्नाले धेरैलाई अन्यौलमा पारिदिएको छ । ‘मिडिया हाउस’ लाई नयाँ मान्छे काममा लगाउन गाह्रो छैन । मिडियामा काम गर्न पाएपछि आजका युवाहरु ‘रहर’ मै पत्रकारितामा प्रवेश गर्छन् । बढिमा दुई वर्ष जसोतसो काम गर्छन् । जब यो क्षेत्रमा केहि देख्दैनन्, अनि भाग्छन् । फेरि अर्को समूह उसैगरि पत्रकारितामा प्रवेश गर्छ । उनीहरुको पनि हविगत उही हुन्छ । यति भएपछि मिडिया मालिकहरुले पनि ‘यूज एण्ड थ्रो’ गर्न पाइहाले । श्रमजीवि पत्रकारका नाममा भजन गाउनेहरुलाई यस्ता कुरामा के मतलब ?
रेडियो÷टेलिभिजनको उपस्थिति बाक्लो नहुञ्जेल धेरै परिणाममा विक्री हुने पत्रिकाहरुको उपस्थिति बजारमा अहिले कतै देखिंदैन । उतिबेला पत्रकारितामा देखिने धेरै अनुहार अहिले पत्रकारितामा छैनन् । भएकाले पनि पत्रकारितालाई ‘सम्मानजनक सहभागिता’ को लोभका लागि मात्रै उपयोग गरिरहेका छन् । ‘पाका पत्रकार’को अनुभवमा कुनैबेला पत्रकारितालाई समस्याग्रस्त भनिएपनि सम्मानजनक चाहि थियो । तर यतिबेला उनीहरुकै अनुभवमा यो पेशा न सम्मानजनक बन्न सकेको छ, न त आर्थिक रुपमा नै अगाडि बढ्न सकेको देखिन्छ ।

समस्या बाहिर आउँदैनन्
भनिन्छ, पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वका लागि पनि हो । यसैले हत्तपत्त यसका विकृतिहरु बाहिर आउँदैनन् । तलब र पारिश्रमिक नदिने सञ्चारमाध्यमका विषयमा मोफसलका सञ्चारकर्मीहरु त्यति उग्र हुन सक्दैनन्, जति राजधानी काडमाडौँका रहेका सञ्चारकर्मीका समस्या बाहिर आउने गरेका छन् । सकेसम्म ‘घरभित्रको कुरो घरभित्रै’ भनेझैं आफू समस्यामा परेको विषय गुम्स्याएरै राख्न चाहन्छन् । किनभने आफ्नो सामाजिक उत्तरदायित्वसंग भागेर व्यवस्थापनसंग नराम्रो हुने चाहना अधिकांश सञ्चारकर्मीहरुको नभएरै होला । आफ्नै जिल्लामा किन कोहि कसैसँग विवाद गरिरहने भन्ने मनशाय धेरैको हुँदोरहेछ । तर यसको फाइदा अदृष्य रुपमा मिडिया संचालकले लिइराखेका छन् ।
सम्वाददातादेखि सम्पादकसम्म भनेकै पदमा छानीछानी पद दिने सञ्चारमाध्यमहरुको कमी छैन । सञ्चारमाध्यमप्रतिको आकर्षण व्यावसायीदेखि राजनीतिज्ञ हुँदै सामाजिक कार्यकर्तासम्मकालाई छ । पैसा भईभई ‘रहर पत्रकारिता’ गर्नेहरुका लागि सञ्चारमाध्यमबाट पारिश्रमिक पाए पनि नपाए पनि कुनै मतलब हुने कुरै भएन । तर समाचार लेखेकै भरमा जिन्दगी गुजार्नेहरुका लागि भने यो पेशा अभिषाप बन्दै गएको छ । धेरैलाई सत्य तितो लाग्न सक्छ । सञ्चारकर्मी मात्र भएर मात्रै बाँच्न अबको समयमा गाह्रो भईसकेको अवस्था हो ।

समाधानका उपाय
पछिल्लो बीस वर्षयता नेपाली मिडियामा आश्चर्यजनक भीड बढ्यो । जसलाई नेपाली समाज र नेपालको मिडिया व्यवसायले थेग्न सकेन । हुँदा हुँदा अधिकांश मिडियामा बोल्ने सुनाउने, हेर्ने देखाउने, र लेख्ने पढाउने पात्रहरु एउटै भए । जुन रेडियोले बोल्यो, उही रेडियोकाले मात्रै सुन्ने भए । जुन टेलिभिजनले प्रसारण ग¥यो, उसैका मान्छेले मात्रै हेर्ने भए । जे पत्रिकामा छापियो, उसैका परिवारले मात्रै पढ्ने भए । मिडिया र मिडियाकर्मी नयाँ जन्मिएपनि उसले नयाँ पाठक, श्रोता र दर्शक जन्माउन सकेन । जसको परिणाम समग्र मिडिया व्यवसायलाई नै धक्का लाग्यो र अहिले आएर समग्र सञ्चारकर्मी समेत आर्थिक मारमा परिरहेका छन् । भनिन्छ, ‘अकबरी सुनलाई कसी लाउन पर्दैन ।’ राम्रा मिडिया बनाउन सके पत्रिकाका ग्राहकलाई,‘पत्रिका मागेर होइन, किनेर पढ है’ भन्दै अर्ती दिन आवश्यक छैन । यसैले आफू संलग्न मिडियालाई आफू छइञ्जेल कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नु आम सञ्चारकर्मीको दायित्व पनि हो ।
पत्रकारिता पढेर यसैमा जीवन समर्पित गर्छु भन्दै लागेका युवाहरु पनि छन् अहिले । विगतबाट पाठ सिक्दै उनीहरुको भावनामा ठेस पु¥याउन नदिन अब ‘पाका पत्रकार’ ले सोंच्नैपर्ने भएको छ । यससंगै नेपाली समाजले कति मिडिया थेग्न सक्छ भन्ने हिसाब गरेर मात्रै मिडिया सञ्चालन गर्नु आवश्यक छ । दर्ता भई सञ्चालनमा आइसकेका मिडियालाई सोझै बन्द गर्नुभन्दा ‘मिडिया मर्ज’ को नीति ल्याएर यसलाई टिकाउन सकिन्छ । अहिले संकटग्रस्त भएका सहकारी र बैंकहरुलाई सरकारले मर्ज गरेर सञ्चालन अनुमति दिएजस्तै नेपाली मिडियामा पनि यो ‘मर्ज नीति’ ल्याउन सके समस्यामा कमी आउने थियो । अनि पत्रकारले जागिर र तलब दुवै पाउने थिए । होइन भने सधैंभरि नेपाली पत्रकारहरु ‘पारिश्रमिक विनाको परिश्रम’ गर्न वाध्य भईरहने छन् । सञ्चारमाध्यम पनि ‘मूर्दामाथिको लाश’ झैं घिटिघिटि पाराले तुलसीको मोठ ढुकेर बसिरहने छन् ।
देशभर अहिले बग्रेल्ती खुलेका सञ्चारमाध्यमहरुमा ‘जागिर’ खाने सञ्चारकर्मीहरुको भीड छ । भएका सञ्चारमाध्यम जोगाउने र यो क्षेत्रमा काम गरिरहेकालाई टिकाउन ‘मिडिया संचालक’ ले अब वर्षदिन भरि आफ्नो मिडिया सञ्चालनको आधार प्रष्ट गर्न सक्नप¥यो । अब ‘आसे विज्ञापन’का भरमा मात्रै मिडिया चलाउनेका दैलामा श्रमजीवि पत्रकारले शुरुमै पाइला टेक्न हुँदैन । मिडियाले विज्ञापन खोज्ने भन्दा पनि विज्ञापनले मिडिया खोज्ने अवस्था आयो भने सुनमा सुृगन्ध हुनेछ । यसैले शुरुमै बुद्धि पु¥याइयो भने पछि दुःख पाइदैन । यसैले समृद्ध पत्रकारितको बारेमा सबैले छलफल र बहस चलाऔँ । मिडिया पनि बचाऔँ । सञ्चारकर्मीलाई पनि काममा टिकाइराख्ने अवस्थाको सृजना गरौँ ।

निष्कर्ष ः
मोफसलका सञ्चारमाध्यमलाई चुनौतीको चौघेराले घेरेको भन्दैमा भन्दैमा यसभित्र समस्या मात्रै होइन, समाधान पनि छ । राजधानीको मुहान सफा नभइ मोफसलको पत्रकारिता फष्टाउने सम्भावना त छैन । यसैले श्रमजीवि पत्रकारलाई नियुक्ती पत्र दिएर जागिर खुवाउने मात्रै काम गर्ने होइन, समयमै नियुक्ती पत्र अनुसार तलब खुवाउने व्यवस्था हुनुपर्छ ।
सञ्चारमाध्यमलाई टिकाउन समानुपातिक विज्ञापन नीतिलाई प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । स्थानीय सञ्चारमाध्यममा स्थानीय तहका सूचना र विज्ञापन आलोपालो ढंगले प्रकाशन÷प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्छ । प्रेस चौतारीजस्ता पत्रकारितासम्बद्ध संचार संघ सगठनले श्रमजीवि पत्रकारहरुको पेशागत हकहितसहित क्षमता अभिवृद्धि गर्ने र स्वरोजगारमूलक सञ्चारमाध्यमको सदृढिकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्छ । मोफसलका सञ्चारमाध्यममा मौलाउँदै गएको कपीपेष्ट पत्रकारितालाई निरुत्साहित गरिनुपर्छ । पत्रकारले पनि नयाँ विषय पढ्ने र जान्ने हुनुपर्दछ । पत्रकारिता बौद्धिक पेशा भएकाले पत्रकार आफैमा शिक्षित, दक्ष र आचरणले शुद्ध हुनुपर्छ । पत्रकारिताको आवरणमा विभिन्न ठेक्कापट्टा र अदृष्य आर्थिक क्रियाकलापमा संलग्न हुनेहरुलाई वेवास्ता गरी आफ्नो मूल पेशा पत्रकारिता बनाएकाहरुलाई अवसर र सम्मान दिनुपर्छ ।
भौगोलिक विकटता, इण्टरनेट÷टेलिफोनको सहज विस्तार र पहुँच नहुँदा मोफसलको पत्रकारिताले अझै फड्को मार्न सकेको छैन । श्रमजीवि पत्रकारहरुले पनि समय र प्रविधिसँगै नयाँ मिडियाको प्रयोग गरी आफ्नो क्षमतालाई उजागर गर्न सकियो भने मोफसलको पत्रकारिता अझ फष्टाएर जानेछ । अनि मोफसलमा पनि पत्रकारिताको अवसरसँगै सम्भावनासमेत बढ्नेछ ।

50Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement