0Shares

१३ असार, काठमाडौं । क्रियाशील सदस्यताको मापदण्ड सम्बन्धी विवादबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुलाई पनि बोलाइएको छ । समितिले विवाद मिलाउन नसकेपछि पदाधिकारीलाई नै त्यसको जिम्मा दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुसार कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने छ । पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने कांग्रेसको वैधानिक व्यवस्था छ ।

तर अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुको हकमा सदस्यताको मापदण्डबारे विवाद छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्य योगेन्द्र चौधरीले भने, ‘अन्य पार्टीबाट आएकाहरुको मापदण्ड कसरी निर्धारण गर्ने भन्ने समस्या छ । पदाधिकारीहरुले मापदण्ड टुंगो लगाइदिनु भयो भने उहाँहरुले दिएको समयसीमा भित्र काम सम्पन्न गर्न हामी सक्छौं । नत्र हामीलाई कठिन हुन्छ ।’

कांग्रेसबाट पार्टी एकता गरेका विजय कुमार गच्छदारले २५ हजार र राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापाले १० हजार क्रियाशील सदस्यता पाएका छन् । तर कतिपय कार्यकर्ताहरुको विवरणमा प्रश्न उठाउँदै जिल्ला पार्टीका नेताहरुले इन्ट्री नै गर्न नमानिरहेको एक नेताले बताए । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा पनि क्रियाशील सदस्यता सम्बन्धी विवाद छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement