0Shares

काठमाडौं /२६ कार्तिक – फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने परीक्षार्थीको उत्तरपुस्तिका बोर्ड आफैले परीक्षण गर्ने भएको छ । ती विद्यार्थीको उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश परीक्षा कार्यालयले गर्नेछ ।

प्रदेश कार्यालयले परीक्षण गरी प्राप्ताङ्कसहितको उत्तरपुस्तिका बोर्ड कार्यालयमा पठाउने जनाएको थियो । तर शिक्षक अभाव हुन सक्ने आकलन गर्दै बोर्डले सबै उत्तरपुस्तिका केन्द्रीय कार्यालयमा परीक्षण गर्ने जनाएको थियो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सबै प्रदेश कार्यालयलाई उत्तरपुस्तिका केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रदेश कार्यालयमा शिक्षक अभाव हुन सक्ने र परीक्षण गर्न समय लाग्ने भएपछि बोर्डमा पठाउन निर्देशन दिएका हौं ।’ आफ्नै विद्यालयमा परीक्षा दिएका विद्यार्थीको हकमा विद्यालयका विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी प्राप्ताङ्क दिन सक्ने व्यवस्था गरेको छ । विद्यालयले बोर्डलाई आवश्यकताका आधारमा उत्तरपुस्तिका बुझाउनुपर्नेछ ।

कोरोना संक्रमणको कारण उत्तरपुस्तिका परीक्षण गर्दा मास्क र पञ्जा अनिवार्यरुपमा लगाउनुपर्नेछ । केही विद्यालयले उत्तरपुस्तिकालाई सेनिटाइज गरी करिब तीन दिनपछि मात्र परीक्षण गर्न विषय शिक्षकलाई निर्देशन दिएको छ । बोर्डले कोभिडका कारण विद्यालयको सिफारिस र प्रवेशपत्रको आधारमा घरपायक वा आफू बस्ने जुनसुकै विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले चाँडो परीक्षाफल प्रकाशित गर्न सबै उत्तरपुस्तिका बोर्डमा परीक्षण गर्न लागेको जानकारी दिनुभयो । यो वर्ष ४ हजार १ सय ५ विद्यालयलाई केन्द्र कायम गरिएको छ ।बोर्डसँग कति विद्यार्थीले फरक केन्द्रबाट परीक्षा दिन्छन् भन्ने विषयमा तथ्याङ्क छैन । परीक्षा सञ्चालन हुनु केही दिनअघि यसबारेमा जानकारी हुने बोर्डको भनाइ छ ।

बोर्डको प्रदेश १ को विराटनगर, २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी प्रदेश कार्यालयबाट परीक्षा सञ्चालन र व्यवस्थापन हुनेछ ।

त्यस्तै हेटौंडा, लाहान, उदयपुर, दाङ, कोहलपुर र डडेल्धुरा शाखा कार्यालयले परीक्षा सञ्चालन र व्यवस्थापन गर्नेछन् । परीक्षालाई पूर्णरुपमा सुरक्षित र व्यवस्थितरुपमा सञ्चालन गर्न बोर्ड केन्द्रीय कार्यालयमा कन्ट्रोल रुम हुनेछ ।

बोर्डका अध्यक्ष प्राडा पौडेल, सदस्य सचिव दुर्गा अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्नेछन ।

विशेष गरी प्रश्नपत्र पुगे नपुगेको, परीक्षामा अमर्यादित कार्य भए नभए विषयमा कन्ट्रोल रुमका अधिकारीले जानकारी लिएर थप कार्ययोजना अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रश्नपत्र नपुगेको खण्डमा तत्काल पु¥याउने व्यवस्था गर्ने र प्रश्नपत्र पुगेपछि परीक्षा सञ्चालन गर्न निर्देशन दिने अधिकार कन्ट्रोल रुमका अधिकारीको हुनेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले कन्ट्रोल रुमबाट परीक्षासम्बन्धी सम्पूर्ण विषयमा जानकारी लिने व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्नेछ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले परीक्षा सुरक्षाको बन्दोबस्त मिलाउनेछ ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि १६ गतेसम्म हुने परीक्षामा सबै केन्द्रमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थ डेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले योे वर्ष परीक्षा ४० प्रतिशतका लागि मात्रै गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।

कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ । परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement