76Shares

भरतपुर । चितवनको कोरोना अस्पतालको विषयमा समाचार लेख्ने पत्रकारहरुलाई दिइएको धम्कीप्रति यहाँका पत्रकार र सम्बद्ध संस्थाले विरोध जनाएका छन् ।
अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलगायतलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न उनीहरुले माग गरेका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ चितवन शाखामा भएको बैठकमा अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार पण्डितलगायतलाई नेकपासम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले नै कारवाही गर्ने धम्की दिएकोप्रति खेद प्रकट गर्दै उनीहरुलाई कारवाही गर्न महासंघले माग गरेको हो । नेकपा चितवनले पनि अस्पतालको विषयमा राजनीतिकरण गर्न खोजिएको भन्दै पुष्टि भएका समाचार मात्रै प्रकाशन गर्न पत्रकारहरुलाई चेतावनी दिएको थियो ।
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।
धम्की निन्दनीय र खेदजनक ः महासंघ
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले विज्ञप्ती जारी गर्दै उनीहरुबाट आएको धम्की निन्दनीय र खेदजनक भनेको छ । धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघले माग पनि गरेको छ । घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न महासंघले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित÷ प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
पत्रकारलाई सुरक्षा देऊ ः प्रेस संगठन
प्रेस संगठन नेपाल चितवनले पनि पत्रकारहरुलाई धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका संयोजक प्रकाशमणि ज्ञवाली र सहसंयोजक तीर्थ नेपालद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिनु निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।
संगठनले आमपत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली ः प्रेस युनियन
नेपाल प्रेस युनियन चितवनले पनि पत्रकारलाई समाचार लेखेको विषयलाई लिएर धम्की दिएको प्रति घोर भत्र्सना गरेको छ ।
युनियनका अध्यक्ष अनिल ढकालद्वारा जारी विज्ञप्तीमा प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार गर्ने प्रशस्त मार्ग हुँदा हुँदै आएका धम्की समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार हो भनिएको छ । समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने भनी उल्लेख गरेकोप्रति युनियनले रोष प्रकट गरेको छ ।
युनियनले नेकपाबाट नै समाचार लेख्नबाट रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको महसुस गरिएको जनाएको छ । युनियनले पत्रकारहरुमाथि धम्की दिनेहरुलाई कानुनी कारवाही गरी पत्रकारहरुको सुरक्षा ग्यारेण्टी गर्न प्रशासनसंग माग गरेको छ ।

76Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement