48Shares

चितवन- कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक जना बिरामीको मृत्यु भएको छ। चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान मृत्यु भएको हो।

कोरोना अस्पतालका  चिकित्सक डा. भोजराज अधिकारीका अनुसार सोमबार बिहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरी उपचारका लागि भर्ना गरिएको थियो। वीरगञ्जका ती युवकको शव अस्पतालमै राखिएको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या पाइएपछि चितवन मेडिकल कलेजले कोरोना अस्पतालमा रिफर गरेको ती चिकित्सकले जानकारी दिए। युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए।

उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ। उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो।

‘उनी पहिलेदेखि नै लुपुस नामक रोगले पीडित रहेछन्। यसपाली ज्वरो र निमोनिया पनि देखिएपछि यहाँ ल्याइएको थियो,’ कोरोना नियन्त्रण कार्यदलका सदश्यसचिव डा. भोजराज अधिकारीले भने। डा. अधिकारीले ती युवकको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौं पठाइएको बताए।

टेकु अस्पताल स्रोतले परीक्षणको नतिजा साँझसम्म आउने बताएको छ।युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ।

मृतक युवकलाई कोरोना भएको आशंकामा कोरोना अस्पतालमा आइसोलेसनमा राखिएको थियो। ती युवकको घाँटीको स्वाब निकालेर सोमबार नै नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। कोरोना संक्रमण भएको वा नभएको रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरस परीक्षणको रिपोर्ट मंगलबार साँझसम्म वा बुधबारसम्म आइपुग्ने ती चिकित्सकले बताए।

48Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement