0Shares

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले हालैमात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने संकेत दिएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबारको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो ।

‘विपक्षमा रहेका सबै दलहरु एकजुट भएर सरकारका गलत कामकारबाहीको विरोध गर्नु जुरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ। त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो।’ बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार छनाैट गर्ने जिम्मा पदाधिकारीलाई दिएको पनि उनले बताए । बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले केन्द्रीय समिति र पदाधिकारी बैठक बहिस्कार गर्दै आएको छ ।

हालैमात्र राष्ट्रिय जनता पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा गठबन्धन गर्ने र राष्ट्रिय राजनीतिमा दीर्घकालीन सहयात्रा गर्ने भन्दै सत्तारुढ नेकपाले सम्झौता गरेको थियो। त्यसलगत्तै समाजवादी सरकारबाट बाहिरिएको थियो।

समाजवादीले भने राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने वा नगर्नेबारे कुनै निर्णय गरेको छैन। नेकपा र राजपाबीच सहकार्य भएपछि प्रदेश २ मा रिक्त हुने राष्ट्रियसभाका ४ सिट उनीहरुकै पोल्टामा पर्ने देखिन्छ। दुई दलबीच २-२ सिट भाग लगाइएको छ। यस्तो अवस्थामा कांग्रेस र समाजवादीको गठबन्धन बने पनि राष्ट्रियसभामा सिट पाउने संभावना न्यून छ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement