94Shares

चितवन, असोज २७

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोस्रो केन्द्रीय साधारण सभा भरतपुरमा आज सम्पन्न भएको छ ।

देशका विभिन्न जिल्लाबाट आएका पोखरेलहरुको कार्यक्रममा सहभागिता रहेको थियो । पोखरेलहरुले आफ्नो बंशावली, टेलिफोन डाइरेक्ट्री, केन्द्रीय कार्यालय निर्माण गर्ने विषयमा साधारण सभामा छलफल गरेका थिए । केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ उनीहरुले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनमा वृहद् महायज्ञ सञ्चालन गर्दैछन् ।

साधारण सभामा अध्यक्ष ओमप्रसाद पोखरेलले प्रतिष्ठानको भावी कार्ययोजना, महासचिव हरिप्रसाद पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेखा पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनहरु साधारण सभाबाट पारित भएको छ ।
कार्यक्रममा साधारण सभाका प्रमुख अतिथि सांसद एवम् कानुन, न्याय तथा संसदीय व्यवस्था समितिका सभापति कृष्णभक्त पोखरेलले सबै समुदायले आफ्नो इतिहास खोजेर संगठित भइरहेका बेला प्रतिष्ठानको यो कार्य सम्मानयोग्य भएको बताए । अब यो संगठित अभियान परिष्कृत र देशकै समृद्धितर्फ लाग्नुपर्नेमा प्रमुख अतिथि पोखरेलको जोड थियो ।

कार्यक्रममा पण्डित दिनबन्धु पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष भोला पोखरेल, जिल्ला कारागार पर्साका प्रमुख श्रवणकुमार पोखरेल, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य ईश्वर पोखरेल, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्राध्यापक श्रीधर शर्मा मजगैया पोखरेल, भिजन लुम्बिनीका प्रमुख जगत पोखरेल, उपाध्यक्ष शान्तप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साधारण सभाले पुनः ओमप्रसाद पोखरेलकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पोखरेलले अब प्रतिष्ठानका तर्फबाट पोखरेलहरुको यथार्थ बंशावली तयारी गरिने र आफ्नो समुदायबाट देशलाई समृद्ध बनाउनेबारे छलफल भएको बताए । चितवनको देवघाटमा पोखरेलहरुको केन्द्रीय प्रतिष्ठान निर्माण गर्न स्व. चुणामणि पोखरेलले दिएको करिब डेढ कठ्ठा जमिनमा भारद्वाज ऋषिको मूर्तिसहित विश्राम गृह र मन्दिर निर्माण गरिने उनले जानकारी दिए । भवनलाई भारद्वाज गोत्रीय पोखरेलको आफ्नो भवन भन्ने भावना दिलाउनको लागि देशभरका पोखरेलहरुबाट मुठ्ठी दान उठाएर भवन निर्माण गर्नुपर्ने सहभागीले बताएका थिए । उक्त स्थानमा हवनकुण्डसहितको पितृलाई पिण्ड दिने स्थलसमेत निर्माण गरिने भएको छ ।

साधारण सभाले उपाध्यक्ष श्रीधर मजगैया पोखरेलको संयोजकत्वमा ७ सदस्यीय वंशावली मस्यौदा समिति, प्रा.डा. राजाराम सुवेदीको संयोजकत्वमा विज्ञ समिति र महासचिव हरिप्रसाद पोखरेलको संयोजकत्वमा टेलिफोन डायरी प्रकाशन समिति निर्माण गरेको छ । आगामी माघ ११ देखि १८ गतेसम्म चितवनको पारसनगरमा हुने वृहद् धनधान्याञ्चल महायज्ञ कार्यक्रम सम्पन्न गर्न ओमप्रसाद पोखरेलको संयोजकत्वमा मूल समिति निर्माण गरिएको छ । महायज्ञकै लागि विभिन्न २५ वटा विषयगत उपसमितिसमेत चयन गरिएको छ ।

94Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement