0Shares

तुलसी एक मात्र यस्तो वनस्पति हो, जसलाई सन्तानजस्तै हुर्काइन्छ, स्याहारिन्छ र बिहे गराइन्छ।

जेठ शुक्ल एकादशीको दिन हिन्दु धर्मावलम्बीहरू यो वनस्पतिको बीउ छर्छन्। एक महिनापछि अंकुराएको सानो बिरूवा आफ्ना आँगनको मठ, बारी वा गमलामा रोप्छन्। सकेसम्म दिनहुँ पानी हाल्छन्। र, चार महिनापछि कात्तिकमा तुलसीको बिहे गराउँछन्।

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार तुलसीलाई यति महत्व दिनुमा धार्मिक र वैज्ञानिक दुवै कारण छन्।

हिन्दु धर्मशास्त्रले तुलसीलाई विष्णुको स्वरूप मान्छ। श्री स्वस्थानी व्रतकथामा यसको प्रसंग उल्लेख छ।

एकपटक भगवान शिव र दुष्ट जालन्धरबीच भयंकर संग्राम हुन्छ। जालन्धरकी पत्नी वृन्दाको पतिव्रता धर्मका कारण शिवले उनको अन्त्य गर्न सक्दैनन्। वृन्दाको धर्म हरण गर्न भगवान विष्णु जालन्धरको भेष बदलेर जान्छन्।

वृन्दाको धर्म हरणपछि शिवले जालन्धरलाई मार्न सफल हुन्छन्। आफूलाई विष्णुले छल गरेको र आफ्ना श्रीमान मारिएकोमा वृन्दाले विष्णुलाई श्राप दिन्छिन्। वृन्दाले विष्णुलाई झार, घाँस, कल्पवृक्ष र ढुङ्गा भएर रहनुपरोस् भनी श्राप दिएर देह त्याग गर्छिन्।

यही श्रापका कारण झारका रूपमा विष्णु तुलसी भएको विश्वास छ। त्यही भएर जेठ शुक्ल एकादशीमा छरिएको तुलसीको बीउ असार शुक्ल एकादशीमा रोपिन्छ। भगवान विष्णु यो एकादशीमा क्षीरसागरमा सुत्न जाने विश्वास छ। यही कारण यो दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ।

कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन भगवान विष्णु जाग्ने शास्त्रीय मान्यता छ। त्यही दिन तुलसीको दामोदरसँग बिहे गराइन्छ।

‘तुलसीको हुर्काइ हेर्ने हो भने आज (असार शुक्ल एकादशीमा) रोपिएको बिरूवा कात्तिसम्म हुर्केर पूर्ण हुन्छ। फूल–बीउ लाग्न थाल्छ। त्यही पूर्णतालाई आधार मानेर बिहे गराइदिने चलन हिन्दु संस्कारमा भएको हो,’ वनस्पतिविद् श्रेष्ठले भने।

धर्मशास्त्रमा तुलसीको स्थान जति माथि छ, वनस्पति विज्ञानमा पनि उति नै उच्च छ।

तुलसीको वानस्पतिक नाम ‘ओसिमम स्यान्टम’ हो। अंग्रेजी शब्द ‘स्यान्टम’ ले पवित्र चिज भन्ने बुझाउँछ। तुलसी पवित्र मानिएकै कारण वानस्पतिक नाममा पनि यो शब्द जोडिएको श्रेष्ठ बताउँछन्।

अंग्रेजी बोलीचालीमा यसको नाम ‘होली बेसिल’ हो, जसको अर्थ ‘पवित्र तुलसी’ नै हुन्छ। वनस्पति विज्ञानमा श्रृखण्डको नाममा पनि ‘स्यान्टालुम’ जोडिनुको कारण त्यसको पवित्रता नै हो।

यसरी पश्चिमा मुलुकले समेत पवित्र मानेको तुलसीका धेरै व्यवहारिक फाइदा छन्।

आयुर्वेद विज्ञानले तुलसीलाई ‘जडिबुटीहरूकी रानी’ मान्छ। भन्छ– तुलसीले निको नहुने कुनै रोग छैन। यो भनाइ पुष्टि नभए पनि यसमा पर्याप्त अक्सिजन पाइने तथ्य प्रमाणित भइसकेको छ। रुघा–खोकी, दम लगायत रोगमा विशेष फलदायी हुनेमा कुनै शंका छैन। ज्वरो आउँदा तुलसीका पात पकाएर खुवाउने चलन हाम्रो गाउँघरमा अझै छ।

अरूचि र पेटका सामान्य समस्यादेखि मधुमेहजस्ता रोगमा समेत यो फाइदाजनक भएको अनुसन्धानहरूले देखाएका छन्।

तुलसीको बासना मीठो हुन्छ। यसको पातलाई चियाका रुपमा खाने चलन पनि छ। ‘यसमा ‘सुगन्धित तेल’ धेरै हुन्छ, हातमा माडेर सुँघ्यो भने मानसिक तनावसमेत कम गर्न सघाउँछ,’ श्रेष्ठले भने।

‘जर्नल अफ अल्टरनेट एन्ड कम्प्लिमेन्टरी मेडसिन’ मा प्रकाशित एक रिपोर्टले तुलसीले तनाव कम गराउने पुष्टि गरेको छ। यसका लागि तनावको समस्या भएका व्यक्तिमा तीन सातासम्म अध्ययन गरिएको थियो। उनीहरूलाई दिनहुँ तुलसीको तेल सुँघ्न दिइन्थ्यो। तेल सुँघ्न थालेपछि उनीहरूको तनाव कम हुँदै गएको नतिजा अध्ययनले देखाएको थियो।

तुलसी ठाउँअनुसार विभिन्न प्रकारका हुन्छन्। स्वीट, थाइ, ग्रिक, लिट्युस र सिनामोन बेसिल विशेषगरी खानेकुरामा प्रयोग हुन्छ। होली बेसिल भने औषधि र चियाका रूपमा प्रयोग हुन्छ। हामीले रोप्ने गरेको तुलसी प्रायः यही प्रजातिको हो।

तुलसीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ। हाम्रो पाचनप्रणाली सही राख्न मद्दत गर्छ। अनिद्राको समस्या पनि कम गर्ने विभिन्न अध्ययनले देखाएका छन्।

यसमा पर्याप्त अक्सिजन पाइन्छ। विश्वका धेरै ठूला सौन्दर्य सामग्री उत्पादक कम्पनीहरूले तुलसी प्रयोग गर्दै आएका छन्। छालाजन्य समस्याका ओखतीदेखि अत्तरसम्म बनेका छन्।

तुलसीले वातावरण स्वच्छ राख्न मद्दत पुर्याउँछ। सन् २००८ तिर भारतले ताजमहललाई प्रदूषणबाट जोगाउन वरिपरि तुलसी रोपेको थियो। दिल्लीका पार्कमा पनि तुलसीका धेरै बिरूवा रोपिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

‘हाम्रो संस्कृतिमा तुलसी आँगनमा रोप्ने चलन छ। यसमा भएको विशेष गन्धका कारण कीराफट्यांग्रा, लामखुट्टे वा झिँगाहरू नजिक आउँदैनन्,’ वनस्पतिविद् श्रेष्ठ भन्छन्।

पछिल्लो समय आधुनिकीकरणसँगै हाम्रा घरहरूबाट तुलसी हराउँदै गएको छ। सहरका नयाँ घरहरूमा त फाट्टफुट्ट पनि देखिन मुश्किल छ। गाउँमा पनि पक्की घर बनेसँगै तुलसी मठ मासिँदै गएका छन्।

‘तुलसी भनेको धर्मसँग मात्र जोडिएको छ भन्ठान्नेहरूले यसलाई आफ्ना घरआँगनमा जगाउन छाडेका छन्,’ उनले भने।

बजारबाट तुलसी ‘फ्लेवर’ का औषधिदेखि ‘अर्गानिक’ चियासम्म किनेर ल्याउँछौं। तर, आफ्नै आँगन वा सानो गमलामै हुर्किन सक्ने तुलसी रोप्न जाँगर गर्दैनौं। घरमा हुर्केको तुलसीका पात नै ‘अर्गानिक’ चियाका रूपमा पिउन मान्दैनौं।

‘आकर्षक प्याकेजिङमा महँगो पर्ने चिया किन्नुभन्दा घरमै हुर्काएर, सुकाएर जोहो गर्न सकिन्छ,’ श्रेष्ठ भन्छन्।

तुलसी सेवन गर्दा यसको मात्रा मिलाउन जरूरी छ। गर्भवती, सुत्केरी वा दूध खुवाइरहेकी आमा, भर्खरै शल्यक्रिया गरेकाहरूले तुलसी सेवन गर्न नहुने अध्ययनहरूले बताएका छन्। त्यसैले आयुर्वेदिक चिकित्सक वा वैद्यसँग सल्लाह गरेर मात्र यसको प्रयोग गर्न श्रेष्ठ सुझाउँछन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement