0Shares

गृह मन्त्रालयले विशिष्ट पाहुनाहरूको जिल्ला भ्रमणको बेला उनीहरूलाई आवश्यक पर्ने सवारीसाधन निमन्त्रणा गर्ने कार्यालयले नै उपलब्ध गनुपर्ने नियम बनाएको छ। गृहमन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै निकायलाई विशिष्ट पाहुना बोलाउँदा आफैं गाडी पनि व्यवस्था गर्न निर्देशन दिएको हो।

‘जिल्लामा जुन मन्त्रालयअन्तर्गतको कार्यालयको कार्यक्रम आयोजना गरिएको हो सोही कार्यालयले विशिष्ट पदाधिकारीका लागि सवारीसाधनको व्यवस्था मिलाउने,’ गृह मन्त्रालयद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ।

जिल्ला भ्रमणमा पुग्ने विशिष्ट पाहुनालाई सवारीसाधन उपलब्ध गराउन धेरैले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धाउने र जिप्रकाले नै उपलब्ध गर्नुपर्ने जस्तो बाध्यत्मक स्थीति सिर्जना भएपछि गृहले यस्तो निर्देशन जारी गरेको हो।

जिल्लामा दिनहुँ कोही न कोही विशिष्ट पदाधिकारी जाने हुँदा जिप्रका गाडी नै खाली नहुने अवस्था आएपछि जिप्रकाहरुले गृहसँग विशिष्ट व्यक्ति जिल्ला आउँदा सवारीसाधन उपलब्ध गराउनेसम्बन्धी निर्देशन जारी गर्न अनुरोध गर्दै आएका थिए। यसैक्रममा गृहमन्त्रीबाट निर्णय गराएर मन्त्रालयले निर्देशन जारी गरेको हो।

‘कुनै कार्यक्रम विशेषको लागि कुनै कार्यालय/आयोजकले विशिष्ट पदाधिकारीलाई आमन्त्रण गरेकोमा सोही कार्यालय/आयोजकले नै सवारीसाधनको व्यवस्था मिलाउने,’ गृहले जारी गरेको तीन बुँदे निर्देशनको दोस्रो बुँदामा भनिएको छ।

गृह मन्त्रालयले उक्त निर्देशन सबै मन्त्रालयलाई पठाइसकेको छ। मन्त्रालयहरुले आफू माताहतका सबै निकायमा गृहको निर्देशन पठाएका छन्। बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७ सय ५३ वटा स्थानीय तहलाईसमेत उक्त निर्देशन पठाएको छ ।

‘जिल्लामा विषयगत कार्यालय र सम्पर्क गर्ने निकाय नभएको संघीय मन्त्रालयका पदाधिकारीको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यवस्थापनका लागि समन्वय गर्ने,’ गृहको निर्देशनमा उल्लेख छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement