0Shares

डडेल्धुरा – दुमडा गाउँमा पहिलो पटक रोपाइँ गरिएको छ। अमरगढी–६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलो पटक रोपाइँ गरिएको हो।

२०७० देखि सुरु भएको सिँचाइको काम यस वर्ष पूरा भयो। झण्डै आठ किलोमिटर टाढाबाट पानी गाउँमा पु–याई रोपाइँ गरिएको वडाध्यक्ष गोविन्दराज भट्टले बताए।

यस वर्ष मात्रै गाउँमा पानी पुगेकाले रोपाइँ गर्न नपाएका गाउँलेहरू धमाधम रोपाइँ गर्न थालेका छन्। बिहे गरी दुमडा गाउँमा आएको ४० वर्ष बढी भए पनि रोपाइँ गर्न नपाएको स्थानीय हरुदेवी भट्टले बताइन्। दुमडा गाउँमा पहिलो पटक रोपाइँ गर्न पाउँदा निकै खुसी लागेको उनको भनाइ छ।

यो वर्ष परीक्षणका रुपमा रोपाइँ गर्न लागेको स्थानीय राधिका भट्टले बताइन्। ‘गाउँमा पानी पुगेको छ, धान राम्रो फल्ने आश छ,’ उनले भनिन्। दुमडा गाउँमा तरकारी उत्पादन पनि गरिँदै आइएको छ।

दुई हजार रोपनीमा सिँचाइ गर्न भनी २०७० मा अमरगढी नगरपालिकाबाट एक लाख रकम विनियोजन भएपछि काम सुरु भएको दुमडा सिँचाइ जल उपभोक्ता समिति अध्यक्ष कालीप्रसाद भट्टले बताए। सिँचाइ कार्यालय डडेल्धुराबाट पनि २०७० मा नै १५ लाख र त्यसपछि क्रमश १० लाख.रकम आएको उनले बताए। क्रमागत रूपमा सुरुवात गरिएको सिँचाइ योजनाको ४२ लाखको टेण्डरमा पनि काम गरिएको अध्यक्ष भट्टले बताए।

चालू आर्थिक वर्षमा अमरगढी नगरपालिकाको दुई लाख बजेट र हालसम्म गरी स्थानीयले २० लाख बराबरको श्रमदान गरी सिँचाइ योजना सम्पन्न भएको हो। ‘अहिले एउटा ९ मिटर चौडाइ र १३ मिटर लम्बाइ भएको करिब डेढ लाख लिटर क्षमताको टंकी बनाई ३७ धाराबाट गाउँका बारीमा पानी वितरण गरिएको छ,’ उनले भने। सिँचाइका लागि ६ मिटर चौडाइ र ९ मिटर लम्बाइ भएका पाँचवटा ट्यांकीबाट पनि पानी वितरण गरिरहेको उनले बताए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement