0Shares

गायक प्रकाश सपुतको पछिल्लो लोकप्रिय गीत गलबन्दीलाई लिएर उनी र गायक शम्भु राईबीच चलेको लामो विवाद अन्ततः बुधबार सहमतिमा टुंगिएको छ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा भएको छलफल ४ बुँदे सहमतिका साथ राई र सपुतबीचको विवाद सहमतिमा टुंगिएको हो। सहमतिअनुसार अब युट्युब च्यानलमा गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम हुनेछ।

त्यसै गरी पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम रहनेछ। विभिन्न प्रकाशन गरिने क्षेत्रमा शम्भु राईको नाम समावेश गरिने सहमतिमा उल्लेख भएको छ। त्यसै गरी सो गीतको हालसम्म र अब हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा सबैमा प्रकाश सुपतकै अधिकार रहनेछ। यसमा गायक शम्भु राईले कुनै दाबी गर्ने छैनन्।

गायिका शान्तिश्री परियारका साथ प्रकाशले पछिल्लोपटक सांगीतिक बजारमा ल्याएको गलबन्दी लोकप्रिय हुँदै जाँदा गायक शम्भु राईले केहीअघि आफूले गाएको देउसीभैली गीतको लयसँग मिलेको जनाई प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गरेका थिए। त्यसअघि उनी र प्रकाश सपुतबीच विभिन्न चरणमा छलफल भए पनि विवादको समाधान हुन सकेको थिएन भने सामाजिक सञ्जालमा यस विषयलाई लिएर असामाजिक र अमर्यादित गालीगलौज शुरू भएको थियो।

सहमतिपछि गायक शम्भु राईले प्रतिलिपि अधिकारको रजिस्ट्रारको कार्यालयमा दर्ता गराएको उजुरी फिर्ता लिने सहमतिसमेत भएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement