0Shares

इटहरीका मेयरले नाकको डाँडी भाँच्छु भनेपछि धेरैले पत्रकारको नाकको नापजाँच गरे । पत्रकारको नाक भाँचियो भने उ स्वयंको मात्रै होइन, राज्यकै चौथो अङ्गको बेइज्जत हुन्छ भनेर अर्थ्याए ।

हुन पनि नाक भनेको सिंगो नाक मात्रै होइन, व्यक्ति र उ रहेको ठाउँको मान, मर्यादा र इज्जत पनि हो । नाक भाँच्छु भन्दा मुड्कीले नाकको डाँडीमा हान्नै पर्दैन, पत्रकारले गर्ने अमर्यादित गतिविधिको पर्दाफास गरिदिए मात्र हुन्छ ।

मेयरको अभिव्यक्तिपछि पत्रकारका यस्तै अमर्यादित व्यवहारको लेखाजोखा गर्नेहरु बढे । अहिले मेयरले आफ्नो अभिव्यक्ति फिर्ता लिइसकेका छन्, तर पत्रकारको अमर्यादित र असुहाउँदो व्यवहार भने पत्रकार आफैले नै छताछुल्ल बनाइदिएका छन् ।

पत्रकारको ‘नाक’ भाँचिनेगरी पछिल्लोपटक यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । पहिलो घटना हो पत्रकार महासंघ सोलुखुम्बुको । महासंघका आफ्ना केही सदस्य सत्तारुढ नेकपाको जिल्ला संगठनमा मनोनित भएको भन्दै शाखाले गर्वका साथ आफ्नो लेटर हेडमा हँसिया हथौडा र सूर्यको चिन्ह नै बनाएर बधाई र शुभकामना छाप्यो । त्यो शुभकामना अहिले सामाजिक सञ्जालमा व्यापक भैरहेको छ ।

‘महासंघको विभिन्न पदमा रहनु भएका क्रियाशील पत्रकारहरु मुलुकको सत्तारुढ दल तथा पहिलो पार्टी नेपाल कम्युनिष्ट पार्टीको विभिन्न तहको कमिटीमा मनोनित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै राजनीतिक अभिभारा पूर्णताको शुभकामना व्यक्त गर्दछु’ शाखाका सचिव शिखरजंग श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा यो कुरा उल्लेख छ । यो विज्ञप्ति पढेर स्वयं पत्रकार र सञ्चारकर्मीलाई लज्जाबोध भएको छ । ‘हाम्रा यस्तै कर्मले हामी आफैले नै नाक भाँचिरहेका छौँ’, भन्दै सामाजिक सञ्जालमा पत्रकारले नै आफ्नो ‘नाक’ छाम्दैछन् ।

पत्रकारको ‘नाकमा दाग लगाउने’ दोस्रो घटना हो, उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारलाई बाँडेको ल्यापटप । नगरपालिकाले दिएको ल्यापटप पुरस्कार थापेजसरी लाइनमा उभिएर हण्डी थाप्दै गरेका पत्रकारको तस्बिर देखेपछि स्वयं पत्रकार नै लज्जित भएका छन् । योसँगै पत्रकारले के कतिसम्म उपहार लिन उपयुक्त हुन्छ भनेर महासंघले निर्देशन दिनुपर्ने आवाज उठेको छ ।

पछिल्ला यी दुईवटा त प्रतिनिधिमूलक घटना मात्र हुन् । राज्यको चौथो अंग भनेर चिनिएको र त्यसैअनुसार जिम्मेवार हुनुपर्ने पत्रकारिता क्षेत्रका यी र यस्तै धेरै नकारात्मक कुराले सञ्चारमाध्यमप्रतिको अविश्वास बढाउँदै लगेको छ । पत्रकारप्रति बढेको शंका अरु बढ्न थालेको छ ।

सत्ताको चाकडी, अपराधीसँगको मोलतोल र बिचौलियाको काम छोप्न सकृय पत्रकारले पत्रकारिता क्षेत्रलाई नै धराशयी बनायो भनेर स्वयं पत्रकारहरु नै भन्दैछन् । पत्रकारको नेतामा पार्टीका कार्यकर्ता र पार्टीको नेतृत्वमा महासंघका सदस्य पुग्न थाले भनेर आलोचना बढेको छ । पत्रकारिता क्षेत्रको ‘नाक’ कसरी जोगाउने भन्ने चिन्ता र बहस सुरु भएको छ ।

‘नाक’ जोगाउने अरुले कि आफैले ?

आफ्नो नाक आफैले जोगाउनुपर्छ, अर्कोले जोगाउँदैन । विवादित मिडिया विधेयक ल्याएको सरकारले यसलाई पत्रकारकै नाक जोगाउने प्रयास भनेर अर्थ लगाएको छ । तर सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने गरी मिडिया विधेयक ल्याउनुअघि नै पत्रकारिता क्षेत्रको नियमनबारे स्वयं पत्रकारहरुले नै प्रयास थालेका हुन् ।

कतिपय पत्रकारको अमर्यादित व्यवहार र केही सञ्चारमाध्यमको गैरजिम्मेवार क्रियाकलापले मिडियालाई नियमन गर्न ढिलो भैसकेको छ । तर सरकारले नियमनभन्दा पनि नियन्त्रण नै गर्नेगरी मिडिया विधेयक ल्याउँदा यो प्रयासमा पनि गतिरोध आएको छ ।

सूचना विभागको तथ्याङ्कअनुसार नेपालमा साढे ७ हजारभन्दा  बढी सञ्चार माध्यमहरु छन् । अनलाइन मात्रै झण्डै एकहजार छन् । अनलाइन टीभीको नाममा युट्यूब च्यानल सञ्चालन गर्ने क्रम पनि बढेको छ ।

न्यू मिडियाको रुपमा उदाएका केही अनलाइन र युट्यूब च्यानलले पत्रकारिताका नाममा उट्पट्याङ गर्न थालेपछि सिंगो सञ्चारमाध्यमको विश्वसनीयता संकटमा पर्दै गएको छ । यस्तो शंका र अविश्वास बढ्दै गएपछि अगुवा र जिम्मेवार पत्रकारले सिंगो पत्रकारिता क्षेत्रको ‘नाक’को चिन्ता प्रकट गरिरहेका छन् ।

अहिले नाकमा केही दाग लागे पनि पत्रकारिता क्षेत्रले आफ्नो नाक ठाडो पार्नेगरी धेरै काम गरेको छ । राज्यको चौथो अंगको रुपमा मानिएको मिडिया क्षेत्रले देश विकास र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा कसैको दुई मत छैन ।

पञ्चायतकालमा सरकारविरुद्ध मिसन पत्रकारिता चल्यो । महत्वपूर्ण राजनीतिक आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रह्यो । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पत्रकार र पत्रकारिता क्षेत्र साक्षी मात्र होइन, सक्रिय सहभागी भएको गौरवपूर्ण इतिहास पनि छ ।

देश विकास र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सञ्चार क्षेत्रमा आमूल परिवर्तन पनि भयो । पत्रिका, रेडियो, टेलिभिजन हुँदै अहिले लोकप्रिय हुँदै गएको अनलाइन मिडिया नागरिकलाई सूचना, जानकारी र मनोरञ्जनको तिर्खा मेटाउन सफल भएका छन् । सूचना र जानकारी छिटो थाहा पाउन सजिलो भएको छ । तर सँगसँगै विकृति र विसंगति भित्रिंदा पत्रकार र मिडियामाथिको अविश्वास बढिरहेको छ । आचारसंहिता मान्छु र व्यवसायिक पत्रकारिता गर्छु भन्ने पत्रकारले समेत नाक ठाडो पारेर हिँड्ने अवस्था छैन ।

यस्तो अवस्था आउनुमा पत्रकारितालाई ठगी खाने भाँडो बनाउने तथा ब्ल्याकमेलिङ गर्नका लागि मिडिया चलाउने प्रवृत्ति एउटा कारण हो । पत्रकारिताको आडमा अस्वाभाविक सेवा, सुविधा लिनेहरु सरकारका विभिन्न अंग र पार्टीको भातृ संगठनका रुपमा कृयाशील पत्रकारका नेताहरुको सत्ता र सम्पति माेहको होडले पत्रकारिताको छवि लगभग ध्वस्त भएको छ ।

पत्रकार महासंघको परिचयपत्र बोकेर मिडियाभन्दा बाहिर अरु व्यवसाय गर्नेहरु पनि धेरै छन् । अनि सक्रिय पत्रकारितामै रहेका कतिपय राजनीतिक दलका कार्यकर्ताजस्तो बन्ने र अस्वभाविक लाभ लिने प्रवृति पनि उस्तै छ ।

यस्तै विकृति र विसंगतिका कारण स्वतन्त्र पत्रकारितामाथि चुनौती थपिँदै गएको छ । अनि पत्रकार र मिडिया जगतलाई औंला ठड्याउनेहरुको संख्या बढिरहेको छ ।

पत्रकारिता क्षेत्रभित्रका यस्ता नकारात्मक पाटो हटाएर शुद्धीकरणतर्फ अघि बढ्ने र आफ्नो नाक जोगाउने जिम्मा सबैभन्दा पहिले पत्रकारकै हो । पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता संस्थाले यसतर्फ पहल गर्नुपर्नेमा कतिपय बेला यी संस्था आफै दुर्गन्ध फैलाउन अघि सरेका उदाहरण छन् ।

पत्रकार आचारसंहिताको पालना मात्रै हुने हो भने पनि पत्रकारिताको धेरै प्रदुषण घटेर जान्छ । गैरपत्रकारलाई सूचना विभागले प्रेसपास र पत्रकार महासंघले सदस्यता नदिने हो भने पनि धेरै सुधार आउँछ । तर सूचना विभाग, महासंघ र काउन्सिलजस्ता संस्थाहरु आफै सुधारिन नसक्ने अवस्थामा पुगेका देखिन्छन ।

के अझै पत्रकारको साख बचाउन यी संस्थाहरुको क्षयिकरण रोक्नुपर्ने बेला भएन र ?

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement