0Shares

रेशम सापकोटा – चितवन पत्र । माडी, चितवन उमेरले त युवाकै उन्माद थियो, तर आँखामा देखिएका सपनाहरू बिस्तारै जिम्मेवारीमा रूपान्तरण हुँदै थिए। मनले सधैं भन्थ्यो — “केही त गर्नुपर्छ, केही त बनाउनु पर्छ।” माडी नगरपालिका–६ का भीम चापागाईंको मनमा त्यही उथलपुथल थियो, जब उनले २०७२ सालतिर वैदेशिक रोजगारीको बाटो रोजे।

 

आँखाभरि सपना थिए, तर मनभित्र डर पनि थियो — नयाँ ठाउँ, नयाँ जीवन, नयाँ चुनौती। दुबईको तातो बालुवामा पसिना बगाउँदै सुरु भएको उनको संघर्षले जिन्दगीका सुन्दर कल्पनाहरू बगाउँदै लग्यो। बिहान काम, रात थकाइ — तीन वर्ष बिते, तर जीवन भने थिचिएको महसुस भयो। अनि मनले भने — “घर फर्कनुपर्छ, आफ्नै माटोमा केही गर्नुपर्छ।” तर गाउँ फर्कँदा बेरोजगारीको साच्चै तीतो यथार्थ बोकेको थियो माडी। काम थिएन, सम्भावना थिएन, अनि फेरि रोजे अर्को परदेश — इजराइल। भाषा फरक, परिवेश फरक, पीडा उस्तै। विवाह भइसकेको थियो, श्रीमती नेपालमै — जिम्मेवारी थपिएको थियो, थकाइ दोब्बर। फुर्सदमा आकाश हेरेर उनी टोलाउँथे, घर सम्झिन्थे, आँखा रसाउँथ्यो।

भित्रभित्रै एक्लोपनको घेरोमा जकडिँदै जीवन बिताउँदै थिए। अनि एक दिन मन थामिएन — फर्किए जन्मभूमि, माडी। त्यो बेला बुबा जितबहादुर चापागाईंले “माडी भ्यु सामुदायिक होमस्टे” सुरु गरिसक्नुभएको थियो। उहाँ अहिले बागमती प्रदेश सामुदायिक होमस्टे महासंघका उपाध्यक्षसमेत हुनुहुन्छ। भीमले निर्णय गरे — अब यहीँबाट नयाँ सुरुवात गर्छु। र गरे पनि। सुरु भयो लिपपोतबाट, पाहुनाको ओछ्यान मिलाउनेदेखि गाईलाई घाँस हाल्नेसम्म — सानो काम भए पनि आत्मसम्मान थियो, माया थियो। पाहुनाको हाँसोमा आफ्नै खुसी देख्न थाले। होटलजस्तो होइन — होमस्टे आत्मीयताको पर्याय भयो। अब त होमस्टे मात्र होइन, उनीको जीवन नै बदलिएको छ। दुई छोराहरू छन् — एक सात वर्षको, अर्को एक वर्षको। जेठो छोराले माडीको दिवाकर माविमा पढ्दैछन्। श्रीमती जनकल्याण माविमा शिक्षिका। बिहान स्कुल, बेलुका होमस्टे — जीवनको सरल तर सार्थक चक्र। पाहुनालाई विषादीरहित तरकारी, घरकै अन्न, आफ्नै बारीको अचार खुवाउने चलन बसिसकेको छ। भीम गर्वले भन्छन् — “हामी खान दिन्छौं भने केवल पेटका लागि होइन, आत्माको सन्तुष्टिका लागि पनि।” उनी भन्छन् — “परदेशमा पैसा थियो, तर माया थिएन। यहाँ परिवार छ, माया छ, सम्मान छ, पैसा पनि छ — अनि जिन्दगी पनि।” भीमको यो साहसिक यात्राले अहिले अन्य युवाहरूलाई पनि गाउँ फर्कन प्रेरित गरिरहेको छ।

केहीले होमस्टे थालेका छन्, कसैले कृषि, मौरीपालन, हस्तकला, पशुपालन रोजेका छन्। भीमको सन्देश छ — “राज्यले हामीलाई हेर्ने आँखा, सुन्ने कान, बुझ्ने मन दिनुपर्छ। हामी अनुदान, तालिम, वातावरणमैत्री प्रविधिका लागि तयार छौं। होमस्टे मात्र होइन, यसको सँगसँगै संस्कृति र उत्पादनको जगेर्ना पनि गर्नुपर्छ।” ३४ वर्षका भीम — अब अनुहारमा चमक, बोलीमा आत्मविश्वास, सन्तुष्टिको जीवन। साँझपख घरको आँगनमा श्रीमतीसँग चिया पिउँदै भन्छन् — “विदेशमा पैसा थियो, तर आमा–बुवा थिएनन्, माटो थिएन।

अब म घरमै छु — परिवारसँग, माटोसँग, आत्मासँग।” “परदेशमा रगत बगायौं, पसिना झार्यौं, आँशु लुकायौं। तर अब आफ्नै माटोमा हाँस्न पाइन्छ, सास फेर्न पाइन्छ। आत्मा शान्त छ। यही हो जिन्दगी — आफ्नै माटोको मायामा, परिवारको अँगालोमा, आत्मसम्मानको यात्रामा।”

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement