जनताको सपना चकनाचुर, नेताको भाषणमा स्वर्गै स्वर्ग
रेशम सापकोटा , चितवन पत्र चितवन , नेपाल, जहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण भूगोल छ। यहाँ संसारकै उच्च शिखर सगरमाथादेखि लेकर पहाडी खोंच, हरियाली वनजंगल र मनोरम तराईका फाँटहरू छन्। विश्वमै दुर्लभ मानिने वन्यजन्तु— एकसिँगे गैँडा, बँदेल, बाघ, भालु, लालीगुँदे बाँदर, कालिज, रत्ते बनमुसा— यिनको घर यिनै जंगल हुन्। चरा प्रेमीका लागि नेपाल एक खुला स्वर्ग हो, जहाँ ८५० भन्दा बढी प्रजातिका चराचुरुङ्गाहरू पाइन्छन्।
देशभर छरिएर रहेका बग्ने नदी–नाला, हिमालको काखबाट झर्ने झरनाहरू, तालतलैया र उष्ण–शीतोष्ण मौसमीय विविधता— यी सबैले नेपाललाई एक अनुपम प्राकृतिक प्रयोगशाला बनाइदिएका छन्। तर यस्तो सुन्दर देशमा आज नागरिकले आफ्नै जरा गुमाउँदै छन्। माटो, पानी, जंगल र हिमाल हेर्ने आँखा छ, तर त्यसको रक्षा गर्ने चेतना हराउँदै छ। त्यति मात्र होइन, यति अद्वितीय देशको समृद्धि सम्भावनालाई नीति निर्माण तहमा गम्भीरतापूर्वक कहिल्यै सम्बोधन गरिएको छैन।
नेपाल, जहाँ चारैतिर हिमाल, पहाड र तराईको अनुपम सौन्दर्य छ, जहाँ हजारौं वर्ष पुराना मठमन्दिर, गुम्बा र देवस्थलहरू छन्, तर यहाँको जनताको आवाज सुन्ने कान छैन, दुख देख्ने आँखाहरू थाकिसकेका छन्। राजतन्त्रको अन्त्य भयो, लोकतन्त्र आयो, गणतन्त्र स्थापना भयो। संविधान बन्यो, चुनावहरू भए, सरकार फेरिए, प्रधानमन्त्री बदलिए। तर जनताको अवस्था भने उस्तै छ— चुलोमा पकाउने अन्न छैन, सरकारी अस्पतालमा औषधि छैन, खेतमा पानी छैन, तर नेताहरूको भाषणमा स्वर्ग छ। पुराना शासकहरू राजतन्त्रको नाममा विभेद गर्थे भने, आजका शासकहरू गणतन्त्रको नाममा लुटतन्त्र चलाइरहेका छन्। लोकतन्त्रको नाममा नेताहरूले आफ्नो क्षेत्रको विकास गर्नुको साटो आफ्ना कार्यकर्तालाई प्राथमिकता दिएका छन्।

संसद भवनमा जनप्रतिनिधिहरू कुर्सी हानाहानमा रमाउँछन्, तर वास्तविक जीवनमा जनता सास्ती झेल्नुपरेको छ। जनताले तिनै नेताहरूलाई परिवर्तनको सपना बोकेर सत्तामा पुर्याए, ती सपना जुन महँगी, हिंसा र संघर्षको मूल्य तिरेर खरिद गरेका थिए। तर आज ती सपना भाँचिएका छन्, नेताहरूको भाषामा बाँचे पनि जनताको जीवनमा तिनीहरू मृत छन्। देशको मेरुदण्ड मानिने युवाहरू मलेसिया, कोरिया, गल्फ, युरोपतिर पलायन भइरहेका छन्। बाँकी रहेका युवा बेरोजगार छन् वा लागू औषधको दलदलमा फसेका छन्। साक्षरता दर तथ्याङ्कमा त बढेको देखिन्छ, तर शैक्षिक गुणस्तर लगातार ओरालो लागिरहेको अनुभूति हरेक परिवारमा छ। नेपाल कृषिप्रधान देश हो भन्ने कुरा अब नीति कागजमा मात्र सीमित छ। किसान मलको अभावमा आन्दोलन गर्छन्, बीउ पाउनका लागि लाइनमा बस्छन्, तर अनुदान भने पहुँचवालाले पहिल्यै झिकिसकेका हुन्छन्।

किसानले पसिनाले सिँचेर उब्जाएको अन्न सस्तोमा बेच्न बाध्य छन्, तर व्यापारी भने मुनाफा उचाल्दै छन्। मन्त्रीहरू कृषि क्रान्तिको उद्घाटनमा माला लगाउँदै फोटो खिचाउने बाहेक जिम्मेवारीबाट टाढा छन्। वृद्ध आमाहरू विदेश गएका छोराछोरीको नेपाल फर्किने आसमा लौरो टेक्दै बसिरहेका छन्। उनीहरूको आँखामा आँशु छ, मनमा अझै आशा बाँकी छ। तर राजनीति र प्रशासनमा उनीहरूको पीडा सुन्ने संवेदना हराइसकेको छ। सरकारी योजना कागजमै सीमित छन्, वृद्धवृद्धा सहारा खोजिरहेका छन्। देशमा स्वास्थ्य र शिक्षामा ‘बर्मलूट’ चलेको छ। हुन त शिक्षा र स्वास्थ्यजस्ता सेवा त पूर्णरूपमा निःशुल्क हुनुपर्थ्यो, तर यहाँ त हरेक उपचार, हरेक परीक्षा, हरेक सिफारिस, हरेक सिफ्टमा पनि ‘कमिसन’ नामको रोग छ। जसरी भएका उद्योगहरू बन्द हुँदै गएका छन्, त्यसरी नै शहरका पसलहरू एक एक गर्दै बन्द भइरहेका छन्। मानवीय न्यूनतम आवश्यकताहरू— गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार — ग्यारेन्टी गर्ने कुरा आज पनि जनता चाहन्छन्, तर ती कुरा भाषणको विषय मात्रै बनेका छन्।
वर्षौंदेखि भूमिहीन र सुकुम्बासीको नाममा जमिन ओगटेर बसिरहेकालाई अझै कानुनीरूपमा जमिन दिनुपर्ने माग अधुरो छ। यी समस्या जस्ताको तस्तै छन् र समाधानका लागि न त नीति स्पष्ट छ, न नेतृत्वमा इच्छाशक्ति। राजनीति अब जनसेवाको माध्यम नबनी, स्वार्थ र सत्ताको खेल मात्र बनेको छ। दलहरूले जनताको पीडालाई चुनावी नारामा प्रयोग गर्छन्, चुनाव सकिएपछि ती नाराहरू झुटो बनेर हराउँछन्। नेताहरू जनताको विश्वास गुमाइसकेका छन्। युवालाई चेतनशील नागरिक बनाउने साटो कार्यकर्ता बनाउने, भीड बनाउने, जाति र धर्मको नाममा बाँड्ने काम मात्रै भइरहेको छ। चेतनशील तरिकाले देश चलाउने भनिने राजनीतिक दलका नेताहरू आन्दोलनका नाममा सडक अवरुद्ध गरिरहेका छन्। शान्ति सुरक्षाको प्रत्याभूति दिन बसेका प्रहरीहरूलाई ढुङ्गा मुढा गरिन्छ। जनताको रक्षा गर्न खटिएका प्रहरीहरू स्वयं असुरक्षित छन्। उनीहरू पनि यसै देशका सन्तान हुन्, तर उनको पीडा न सांसदले सुन्छ, न मन्त्रीले नत आन्दोलनकारीले ।

अब उठिरहेको प्रश्न यति छ— अबको १० वर्षमा को खेती गर्नेछ? को खुवाउनेछ वृद्धहरूलाई? को चलाउनेछ यो देश? जब युवा विदेश जान बाध्य छन्, वृद्धहरू आशा गुमाउँदै छन् र विद्यार्थीहरू पढाइबाट निराश हुँदैछन् — त्यो देशको भविष्य के हुनेछ? साँचो विकास भनेको सडक, पुल र भवन निर्माण मात्र होइन, चेतनाको विकास हो। जहाँ नागरिकले सत्य र असत्य छुट्याउन सकून्, अधिकार माग्न सकून्, कर्तव्य बुझून्। अबको लडाइँ भ्रष्टाचार, बेरोजगारी र दलाल प्रवृत्तिविरुद्ध हुनुपर्छ। परिवर्तन भाषणमा होइन, आचरणमा देखिनुपर्छ। जब राजनीतिक कार्यकर्ताले नेताको गल्ती सच्याउन सक्ने आँट गर्छन्, तब मात्र देश समृद्धिको बाटोमा लाग्न सक्छ। जब किसान हाँस्छ, युवा आफ्नै देशमा रोजगारी पाउँछ, वृद्धलाई सन्तानको साथ मिल्छ— तब मात्र साँचो परिवर्तन सम्भव हुन्छ। त्यसैले अब भाषण होइन, भौतिक विकाससँगै चेतनाको पुनरुत्थान र क्रान्ति आवश्यक छ।


















