राति सडक बन्दले माडीवासीलाई सास्ती, निकुञ्जको नीतिविरुद्ध दबाब बढ्दै
रेशम सापकोटा – चितवन पत्र भरतपुर, चितवन माडी क्षेत्रका सर्वसाधारण, कृषक, विद्यार्थी, व्यापारी र कामकाजी ब्यक्तिहरु राति बनकट्टा–कसरा चितवन् निकुञ्ज भित्रको सडक खण्ड बन्द हुने व्यवस्थाबाट लामो समयदेखि असहजतामा परिरहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो सडक खण्ड बेलुका १०बजे पछि बन्द गरिँदा स्थानीय जनजीवनमा गम्भीर असर परेको छ। अत्यावश्यक कामले हिँड्नुपर्नेहरू बाटोमै रोकिन बाध्य हुने, ताजा तरकारी, दूध, अण्डा, कुखुरा, मौरी उत्पादन समयमै बजार नपुगेर नष्ट हुने, बिरामी बोक्नसमेत गाह्रो हुने अवस्था सिर्जना हुँदा जनस्तरबाट चर्को असन्तोष पोखिएको छ। त्यही असन्तोषलाई संस्थागत रुपमा अभिव्यक्त गर्दै ‘समृद्धिका लागि युवा अभियान माडी’ले शनिबार माडीमा आयोजना गरेको बैठकमार्फत राति सडक खुला गर्न माग उठाएको छ।
बैठकमा सहभागीहरूले चितवन निकुञ्जद्वारा हालै जारी गरिएको पत्रमा उल्लेख गरिएका बुँदाहरूलाई भ्रामक ठहर गर्दै त्यसलाई तुरुन्त संशोधन गर्न माग गरेका छन्। सडक बन्द नीतिले माडीको कृषि, पशुपालन र व्यवसायमा गम्भीर असर पारेको भन्दै बैठकमा मौरीपालन, दूध उत्पादन, माछा तथा तरकारी व्यवसायमा संलग्न किसानहरू दैनिक घाटामा परेको उल्लेख गरियो। यस्तो नीति तत्काल फिर्ता नलिए जनजीवन थप संकटतर्फ धकेलिने धारण व्यक्त गरेका थिय । बैठकले माडी नगरपालिकालाई सर्वपक्षीय छलफलको आयोजना गरी दीर्घकालीन समाधानका लागि नेतृत्वदायी भूमिका लिन आग्रह गरेको छ।

त्यस्तै, यथास्थितिमा कुनै प्रकारको मध्यवर्ती निर्णय नगर्न र राज्यसँग संवादमार्फत समाधान खोज्न आग्रह गर्दै सबै राजनीतिक दल, नागरिक समाज र स्थानीयबासीलाई संयमताका साथ एकताबद्ध रहन अपिल गरिएको छ। सडक जनताको हकसँग प्रत्यक्ष जोडिएको भन्दै यस्तो निर्णयले राज्य र जनताको सम्बन्धमा गहिरो खाडल उत्पन्न गराउने चेतावनी दिएका छन्। “हामी बाटो मागिरहेका थियौं, सेवा मागिरहेका थियौं, तर उल्टो जनताको गाडी थुन्ने निर्णय आयो, अब हामी चुप लाग्नेछैनौं। हाम्रो आवाज अझ सशक्त बनाउँदै लडाइँ जारी राख्छौं अभियानका अध्यक्ष रामचन्द्र लम्सालको भनाइ छ ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















