चक्र तिर्थधामद्वारा वृक्षारोपण कार्यक्रम, रुद्राक्षले बढाउँदै पवित्रता र पर्यावरण संरक्षण
रेशम सापकोटा, चितवन पत्र
माडी, चितवन
माडी नगरपालिका–४ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पवित्र स्थल चक्रधाम परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब १४४ वटा रुद्राक्षका बिरुवा रोपिएको छ। बिरुवा कास्की वन कार्यालयबाट निःशुल्क उपलब्ध गराइएको थियो।
वृक्षारोपण कार्यक्रम चक्र तिर्थधामको आयोजनामा सम्पन्न भएको थियो। यस कार्यक्रममा माडी जेसिस, माडी इको लायन्स क्लब, वडा नं. ४ का कर्मचारी, स्थानीयवासी, वडा अध्यक्ष माधव चापागाईं, माडी नगरपालिकाकी मेयर ताराकाजी महत, तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
चक्रतिर्थ धामका अध्यक्ष भागीरथ बस्यालले रुद्राक्षका धार्मिक र पर्यावरणीय फाइदाबारे जानकारी दिँदै भन्नुभयो, “रुद्राक्षले धार्मिक क्षेत्रमा पवित्रता थप्ने मात्र होइन, वातावरणमा अक्सिजनको सन्तुलनमा सहयोग पुर्याउँछ। यसले चक्रधामको आध्यात्मिक शान्ति र वातावरणीय संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष माधव चापागाईंले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक स्थलमा यस्ता वृक्षारोपण कार्यक्रमले संरक्षण र प्रचारमा थप ऊर्जा ल्याउँछ। स्थानीय जनताको सक्रिय सहभागिताले यस्तो महत्वपूर्ण काम सफल भएको छ।”

माडी नगरपालिकाकी मेयर ताराकाजी महतले भौतिक विकाससँगै माडीको कृषि, पर्यटन र धार्मिक क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति नगरपालिकाको रहेको बताउनु भयो । चक्रधाममा रुद्राक्षजस्ता धार्मिक वृक्ष लगाउनु वातावरणीय संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने काम हुनु सुखद रहेको उहाँको भनाई थियो । यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।
माडी इको लायन्स क्लबका प्रतिनिधिहरूले वातावरण संरक्षणका लागि चक्र तिर्थधामसँग सहकार्य गरि काम गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे।
यस कार्यक्रमले माडी नगरपालिका र चक्रधामको धार्मिक, पर्यावरणीय र पर्यटन क्षेत्रको समृद्धिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अन्त्यमा चक्रधाम समितिले निःशुल्क बिरुवा उपलब्ध गराएकोमा कास्की वन कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।


















