0Shares

रेशम सापकोटा, माडी, चितवन

माडी प्रवेश गर्ने बनकट्टा–कसरा सडक खण्ड चौबीसै घण्टा खुला हुने सरकारी घोषणाले माडीवासीहरूमा ठूलो आशा पलाएको थियो। लामो समयदेखि साँघुरो बनमार्गको नियती झेलिरहेको माडीले सास फेर्ने मौका पाउने भयो भन्ने विश्वास आममानसमा फैलिएको थियो। अब सार्वजनिक तथा निजी सवारीसाधनबाट रातको समयमा पनि मानिसहरू घर फर्कन सक्नेछन् भन्ने कुराले उनीहरूमा उज्यालोको साँचो खुलेको अनुभूति दिलाएको थियो।

तर त्यो आशा पलाउन नपाउँदै फेरि अध्यारोमा हरायो। खुला भएको भनिएको पहिलो रातमै गाडीहरू रोकिए। यात्रुहरू अँध्यारो सडकमा अलमलिए, सुरक्षा आफैंले गर्नुपर्ने बाध्यता आइपर्‍यो। चितवन राष्ट्रिय निकुञ्जले यात्रुहरूलाई थमाएको फारममा उल्लेख थियो, “आफ्नो ज्यान आफैं बचाउनुहोस्” के यही हो सरकारद्वारा प्रदान गरिएको स्वतन्त्रता ? कि यो त सरकारको गैरजिम्मेवार व्यावहारिक चेहरा ?

माडीका राजकुमार परियार भन्छन्, “बिजुली भूमिगत गाडिएको छ, निकुञ्जभित्रको बाटोमा पोल छैन, ग्राभेल बाटो रातीमा आवज जावत गर्न अन्धकार छ। सरकारको ध्यान जनताका खुट्टाले टेक्ने बाटोमा छैन। रातिमा फारममा साइन गरेर हिँड्नु भनेको आफ्नो ज्यानको सुरक्षा आफैं गर्नु हो। यो देशमा सधैं सरकार भयको अनुभूति गर्न सकिएन।”

वडा नम्बर ८ का अध्यक्ष वीरेन्द्र भण्डारी पनि निराश छन्। “हामीले प्रयास गरेका थियौं—सौर्य बत्ती, संकेत बोर्ड, समन्वय, अनुरोध। तर हरेकपटक निर्णय आउँछ, केही दिन खुल्छ, फेरि पुरानै बन्देज लाग्छ। जनताको धैर्यता सकिंदै छ।”

माडी–७ गौरीनगरका स्थानीय दीपक वाग्ले भन्छन्, “हरेक दिन भरतपुर आउजाउ गर्नुपर्छ। कोठा भाडामा बसेर रोजगारी गर्नुपर्ने बाध्यता छ। सुरक्षीत तवरले बाटो खुला भए म घर बाट आउजाउ गरि जागीर लाई निरन्तर दिन सकिन्थ्यो । अबका धेरैजसो युवा घर छाडेर शहर धाउन थालेका छन् । शिक्षा, सेवा, व्यापार—सबै अड्किएको छ, एउटै असुविधा बाटोले।”

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्नुहुन्छ, “स्थानीय सरकारको तर्फबाट हामी सधैं हातेमालोमै छौं—प्रधानमन्त्री, मन्त्री, सचिव हुँदै निकुञ्जसम्म पुग्यौं। तर माडीलाई बुझ्ने संयन्त्र अझै तयार भएको छैन।”

रातमा मान्छे हिँड्न नपर्ने हो त ? बाटो पिच हुन नसक्ने हो त ? सरकारी दृष्टिकोण हेर्दा यस्तै लाग्छ। तर यथार्थ फरक छ । समयको प्रवाह र जीविकाको चापले मानिसहरू दिन–रात नभनी यो बाटोमा हिँड्न बाध्य छन् । यो सडक उनीहरूका लागि केवल यात्राको मार्ग होइन—बाँच्नुपर्ने आधार हो, श्रमको सहारा हो, जीवन चलिरहने साँघुरो तर अपरिहार्य बाटो हो।

यस क्षेत्रबाट मन्त्री, सांसद, प्रधानमन्त्रीसमेत बनेका छन् । चुनावताका यहाँको माटो चुमिन्छ, आँशु पुछिन्छ, सपना सुनाइन्छ। तर सत्ताको सिँढी चढिसकेपछि माडी बिर्सिन्छ।

जनता अब थाकिसके। घोषणाले भोक मेटिँदैन, फारमले उज्यालो दिँदैन। माडीको सवालमा किन सबै दल एक ठाउँमा बोल्दैनन्? बाटो त सबैको साझा हो, समस्या त सबैकै साझा हो भने समाधान पनि साझा किन बन्न सक्दैन? स्थानीय उमेश रेग्मी प्रश्न गर्नुहुन्छ।

अब समय आएको छ—राजनीतिक दलहरूले चुनावी भाषण होइन, जनताको सवालमा साझा मञ्च बनाउने। यो बाटो केवल कागजमा खुल्ने होइन, माडीको जीवनमा खुल्ने हो। बत्ती केवल पोलमा मात्र बाल्ने होइन, जनताको आँखामा बल्ने हो। जिम्मेवारी केवल कागजको फारममा होइन, सरकारको कर्तव्यमा देखिनुपर्ने हो।

देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च भरतपुर चितवनका अध्यक्ष पूर्णप्रसाद पोख्रेलले भन्नुहुन्छ— “राजनीतिक दलका नेताहरू, कार्यकर्ताहरू, चितवन राष्ट्रिय निकुञ्ज, भयर माडी आउने–जाने सबैका लागि बाटो पेश गर्न, बाटोमा बत्तीहरू राख्न, सुरक्षित साथ चौबीसै घण्टा खुला गरी मानिसलाई आवतजावत गर्ने प्रबन्ध मिलाउनु राज्यको दायित्व हो। तर त्यसतर्फ राज्य ध्यान दिन नसक्नु दुःखदायी कुरा हौ ।

उहाँ थप्नुहुन्छ— “विश्व वातावरणलाई सन्तुलनमा राख्ने, विश्वको लागि अक्सिजन पुर्याउने जंगली जनावरको संरक्षणको नाममा माडी बासीले असत्य, दुःखदायी र पीडादायक अवस्थामा बस्नुपरेको छ। एकातिर जंगली जनावरको डर छ, अर्कातिर लागेको बालीको सुरक्षा छैन। देशभर धेरै परिवर्तन भए, सत्ता परिवर्तन भयो, तर निकुञ्जको बाटो परिवर्तन हुन सकेन।”

चितवन क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद माननीय ठाकुर प्रसाद ढकालले पनि विषयप्रति ध्यानाकर्षण गराउँदै भन्नुभयो, “अघिल्लो कार्यकालमा म आफू माडी नगरपालिकाको मेयर हुँदा पनि प्रशासनसँग कयौं चोटी छलफल तथा विवाद भएको थियो। माडीको विकास र निकुञ्जको बाटो स्तर उन्नति गरी पिच गरिने, बत्ती राखी सहज किसिमले आवतजावत गर्न मिलोस् भनेर सधैँ जनताको पक्षमा निरन्तर लडिरहेको छु।”

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement