41Shares

रेशम सापकोटा

चितवन पत्र माडी,

चितवन माडी नगरपालिका–७ मा पर्ने पतरे खोलाको पुल वर्षौँदेखि अधुरै अवस्थामा थन्किएको छ। कीर्तनपुर र देवेन्द्रपुरलाई जोड्ने हुलाकी सडकखण्डमा पर्ने यो खोलामा वर्षौं अघिदेखि सुरु भएको पुल निर्माणले अझै पूर्णता पाउन सकेको छैन।
सुरुवातमै अलिअलि काम भएको थियो, तर त्यसयता न इँटा थपिएको छ, न भरोसा। माडीका धेरै खोलामा अहिले पुल बनेर सञ्चालनमा आइसकेका छन्। यातायात सहज भएको छ, गाउँ गाउँ जोडिएको छ। तर पतरे खोलाले भने यो विकासको लहरबाट टाढा छोडिएको, एक्लिएको र बिर्सिएको महसुस गराउँछ जस्ले गर्दा स्थानियहरुले सास्ती पाएका छन् ।
पुल नबनेकै कारण हरेक वर्ष वर्षात्को बेलामा यहाँका बासिन्दा त्रासमा बाँधिन बाध्य छन्। पतेरे खोलानजिकै देवन्द्रपुर बस्ने स्थानीय उमेश रेग्मी भन्नुहुन्छ, “सम्झौता गरेर काम जिम्मा लिएको कम्पनीले दशक पुग्न लाग्दासम्म पनि काम पुरा गरेको छैन। यस्तो अवस्थामा उसलाई किन कारबाही हुँदैन? ठेक्का सम्झौता गरेर जिम्मेवारी पुरा नगर्दा पनि सजाय नहुने हो भने यस्तो लापरवाहीको अन्त्य कसरी हुन्छ ?” उहाँले उल्टै प्रश्न गर्नुभयो ।

अर्का स्थानिय सुर्य पौडेलको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “राज्य आफै मौन रहँदा हामी नागरिक कता जानु ? वर्षौंदेखि यो समस्या देखिरहेको छु। खोला काटेर हिँड्दा हरेक साल डर लाग्छ। हाम्रा छोराछोरी स्कूल जान सक्दैनन्, बिरामी पर्दा अस्पताल जान गाह्रो पर्छ। कहिले हामीले यो समस्या बाट मुक्ति पाउने हो । तर आशा मात्रै बाँकी छ, काम देखिँदैन।”

पानी परेसंगै खोला पार गर्दा जोखिम बढ्ने, आउजाउ अवरुद्ध हुने र जनजीवन अस्तव्यस्त बन्ने समस्या छ । पानी बगिरहेकै छ, तर बगिरहेको छ जनताको आशा र भरोसा पनि—प्रत्येक वर्ष पुल बन्ने सपना देखेर, फेरि त्यही अधुरो चित्रमा अल्झिएर बस्नुपरेको छ। अहिले यो अधूरो संरचना विकासको प्रतीक्षा गरिरहेकै एउटा अलपत्र सपनाको प्रतीक बनेको छ।

पुल निर्माणको जिम्मा लिएको लोहनी कन्ट्रक्सन प्रा.लि.ले सुरुमा दुईवटा पिल्लर उठाएपछि काम रोकिने क्रम शुरू भएको थियो। त्यसपछि न त निर्माणका यन्त्र फर्किए, न त जनताको आशालाई सम्बोधन गर्ने चेष्टा भयो। अहिले ती पिल्लरहरूमा जङ लागेका छन्, रडहरू खुला आकासमुनि खिया खाँदै छन्, वरिपरि झारपातले ढाकिएको छ ।
उज्यालो सपना कुरिरहेको एक गनगन सड्ने संरचना बनेको छ पतेरे खोलाको पुल। सार्वजनिक योजना भित्रको यो ढिलाइ अब केवल समयको कुरा होइन, यो एक मनोवैज्ञानिक पीडा बनेको छ। जनता वर्षेनी नयाँ बजेट आउने समयमा पुलले पुर्णता पाउछ कि भनेर आशा गरेर बस्छन्। तर दश वर्ष वितिसक्दा कहिले बजेट नआउने त कहिले आएको बजेट सदुपयोग गरी काम सम्मपन्न गर्न नसक्दा पुलले यतिका वर्षसम्म पनि पुर्णता पाउन सकेको छैन् ।

गफले थाम्न नसकिने चरणमा जनता पुगिसकेका छन् । यही खोलामा पौडी खेलेका, यही बाटोमा जन्मेर हुर्केका, यही पानी खाएर र यहाँकै बालुवा टेक्दै नेता भएका कति जनप्रतिनिधिहरू आज वडादेखि केन्द्रसम्म जिम्मेवारीमा छन्। कति त सांसद र मन्त्री समेत भइसकेका छन्। तर यति धेरै नेतृत्व जन्माउने ठाउँको घरआँगनमै रहेको पुल भने अधुरै छ। किन? किन पूरा हुन सक्दैन खोलाको पुल? — यतिबेला जनता यिनै प्रश्नमा होमिएका छन् । स्थानीय सरकारदेखि केन्द्रसम्मको उदासीनता झल्किने गरी योजना सूचीमा नाम त आइपुग्छ, तर कार्यान्वयनको ठोस आधार कहिल्यै तयार नहुदा पुलले पुर्णता पाउन सकेको छैन् ।

माडी नगरपालिका–७ का वडा अध्यक्ष चन्द्र बानियाँ भन्नुहुन्छ, “पतेरे खोलाको पुल निर्माणका लागि स्थानीय सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ। विगतमा देखिएका प्राविधिक र ठेक्कासम्बन्धी समस्याहरू समाधान गर्दै अब यो योजनालाई प्राथमिकतामा राखेर पुनः अगाडि बढाउने तयारीमा हामी छौ ।”

41Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement