भरतपुर सिटी हलको म्याद फेरि एक वर्ष थप्ने तयारी
भरतपुर । गौरवको आयोजना मानिएको भरतपुर सिटी हल निर्माणको काम ‘कछुवा गति’मा चलिरहेको छ । सिटी हल निर्माणका लागि थपिएको म्याद सकिएको छ । निर्माण कम्पनीले सिटी हल निर्माण पूरा गर्नका लागि पुनः एक वर्षको समयसीमा थप गर्न माग गरेको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपड थापाले सिटी हल निर्माणका लागि एक वर्ष म्याद थप गर्नका निम्ति तयारी भएको बताए । उनले भने, ‘निर्माण कम्पनीले पुनः एक वर्ष समयसीमा थप गर्न माग गरेको छ, थप्नुपर्ने अवस्था पनि देखिएको छ ।’ थपिन लागेको म्याद तेस्रोपटक हो ।
उनका अनुसार सिटी हलमा यतिबेला ट्रष्ट हाल्ने काम भइरहेको छ । उनले भने, ‘ट्रष्ट हाल्न ढिला भएको हो, यसबीचमा निर्माण कम्पनीले गेटहरु बनायो, अब ट्रष्टको काम सुरू भएको छ ।’
हालसम्म ६० प्रतिशत काम पूरा भएको प्रमुख थापाले बताए । उनले भने, ‘अब कामले तीव्रता पाउने आशा पलाएको छ, सबै व्यवधान र अड्चनहरु फुकुवा भएका छन् ।’
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले अब निर्माणलाई तीव्र पार्न निर्माण कम्पनीलाई दबाब दिने जनाएको छ । यसअघि थपिएको म्याद २०८१ माघसम्म हो, जुन सकिएर यता तीन महिना कटेको छ । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा परेको सिटी हल निर्माणको काम अहिले पनि कछुवा गतिमा अगाडि बढिरहेको छ ।
करिब पाँच वर्षअघि सिटी हल निर्माणको जिम्मा कम्पनी इन्डो–सगुन–रौताहा जेभीले पाएको हो । सिटी हल निर्माणका लागि २०७७ मङ्सिर १८ गते २७ महिनामा काम सक्ने गरी इन्डो सगुनले सघन सहरी तथा भवन निर्माणसँग सम्झौता गरेको हो ।
कोरोनाको कहर, आर्थिक मन्दी, समयमै निर्माण सामग्री ल्याउँदा आइपरेका समस्या, सरकारले भुक्तानीमा गरेको ढिलाइलगायतका विभिन्न कारणले सिटी हलको काम पूरा हुन नसकेको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरको भनाइ छ ।
८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँमा २७ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भए पनि कामले गति लिन नसकेको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपड थापाले बताए ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालयपछाडि चार बिघा चार कठ्ठा जग्गामा सिटी हल निर्माणको काम भइरहेको छ । सिटी हल निर्माण सम्पन्न भएसँगै भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रमहरु आयोजना गर्न सहज हुनेछ ।
सिटी हलमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्यान्ड, बगैँचा हुनेछ । हलको अडिटोरियम ब्लकमा दुई हजार जना अट्न सक्छन् । सिटी हलमा तीन सय क्षमताको कन्फ्रेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष रहने छ । चारवटा भ¥याङ, आकर्षक स्टेज, रिहर्सल कक्षसमेत हुनेछ । २५० गाडी र ३०० बढी मोटरसाइकल एवं साइकल अट्ने पार्किङ हुनेछ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १७ गते सिटी हलको शिलान्यास गरेका थिए ।


















