0Shares

शान्ता अधिकारी
केही वर्ष पहिलेसम्म माछा मार्ने, निहुँरो टिप्ने र घरधन्दामा सीमित रहने महिलाहरूको दैनिकी अहिले फेरिएको छ । नयाँ मानिसका अगाडि उभिन पनि लाज मान्ने, नाम पनि भन्न डराउने महिलाहरू अहिले जोकोही र जतिजना भएपनि सबैको अगाडि निर्धक्क सँग बोल्न सक्ने भएका छन् । भने आत्मनिर्भर समेत बनेका छन् ।

रिउ नदीको वगर छेउमा जग्गा भए पनि माडीमा आउने बाढी र संगै रहेको जंगली जनावरका कारण खेती खान नपाए पछि उनीहरु हैरान थिए । माछा मार्न पनि सधै सहज नहुने । निकुञ्ज क्षेत्रका कारण पुर्खादेखि गर्दै आएको पेशाबाट परिवार नै पाल्न गाहे भएको अवस्थामा होम स्टे सञ्चालन गरेसंगै उनीहरुको दैनिकी फेरीएको हो । हिलो मैला र नदी आसपासमा दैनिकी बिताउदै आएका यहाँका महिलाहरु अहिले घरमा आउने पाहँुनाको स्वागतका लागि बोटे पोशाकमा चिटीक्क परेर तयारी अवस्थामा रहने गरेका छन्।

यहाँका महिलाहरूको क्षमता विकास संगै जीवन स्तरमा सुधार आएको त छँदै छ अर्कोतर्फ गाउँको विकासमा समेत होमस्टेले टेवा पु¥याएको छ । होम स्टे सञ्चालन गर्ने मध्ये एक जना विष्णुमाया वोटे पनि हो । उहाँ बोटे साुमदायिक होमस्टे माडीकी सहसचिव पनि हुनुहुन्छ । केही वर्ष पहिलेसम्म रिउ खोलामा माछा मार्न र निकुञ्न र मध्यवर्ती क्षेत्रमा निहुरो टिप्न व्यस्त हुने उहाँलाई अहिले पाहुँनाको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रममा सहभागि हुने, पाहुनाका लागि खानपानको व्यवस्था गर्ने काममा भ्याई नभ्याई छ । उहाँ भन्नुहुन्छ, “पहिले र अहिलेमा धेरै फरक छ । पहिले त कोही नयाँ मान्छेको अगाडि उभिन र बोल्न लाज लाग्थ्यो, डर लाग्थ्यो केही सोधे भने भाग्थे, तर अहिले त्यस्तो छैन । अहिले त विभिन्न ठाउँबाट आएका पाहुनासँग बोल्नुपर्छ । डराएर भएन । ढुक्कसँग बोल्छु । हामि पहिला सधै नदी र जंगलमा गयौ । बाहीरका मान्छेलाई भेटेका हुन्थेनौ । हामीलाई केही थाहा पनि थिएन । ”

बोटे प्रकृति पुजा हो । हामीले प्रकृतिलाई पुजा गर्दछौ । यहाँ हामीले माछाको चोखा बनाएर पाहँनालाई स्वागत गर्दछौ । अर्का होम स्टे सञ्चालक कमला बोटे बताउनु हुन्छ । उहाँको विगत पनि विष्ण्ुमायाको जस्तै हो । घरमा परिवारलाई खाना पकाउने, खेतीपाती गर्ने, वस्तु पाल्ने र फुर्सद हुदाँ निकुञ्जको छेउ भएर बगेको रिउमा माछा मार्न जाने । त्यतिमै उहाँको दिन ढल्थ्यो । तर अहिले व्यवसाय पनि चलेको छ । व्यवसायले आफ्नो क्षमतामा विकास भएको उहाँ बताउनुहुन्छ । “पहिले खेतीपाती र बस्तुभाउ पालेर सिजन सिजनमा अलिअलि आम्दानी हुन्थ्यो, घरखर्च पु¥याउन पनि गाह्रो हुन्थ्यो तर अहिले आर्थिक अवस्था पनि राम्रो भएको छ । दिनकै १५ सय भन्दा माथि आम्दानी हुन्छ । डर र लाज पनि भागेको छ । ”

माडी नगरपालिकाको पश्चिमी भेगमा पर्ने बनकट्टाका लोपन्मुख बोटे समुदायले चलाएको होमस्टेमा उहाँहरु दुई जना त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यो मानव र वन्यजन्तु बिचको अत्यन्तै द्धन्द्ध हुने ठाँउ हो । जंगली जनावरका कारण मानविय, पशु चौपाय र अन्नबाली क्षति भएको भन्दै विकल्पका रुपमा होमस्टेमा लागेको स्थानियहरु बताउँछन्। होमस्टेलाई जंगली जनावरले क्षति नपु¥याउने हुँदा स्थायिनहरु होम स्टे तर्फ आकर्षित भएका हुन् । होम स्टे सञ्चालन भएपछि यहाँका महिलाहरूको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुगेको छ । जंगल र नदीमा आश्रित हुनुपर्ने अवस्था हटेको छ ।
होम स्टे सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपान देखी सांस्कृतिक प्रस्तुती लगायतका काम महिलाहरूले नै मिलेर गर्छन । हाम्रो उद्देश्य भनेको नै पर्यटक प्रवद्र्धन, जैविक विविधता र संस्कृतिको संरक्षण गर्ने भएकोले होमस्टे मार्फत लागेको बोटे साुमदायिक होमस्टेकी सहसचिव विष्णुमाया बोट बताउनु हुन्छ ।
यहाँ धेरैजसो आन्तरिक पर्यटकहरू आउने गरेको उहाँ बताउनुहुन्छ । होम स्टेको सबैभन्दा राम्रो पक्ष भनेको घरमै फलेको अर्गानिक तरकारी , घरकै स्वादको खाना र सहुलियत दर रहेको उहाँ बताउनुहुन्छ । अर्कोतर्फ गाउँबस्तीमा पसेर दुख दिने जंगली जनावर देखाएर समेत आम्दानी गर्ने गरेका छन् । मुख्य सडकबाटभित्र, हरियाली र शान्त वातावरणमा सञ्चालित होमस्टेमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जंगली जनावरहरु पनि देख्न सकिने भएकोले पर्यटकहरुका लागि बोटे होम स्टेहरु आकर्षणको केन्द्र बनेको छ।
निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने । गैंडा, मयुर बँदेल, अजिंगर, स्याल लगायतका जनवारले खाइदिने । जसका कारणपनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर होम स्टे सञ्चालन पछि अहिले गाउँको मुहार त फेरिएको छ । यस क्षेत्रका दिदी बिहनीको जीवन पनि फेरिएको छ । समुदायको जीवन स्तर माथि उठेको बताउनुहुन्छ मध्यवत्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना । उहाँ प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवन स्तर उकास्ने काम होम स्टेले गरेको बताउनुहुन्छ । गाउँवस्ती पसेर दुख दिने जंगली जनवारलाई समेत संरक्षण गर्दै यहाँको समुदायले आयआर्जनमा जोड दिएको उहाँको भनाई छ ।
होमस्टेबाट प्रशिद्ध धार्मिक स्थलहरु पाँच पाण्डव मन्दिर, भीम इनार, परशुराम कुण्ड, गोद्धकनाथ, अष्टभुज शिवलि∙, कुकुरनाथ, बिरालानाथ, सीता गुफा, झण्डी डाँडा नजिकै पर्ने भएकोले होमस्टेमा बसेर बिहानै तीर्थस्थलहरुको दर्शन गरी रमणीय वातावरणहरुको अवलोकन गर्न पर्यटकहरु लालायित हुने गरेको बोटे होम स्टेका अध्यक्ष जगनारायण बोेटे बताउनु हुन्छ । बोटे समुदाय जल, जंगल र जमिनमा आश्रित समुदाय हो। नेपालमा यसको संख्या ११ हजारको हाराहारीमा रहेको उहाँको भनाई छ । पुख्यौली पेशा बालुवा चाल्ने, माछा मार्ने भएका कारण विशेष गरेर नदी छेउमा यो समुदायको बसोवास रहने गरेको छ ।

एक सय ७२ घरधुरी रहेको यहाँ १२ वटा घरमा होमस्टे सञ्चालन भएको छ । ७२ जनाको क्षमता रहेको छ । होम स्टेले प्राकृतिक श्रोत साधनको संरक्षण सँगै जैविक विविधता समेत संरक्षण गर्न मदत गरेको यहाँका सबै होमस्टेमा बर्सेनि ७ हजारदेखि १० हजार हाराहारीको संख्यामा पाहुना आउने गरेको अध्यक्ष बोटे बताउनु हुन्छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement