0Shares
नेपाल पत्रकार महासंघले आगामी जेठ २६ गते एकैपटक जिल्लादेखि केन्द्रसम्म निर्वाचनमार्फत आगामी नयाँ नेतृत्व चयन गर्दैछ । पत्रकार महासंघको नयाँ सदस्य र नवीकरण गरिएका पुराना सदस्यले यो निर्वाचनमा भाग लिन पाउँछन् । तर निर्वाचनको मिति जति जति नजिक आउँदैछ, उती उती महासंघको निर्वाचनमा भाग लिने सदस्यहरुका सम्बन्धमा विवाद बढ्दो छ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीको हस्ताक्षरसहित सार्वजनिक महासंघको सदस्यता नामावलीप्रति सरोकारवालाहरुले प्रश्न उठाएका छन् । महासंघकै कार्यसमितिका सबै पदाधिकारी र सदस्य असन्तुष्ट छन्  । महासंघ अन्तर्गतका जिल्ला, प्रदेश, प्रतिष्ठानलगायतका संरचनाहरुले आफ्नो हक खोसिएकोमा आक्रोशित छन् । पत्रकार महासंघबाहेकका अन्य पेशागत संघसंगठन आन्दोलित छन् । पत्रकारहरुको साझा घर महासंघको कार्यालयमा ताला लागेको छ । कतिपय जिल्ला शाखाका भवनहरु प्नि तालावन्दीको अवस्थामा छन् । निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिने बेला त कार्यालय वरिपरि हुने रौनक नै हराएको छ । यी सबै पछिल्ला गतिविधिले महासंघको जेठ २६ गते तोकेको निर्वाचन नहुने आशंका बढ्दो छ । यदि यही सदस्यता नामावलीका आधारमा निर्वाचन भईहालेर नयाँ नेतृत्व चुनियो भने पनि पत्रकार महासंघलाई आम पत्रकारहरुले साझा थलोको रुपमा स्वीकार गर्न नसक्ने स्थिति सिर्जना हुनसक्छ ।
शुद्धीकरणको विवाद
पत्रकार महासंघमा शुद्धीकरणको विवाद सधै आइरहने समस्या हो । यो विषय नेतृत्व चयनका बेला खुबै उठ्छ । पत्रकारले गर्ने सार्वजनिक मञ्चहरुमा शुद्धीकरणको सवाल उठिरहन्छ । यो भनेको पत्रकारिता गर्नेहरु मात्रै पत्रकार महासंघको सदस्य हुनुपर्छ र रहनुपर्छ भन्ने हो । वास्तवमा यो माग राम्रो छ । हरेकका आ–आफ्ना पेशा छन् । ती पेशा अन्तर्गत पेशागत संगठनहरु निर्माण भएका छन् । अरुका पेशागत संगठनमा पत्रकारिता पेशा गर्नेहरुले सदस्यता नपाएजस्तै पत्रकारिता पेशा गर्नेहरुको संगठनमा पत्रकारहरुमात्रै रहने कुरालाई नकार्न सकिँदैन । तर राजनीतिक आस्था, व्यक्तिगत कटुता र मित्रता, मिडिया हाउससँगको निकटस्थतालगायतका कारणले पत्रकार महासंघको सदस्य को रहने र को नरहने भन्ने निक्र्यौल गर्न थालियो भने समस्या भयावह बन्न सक्छ । यतिबेलाको कार्यसमिति आफैले बनाएको ‘सदस्यता शुद्धीकरण मापदण्ड’ आधारमा विना अध्ययन पत्रकार महासंघको सदस्यता ‘फाइनल’ गरेपछि विवाद बढेको हो । सरसर्ती हेर्दा यो मापदण्डले पत्रकारिता गरेकाहरु मात्र पत्रकार महासंघको सदस्य बन्न पाउने र नवीकरण गर्न सक्ने भन्ने उल्लेख गरेको छ । तर मापदण्डलाई कुल्चेर विना आधार र प्रमाण कसैको सदस्यता खोस्ने, कसैको कायम राख्ने र कसैलाई नयाँ सदस्यता प्रदान गर्ने जस्तो ‘मुखिया नीति’ केन्द्रमा बसेर अध्यक्ष र महासचिवले लिएपछि ‘शुद्धीकरण मापदण्ड’ पनि आखिर विवादित बनेरै छाड्यो ।
‘शुद्धीकरण मापदण्ड’ 
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र  परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड तयार भएको हो ।
महासंघले सदस्य शुद्धीकरणका लागि १५ वटा मापदण्ड बनाएको छ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धीकरणका लागि १५ वटा मापदण्ड बनाएर कार्यान्वयन ल्याउने भनिएपनि मापदण्डमा समेटिएका कतिपय बुँदा अपरिपक्व थिए । यस्तो लाग्थ्यो, ती सबै बुँदा कार्यान्वयन गर्दा पत्रकार महासंघको घर ‘सदस्य विनाको खण्डहर’ बन्ने निश्चित थियो । यद्दपि सबैको सुझावको आधारमा केन्द्रले ल्याएको नीति सबैले मान्नुको विकल्प पनि थिएन । तर कोहि सदस्य मापदण्डभित्र परेर सदस्यताबाट बाहिरिनुपर्ने, कोहि त्यही मापदण्डभित्र पर्दा पनि सदस्यता कायम भईराख्ने स्थितिले विवाद हुनु स्वाभाविक पनि थियो । यसैले महासंघको निर्वाचन जित्नलाई मात्र रचिएको शुद्धीकरणको नयाँ मसला सबैलाई स्वादिलो लागेको छैन ।
सदस्यता शुद्धीकरणका लागि महासंघ केन्द्रले २५ वैशाखसम्म सबै साधारण सदस्यको नाम वेबसाइटबाट सार्वजनिक गर्ने भनिएको थियो । यस्तै प्रदेश समिति र जिल्ला शाखाले पनि सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने भन्ने थियो । तर जताजतै विवाद भएपछि नामावली सार्वजनिक गर्ने त टाढाको कुरा भयो, अहिले महासंघको केन्द्रदेखि कतिपय प्रदेश, प्रतिष्ठान र जिल्लाका शाखाहरुमा भोटे ताल्चा लागेको छ ,
यस्तो छ मापदण्ड 
नेपाल पत्रकार महासंघले नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा बनाएको शुद्धीकरण मापदण्ड यस्तो छ । यसलाई  कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न डेटलाइन तयार पारिएपनि समय तालिकामा हेरफेर भएको छ । जसलाई बुँदागत रुपमा यसरी तयार पारिएको छ । 
१. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश समितिले महासचिव अनिवार्य रहेको समिति तत्काल गठन गरेर सम्पर्क नम्बरसहितको विवरण केन्द्रीय समितिलाई उपलब्ध गराउने । शाखा समितिले पनि आवश्यक समिति निर्माण गर्न सक्नेछन् ।   
२. सार्वजनिक भएका साधारण सदस्यले कुन सञ्चारमाध्यममा र कहिलेदेखि (विगतमा काम गरेको र अहिले काम गरिरहेको संस्थाको नामसमेत) काम गरिरहेको भन्ने विवरण शाखा समितिले जेठ २५ गतेसम्म प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उपलब्ध विवरण अध्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउने । नवीकरणका हकमा महासंघको विधानको दफा ५ को उप–दफा (६) अनुसार व्यक्तिगत विवरण एक पटकका लागि (काम गरिरहेको विवरण खुल्ने कागजातहरु जस्तै, नियुक्तिपत्र वा परिचयपत्र वा संस्थागत कर्मचारी विवरणसहितका कागजात) शाखामा अनिवार्य उपलब्ध गराउने । त्यसरी प्राप्त फोटोसहितको पूर्ण डिजिटल विवरण (आवश्यक कागजातसहित) शाखाले एक–एक प्रति प्रदेश र केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने ।
३. उपलब्ध नाम तथा काममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरी उपर प्रदेश समितिले बनाएको समितिलेआवश्यक छानवीन गरेर केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्म जानकारी गराउने । केन्द्रमा प्राप्त सबै नाममध्ये विवादित नामका सन्दर्भमा शुद्धीकरण समितिको कार्यविधिअनुसार तत्काल टुंगो लगाउने ।
४.नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने । नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरणसहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने । प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने । 
५. सदस्य नवीकरण र नयाँ सदस्यता सिफारिसका सन्दर्भमा शाखा समितिले सर्वसम्मत सिफारिस गरेका हकमा प्रदेश समितिले यहीँ मापदण्डका आधारमा निर्णय गरेर केन्द्रीय कार्यलयमा अभिलेखिकरणका लागि पठाउने । शाखाको कार्यसमितिमा विवाद भएको वा सर्वसम्मत नभएकाको वा उजुरी परेकाको हकमा प्रदेश समितिले उत्पन्न विवाद यही मापदण्डका आधारमा टुंगो लगाउने । तर, त्यसरी प्रदेश समितिमा पनि सर्वसम्मतरुपमा निर्णय हुन नसकेकाको हकमा भने शुद्धीकरण समितिले आफ्नो कार्यविधिअनुसार अन्तिम टुंगो लगाउने ।
६. प्रतिष्ठान प्रदेश अन्तरगतका शाखामा विधानअनुसारको संख्या नपुगेमा शाखा मर्जर गर्ने वा सदस्यलाई आफू खुसी जान चाहेको शाखामा स्थानान्त्रणका लागि समय दिने वा खारेजीका लागि प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने र शुद्धीकरण समितिले सो सिफारिस र विधानको व्यवस्थाअनुसार शाखा कायम राख्न संख्या नपुगेकाको हकमा आवश्यक निर्णय लिने । 
७. विधानको दफा ५(६) मा सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई स–सम्मान बिदाई गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने । उक्त निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेर केन्द्रीय समितिमा पठाउने ।
८. विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र  शाखा समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघसंस्थाका हकमा भने यो व्यवस्था लागू हुने छैन ।
९. मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरुपमा लागू गर्ने । 
१०.जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।
११.एसोसिएट संस्थाको हकमा जेठ मसान्तसम्म संस्था दर्ता, नवीकरणलगायतका अध्यावधिक विवरण (गत असार मसान्तसम्मको) प्रदेश समिति र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने । संस्था दर्ता तथा नवीकरणलगायतका कागजात अद्यावधिक नगर्ने संस्थालाई विधानको दफा ५ अनुसार आवद्धता सदस्यता प्रदान नगर्ने र साधारण सदस्यताका सम्बन्धमा शुद्धीकरण समितिले एसोसिएट प्रदेशको समन्वयमा आफ्नो मापदण्डमा रहेर आवश्यक निर्णय लिने । एसोसिएट संस्थाले महासंघको सदस्यता कायम गर्नका लागि महासंघको विधानअनुसारका योग्यता पुगेका व्यक्तिलाई मात्रै सदस्यता दिने व्यवस्था मिलाउने ।
१२. केन्द्रीय साधारणसभाको अधिकारसहित म्याण्डेट, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनअनुसार साउन १ गतेसम्म शुद्धीकरण समितिले दिएको प्रतिवेदन अनुसार केन्द्रीय समितिले सदस्यता सम्बन्धि विवरणलाई सूचीकरण गर्ने । विधानको दफा ५ को उप–दफा (८) अनुसार साउन १ गतेसम्म कायम सदस्यले मात्रै आउँदो महासंघको चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने ।
१३. विभिन्न पेशा व्यवसायमा आवद्ध भएर पनि पत्रकारिता क्षेत्रमा आंशिक क्रियाशील भएका व्यक्तिलाई स्वघोषणा गरेर सक्रिय सदस्यता त्याग्नका लागि शाखा समितिले सुरुवातमै आव्हान गर्ने । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित शाखाले विदाइ गर्ने र आवश्यकताका आधारमा मानार्थ सदस्यता प्रदान गर्ने ।
१४. पत्रकारिताबाहेकको अन्य कामका लागि विदेश गएका महासंघका सदस्यको हकमा ६ महिना भन्दा धेरै समय विदेशमा रहेको अवस्थामा सदस्यता निलम्वन गर्ने प्रावधानलाई लागू गरिनेछ । तर, वैदेशिक शाखा नियमावलीअनुसार महासंघका वैदेशिक शाखा र आवद्ध संस्थामा सदस्यता सार्नसक्ने प्रबन्ध मिलाउने ।  त्यसैगरी सदस्यता स्थानान्तरण गर्दा महासंघका अन्य सदस्य समान पत्रकारिताको क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ । नयाँ सदस्यताको हकमा विधानअनुसारको मापदण्ड लागू हुने ।
१५. महासंघको यो शुद्धीकरण अभियानलाई कार्यान्वयन गर्ने कम्तिमा १० वटा शाखा र उत्कृष्ट प्रदेश समितिलाई केन्द्रीय महाधिवेशनमा सम्मान गरिनेछ । तोकिएको समायावधिभित्र तोकिएका समितिहरुले काम सम्पन्न नगरेमा शुद्धीकरण समितिले आफ्नो कार्यविधिमा रहेर काम टुंगो लगाउने ।
विधान र मापदण्डबीच बेमेल
नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौँ संशोधन २०७५) बमोजिम नेपाल पत्रकार महासंघको सदस्य बन्न र यसको सदस्यता नवीकरण गर्न अत्यन्तै सजिलो बनाइदिएको छ । मुख्य मुख्य गरी कुनैपनि सञ्चारमाध्यममा न्यूनतम तीन वर्षको समाचार सामग्री तयार गरेको प्रमाण÷कार्यानुभव, सो संस्थाले दिएको नियुक्तिपत्र र १२ कक्षा पास गरेको प्रमाणपत्रसहित निवेदन दिएको खण्डमा महासंघको नयाँ सदस्य बन्न सकिन्छ । यद्दपि महिला, दलित, जनजाति, मुस्लिम, अल्पसंख्यक र अपांगता लगायतकाको हकमा भने एक वर्षको अनुभव भएपनि हुन्छ । यो कुरा महासंघको विधानमा अझ स्पष्टसँग उल्लेख छ । यसैगरी नवीकरणको हकमा आफू पत्रकारितामा क्रियाशिल रहिरहेको प्रमाण दिए पुग्छ । कतिसम्म समाचार सामग्री तयार पारेकोलाई ‘क्रियाशिल’ भन्ने बारे भने विधानमा स्पष्ट उल्लेख छैन ।
महासंघको विधानमै यी सबै कुराहरु उल्लेख गर्न नसकिएकै कारण सदस्यता शुद्धीकरण मापदण्ड तयार बनेको हो । तर महासंघको विधानभन्दा मागि मापदण्ड हुन सक्दैन । मापदण्ड नै विवादित बनेपछि अन्तिम निष्कर्ष चाहिँ विधानमा जे छ, त्यही नै हुने हो । मापदण्ड भनेको विधानलाई सघाउन बनाउने हो । तर आफ्नै सदस्यलाई अनुशासनमा राख्न र गैर सदस्य प्रवेश नगराउन बनेको मापदण्डले काम गर्न नसकेपछि अन्तिम व्याख्या र काम गर्ने आधार त विधान नै हुने भयो । यसैले विधान र शुद्धीकरण मापदण्डबीच बेमेल भएसम्म र एकअर्काबीच सन्तुलन कायम गर्न नसक्दाको अवस्थासम्म मापदण्ड अनुसार सदस्यताको छिनोफानो गर्न थालियो भने जति नै सन्तुलन राख्न खोजिएपनि विवादित भई नै हनेछ ।
विधानमा भएको व्यवस्था
पत्रकार महासंघको विधानमा पनि नयाँ सदस्यता, नवीकरण र यसको समाप्तीबारे स्पष्टसँग उल्लेख गरिएको छ । २०६० मा तयार भएको महासंघको विधान अन्तिम पटक २०७५ मा आएर पाचौँपटक संशोधन भएको हो । माथि नै भनिएजस्तै यो विधान अनुसार महासंघको सदस्य बनाउन र नवीकरण गर्न सजिलो छ, उति नै पत्रकार महासंघको सदस्यलार्य यो पेशामा टिकाउन उति नै गाह्रो छ । यसैले विधान अनुसार सदस्य बनेका र नवीकरण गरिरहेका अधिकांश सदस्य पत्रकारहरु यो पेशामा टिक्न सकिरहेका छैनन् । सदस्य बनिहाल्ने, तर नटिक्ने अवस्थाका कारण पत्रकार महासंघ ‘पत्रकारहरुको साझा घर’ बन्न नसकिरहेको हो ।
महासंघको विधानले सदस्यता, यसको समाप्ति, अधिकार र नवीकरणका सम्बन्धमा पनि व्याख्या गरेको छ ।
परिच्छेद २ को ४ अनुसार महासंघको विधानमा सदस्यताको प्रकार योग्यताबारे यसरी प्रष्ट्याएको छ ।
सदस्यता
महासंघमा सदस्य, संस्थागत सदस्य, अतिथि सदस्य र मानार्थ सदस्य गरी चार प्रकारका सदस्य हुनेछन् । 
(१) सदस्य ः
देहायका व्यक्तिहरू महासंघको सदस्य हुन योग्य हुनेछन् ः
(क) पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति ।
(ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ ।
(ग) यो संशोधित विधान लागू हुनुभन्दा अगाडि महासंघको सदस्य रहेका व्यक्ति,
(घ) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।
(२) संस्थागत सदस्य ः
प्रचलित कानुनबमोजिम दर्ता भई कम्तीमा दुई वर्षदेखि पत्रकारितासँग सम्बन्धित विधागत क्षेत्रका संघसंस्थाहरूलाई केन्द्रीय समितिले महासंघको संस्थागत सदस्यता दिन सक्नेछ । तर, यस्ता संस्थाहरूमा पत्रकारितालाई नै मूल पेशाका रुपमा अंगालेका सदस्यहरू मात्र संलग्न रहेको हुनुपर्नेछ ।
(३) अतिथि सदस्य ः
महासंघको केन्द्रीय समितिले नेपालमा रहेर क्रियाशील विदेशी नागरिक पत्रकारलाई निजले काम गर्ने अनुमति पाएको अवधिसम्मका लागि अतिथि सदस्यता प्रदान गर्न सक्नेछ ।
(४) मानार्थ सदस्य ः
महासंघको उद्देश्य प्राप्तिका लागि विशेष योगदान पुरÞ्याएका स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई केन्द्रीय समितिले सम्मानपूर्वक महासंघको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ ।
साथै सोहि परिच्छेद–२ को ५ अनुसार सदस्यता प्राप्त गर्ने कार्यविधिमा विधानल सदस्यता नवीरकरण गर्ने विषयमा यसरी व्याख्या गरेको छ । 
(३) मानार्थ बाहेक सबै प्रकारका सदस्यताको अवधि एक वर्षको हुनेछ । हरेक वर्षको चैत्र मसान्तभित्रमा सम्बन्धित शाखामा नवीकरण गराउनुपर्नेछ । नवीकरणको विवरण शाखा वा एशोसियट संस्थाले प्रदेश समितिमा पठाउनुपर्नेछ । प्रदेश समितिले सदस्यहरूको अद्यावधिक विवरण असार मसान्तभित्रमा केन्द्रीय समितिमा पठाइसक्नुपर्नेछ ।
(४) अतिथि सदस्यताको लागि नेपालमा क्रियाशील रहेका भनी नेपाल सरकारले प्रदान गरेको आधिकारिक प्रमाणसहित केन्द्रीय समितिसमक्ष आवेदन दिनुपर्नेछ । यस्तो आवेदनको छानबिन गरी केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ ।
(५) अतिथि सदस्य र संस्थागत सदस्यले पनि तोकिएको शुल्क बुझाई प्रत्येक वर्षको चैत्र मसान्तभित्र नवीकरण गराउनुपर्नेछ ।

 

(६) नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नु पर्नेछ ।
साथै सोहि परिच्छेद–२ को ७ र ८ अनुसार सदस्यताको समाप्ति र सदस्यको अधिकारका विषयमा महासंघको विधानमा स्पष्ट उल्लेख छ । 
७. सदस्यताको समाप्ति ः
(१) तल लेखिएको अवस्थामा महासंघको सदस्यता समाप्त हुनेछ ः
(क) सदस्यताबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ख) विधानअनुसार बुझाउनुपर्ने शुल्क नबुझाएमा,
(ग) कुनै सदस्यले विधान प्रतिकूल काम गरेको छ भन्ने

 दफा ३२ (घ) बमोजिमको समितिले ठहराएमा, (घ) नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएमा,
(ङ) पत्रकारिता पेशामा नरहेमा वा पेशा परिवर्तन गरेमा
(च) मृत्यु भएमा ।
८. सदस्यको अधिकार ः
(१) महासंघका सदस्यहरुको देहाय बमोजिम अधिकार हुने छ ।
(क) सदस्यले विधानबमोजिम महासंघको निर्वाचनमा आफू उम्मेदवार हुन र मतदान गर्न पाउनेछ । 
(ख) सदस्यले सम्बन्धित सभामार्फत् महासंघको नीति निर्माणमा संलग्न हुन पाउनेछ
(ग) उपदफा (क) र (ख) को अधिकार अतिथि र मानार्थ सदस्यलाई हुने छैन ।
बढ्दो सदस्यता, घट्दो निरन्तरता
नेपाल पत्रकार महासंघले राखेको अभिलेखमा यसका सदस्यहरु हालसम्म १३ हजार ३९२ रहेका छन् । जसमध्ये दुई  हजार ४०८ महिला छन् । यसमा अझ नयाँ सदस्य थपिएका छैनन् । महासंघको सञ्जाल नेपालमात्र सीमित छैन । नेपालबाहेकका नौ वटा विभिन्न मुलुकमा पनि नेपाल पत्रकार महासंघको शाखा सञ्चालनमा छन् । नेपालमा रहेका सदस्यहरुले जुन विधान अनुसार र जसरी सदस्यता प्राप्त गरेका छन्, उसैगरी नै विदेशमा रहेका शाखाहरुको सञ्चालन भईराखेको छ । यद्दपि विदेशमा रहेका शाखा सदस्यहरुलाई भने केन्द्रीय निर्वाचनमा मतदानको अधिकार र उम्मेदवार बन्ने अधिकार दिईएको छैन । सदस्य बनिसकेपछि र शाखाको मान्यता दिइसकेको स्थितिमा अब भने वैदेशिक शाखामा रहेका सदस्यहरुलाई पनि महासंघको केन्द्रीय निर्वाचनमा मतदानको  अधिकार दिनुपर्ने आवाज उठिरहेको छ ।
नेपाल पत्रकार महासंघमा हाल सदस्यहरुको संख्यात्मक स्थिति यस्तो छ । यसबाहेक सूचना तथा प्रसारण विभागमा दर्ता भई करिब ११ हजार मिडिया सञ्चालनमा छन् । विभाग र सञ्चार रजिष्ट्रारले पनि पत्रकारलाई प्रेस पास वितरण गर्छ । कतिपय प्रेस पास लिएका पत्रकारहर महासंघको सदस्य बनेका छैनन् भने महासंघको सदस्य भएका कतिपय पत्रकारहरुले सूचना विभागले प्रदान गर्ने प्रेस पास लिएका छैनन् । यस्ता पत्रकार करिब ५५ हजारको हाराहारीमा छन् । विधानतः उनीहरु सबै पत्रकार महासंघको सदस्य बन्न भने योग्य देखिन्छन् । तर पत्रकार महासंघले तयार पारेको शुद्धीकरण मापदण्डलाई पालना गर्ने हो भने अधिकांश पत्रकारहरु महासंघबाट आउन हुनेछन् ।
आवश्यक छ शुद्धीकरण 
यही अवस्थामा पत्रकारहरुको संख्या बढ्दै जाने हो भने र सदस्यता प्रदान गर्दा खुकुलो बनाउँदै जाने हो भने पत्रकार महासंघमा पत्रकार भन्दा पनि ‘भिजिलान्ते’ हरुकै संख्या बढि हुने देखिन्छ । यसैले पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै संस्था बनाउन शुद्धीकरण आवश्यक छ । तर पत्रकार महासंघले तयार पारेको अहिलेको मापदण्ड भने पर्याप्त छैन । पालना हुने आधार पनि कतै देखिँदैन ।
समयक्रमसँगै कालान्तरमा यो शुद्धीकरण मापदण्ड पालना त गर्नैपर्ने हुन्छ । यद्दपि तत्कालै भने यो सम्भव छैन । पालना गर्न खोज्दा देखिएको विवाद र पत्रकारहरुकै बीच भएको छताछुल्ल आरोप–प्रत्यारोपले यो मापदण्ड नै परिमार्जन गर्नुपर्ने आवश्यक छ ।
पत्रकार महासंघको विधानमा जे कुरा उल्लेख गरिएपनि यसअघि शुद्धीकरण मापदण्ड अनुसार नयाँ सदस्यता प्रदान गर्न र नवीकरण गर्न सरोकारवाला निकाय सबै राजी भएका थिए । तर एउटै मापदण्डमा परेका कसैले सदस्यता पायो । अर्कोले पाएन । एउटै मापदण्डकाले नवीकरण गर्न पायो, अर्कोले पाएन ।
पत्रकार महासंघले सार्वजनिक गरेको नयाँ सदस्य र नवीकरण गरेकाको लिष्ट हेर्दा भिन्नता देखियो । जस्तैः एउटा होटल चलाउने पत्रकारको नवीकरण हुने, अर्कोको नहुने । एउटा माष्टरको हुने, अर्कोको नहुने । एउटा राजनीतिज्ञको हुने, अर्कोको नहुने । एउटा सरकारी कर्मचारीको हुने, अर्कोको नहुने । एउटा व्यवसायीको हुने, अर्कोको नहुने । एनजिओमा काम गर्ने एएउटाको हुँदा अर्कोको नहुने । यी र यस्तै यस्तै ।
जुनसुकै कोणबाट यस्तो भिन्नता देखिएपछि शुद्धीकरण गर्न बनेको समितिबीच नै विवाद भयो । अन्ततः विवादको रुप झाँगिएर  यो अवस्थासम्म पुगेको हो ।
जुनसुकै संस्थामा पनि नयाँ सदस्य बनाउँदा एउटा विधि हुन्छ । विधानमा टेकेर शुरुमै सदस्य दिने÷नदिने भन्ने कुरा त्यो संस्थाको अधिकार पनि होला । तर सदस्य भईसकेपछि विधानतः नियम पालना गरेको अवस्थासम्म उसलाई सदस्यबाट आफूखुशी सदस्यबाट हटाउन भने कुनैपनि संस्थाले सक्दैन । यदि हटाउनै परे निश्चित कारण देखाएर हटाउनुपर्छ । सदस्यता नवीकरण गर्न नसकिने निश्चित आधारबारे निज सदस्यलाई जानकारी पनि दिइनुपर्छ । त्यो संस्थाले देखाएको आधारबारे निज सदस्य ‘कन्भिन्स’ पनि हुनुपर्छ । अन्यथा कसैलाई पनि सदस्यबाट हटाउन सक्ने अधिकार त्यो संस्थालाई छैन । बिना जानकारी ‘तेरो नवीकरण भएन’ भन्दै उसले प्राप्त गरेको सदस्यता हटाउँदै जाने हो भने त्यो संस्था निरंकुश नै हो । अहिले पत्रकार महासंघमा भएको यही हो । महासंघमा नयाँ सदस्यताको आवेदन गरेको व्यक्तिले सदस्य पाउन नसक्नुको आधार न त्यो सदस्यलाई थाहा भयो, न त उ आवद्ध हुन चाहेको शाखालाई जानकारी नै भयो । यसैगरी निर्वाचनको मुखमा आएर के कारणले आफ्नो नवीकरण भएन भन्ने जानकारी सम्बन्धित सदस्यलाई भयो, न त उ आवद्ध रहेको शाखालाई नै । पत्रकार महासंघका शाखाहरु पनि यतिबेला यो विषयमा सबै बेखबर नै रहे । राजनीतिक आस्थाका आधारमा यस्तो विभेद देखियो । यस्तो खालको निरंकुश मापदण्डले शुद्धीकरणको यो प्रयास आवश्यक भएर पनि सफल हुन नसकेको हो ।
शुद्धीकरण सम्भव छ
हरेक पेशामा शुद्धीकरण आवश्यक छ । यसैले पत्रकार महासंघमा पनि शुद्धीकरण सम्भव छ । पत्रकारहरु आचरणमा स्वच्छ, पेशामा इमान्दार र आफ्नो पेशामा प्रतिवद्ध नभएसम्म भने शुद्धीकरणको रटान जति रटे पनि सम्भव चाहिँ छैन । अहिलेको मापदण्ड अनुसार आजै अहिले नै पत्रकार महासंघको नवीकरण नगर्ने कुरा सम्भव भने छैन । तर यसैलाई टेकेर नयाँ सदस्य प्रदान गर्न भने सकिन्छ । सदस्यता नवीकरणका सवालमा सबै कुरा एकैपटक पालना गर्न चाहिँ सकिँदैन । यी सबै विस्तारै हुने कुरा हुन् । अहिलेको निर्वाचनमा पुरानै मापदण्डका आधारमा नवीकरण गरेर अर्को महाधिवेशनसम्म यही मापदण्डलाई टेकेर नवीकरण गर्ने÷नगर्ने निर्णय लिन सकियो भने बल्ल महासंघले चाहेजस्तो शुद्धीकरण सम्भव हुने देखिन्छ ।
श्रमजीवि पत्रकारका समस्या र समाधानका उपायको खोजी गर्दा यसको शुद्धीकरणको विषय पनि जोडिन्छ । शुद्धीकरण गरेर जति सदस्य कम भए, उति नै आफ्नो सदस्यप्रति पत्रकार महासंघले काम गर्न सक्छ । राज्यले पनि निश्चित नियम बनाएर पत्रकारलाई सहयोग गर्न सक्छ । नीजि स्तरबाट खोलिएका सञ्चारमाध्यमले पनि राम्रै सेवा सुविधा दिन सक्छन्  ।
पत्रकारितालाई मुल पेशा बनाएकादेखि रहरले नामका लागि पत्रकारको झुण्ड्याउने पनि छन् । यसैले कम्तिमा समाचारमूलक सामग्री तयार पार्नेलाई मात्र पत्रकार भन्न पाइयो भने यसको गरिमा पनि बढेर जाने देखिन्छ । साँच्चै पत्रकार महासंघको सदस्य बनेका पत्रकारले समाचारमूलक सामग्री तयार पारोस् । त्यो सामग्री तयार पारेवापत उसले सञ्चारमाध्यमबाट न्यूनतम पारिश्रमिक निर्धारण आयोगले तोकेको मापदण्ड अनुसार पारिश्रमिक पाओस् । सूचना विभाग र प्रेस काउन्सिलमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन, कर्मचारी दरबन्दी विवरण र तलबी पे स्लिपमा उल्लेख भए अनुसार सबै पत्रकारले तोकेको पारिश्रमिक पाउन् । सबै पत्रकारले प्यान नम्बर लिएर सामाजिक सुरक्षा कर तिरेको होस् । अनि यी सबै प्रक्रिया पूरा गरेका सञ्चारमाध्यमलाई मात्र नवीकरण गर्ने र अनुदान दिने साथै पालना गरेका पत्रकारहरुको सदस्यता नवीकरण गर्ने व्यवस्था गर्न सकियो भने श्रमजीवि पत्रकारहरुको समस्या पनि हल भएर जानेछ । यसो गर्न नसक्नेहरु पत्रकारितामा झुण्डिरहनु पनि पर्दैन । आफ्नो श्रमको मूल्य नभएपछि उसलाई पत्रकारितामा रहिरहन जरुरत पनि छैन । बल्ल पत्रकारको पेशा सुरक्षित हुन्छ । यो सम्भव पनि छ । किनभने पत्रकारितासँग सम्बन्धित सरोकारवाला निकाय पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण आयोग एउटै कम्पाउण्डमा छन्, त्यो ठाउँ काठमाडौँको सञ्चारग्राम हो ।
अहिले पनि अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण गर्ने काम सूचना विभाग र यसको सूचीकरण गर्नेदेखि अद्यावधिक गर्ने काम प्रेस काउन्सिलले गरिरहेको छ । साथै पत्रपत्रिकाको वर्गीकरण गर्ने काम पनि काउन्सिलमार्फत भईराखेको छ । यसो गर्दा सबै सञ्चारमाध्यमले हरेक वर्ष यी निकायमा कर्मचारी दरबन्दी विवरण र नियुक्ति पत्र अनुसार उनीहरुलाई प्रदान गरिएको पारिश्रमिकको प्रमाण पेश गर्नुपर्ने हुन्छ । तर यस्ता कागजात पत्रकार आफैले गलत तरिकाले पेश गरिरहेको भन्ने आरोप छ । कम्तिमा यो कुरालाई अनुगमन गर्न सकियो भने पत्रकार कत्तिको क्रियाशिल रहेछ भन्ने देखाउँछ । यही क्रियाशिलताका आधारमा उसको नवीकरण पनि गर्न सकिन्छ । यसैले अहिले पत्रकार महासंघले बनाएको शुद्धीकरण मापदण्ड, महासंघको विधान र समाचारमूलक सामग्रीका आधारमा उसले पाएको पारिश्रमिकलाई अनुगमन गर्न सकियो भने यसैको आधारमा शुद्धीकरण सम्भव छ । यसो गर्न सकिएन भने पत्रकारको भेषमा रहेका भिजिलान्तेहरुको देखाउने पेशा पत्रकारिता हुन्छ, भित्रभित्रै उसले अर्कै धन्धा चलाएको हुनेछ । अनि, यो शुद्धीकरणको मुद्धा पनि सधैँ सेलाएर जानेछ ।
स्रोत सामग्री ः नेपाल पत्रकार महासंघको विधान, सदस्यता शुद्धीकरणसम्त्रन्धी मापदण्ड र महासंघको वेभसाइटमा राखिएको अभिलेख । 
(लेखक पोखरेल नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।) 
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement