0Shares

 

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले प्रधानमन्त्रीको निम्ति सबै बिषय दाउमा नलगाउने बताएका छन् ।

आज  सोमबार बिहान भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले आफू कहिल्यै पनि प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारे ।

‘मैले सधैं भन्ने गरेको छु प्रधानमन्त्रीको निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन । बरु गठबन्धनको निम्ति, संविधान निर्माणको निम्ति या निर्वाचनको निम्ति धेरै नेताहरुलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको छु । आँफै प्रधानमन्त्रीको रेसमा कुद्ने काम चाँही मैले गरेको छैन’, प्रचण्डले भने ।

उनले गठबन्धन भित्र आफूले प्रधानमन्त्रीको लागि दाबी नगरेको पनि बताए । जिम्मेवारी आए लिन भने तयार रहेको उनको भनाइ थियो । यस्तै प्रचण्डले गठबन्धनसँग सहमति नभए एमालेसँग मिलेर सरकार बनाउने बिषयमा सत्यता नरहेको स्पष्ट पारे ।

‘स्वभावैले निर्वाचनपछि सबै दलहरुको, नेताहरुकोबीचमा छलफल चलेको छ । नयाँ आएका पार्टीहरुसँग पनि छलफल चलेकै छ । त्यो स्वभाविक प्रक्रिया हो’, उनले भने । उनले अघि भने, ‘एमालेसँग सबैको कुरा भइरहेको छ । कांग्रेस एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने हुँदैन । अहिले हामी गठबन्धन छौं, गठबन्धननै कायम रहन्छ भनेर त्यसैमा छलफल गरिरहेका छौं ।’

फरक प्रसँगमा उनले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने बिषयमा गठबन्धन भित्र कुनै किसिमको चर्चा नभएको पनि बताए । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने बिषय अहिले सम्भव नभएको उनको भनाइ थियो ।

‘वुद्धिजिवी साथीहरुबाट त्यस्तो कुनै व्यक्ति भए राष्ट्रपति बनाउदा ठीक हुन्छ भन्ने सुझाव चाँही आएको हो’, उनले भने, ‘हामीले गठबन्धन भित्र वा राजनीतिक दलभित्र कसैसँग पनि यो बिषयमा चर्चा गरेको छैन ।’ उनले राष्ट्रपति कार्यालयले दिएको सात दिनको समय सीमा भित्र गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका शक्ति बाँडफाडको टुङ्गो लागिसक्ने पनि बताए । उनले गत निर्वाचनबाट संघमा अपेक्षित नतिजा नआए पनि माओवादी केन्द्रको जनमत बाहिर हल्ला चले जस्तो नघटेको दाबी गरे । यसको समिक्षा गरेर पार्टीलाई थप मजबुद बनाउने अवसर आएको उनको भनाइ थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement