शिखर सुजः मानक स्थापित गर्ने चर्चित ब्रान्डको अवसान
सुजन ओली
काठमाडौं । मानिसहरूमा हुने महत्वाकांक्षालाई सामान्य मानिन्छ । महत्वकांक्षा नभए मानिसहरू अघि बढ्न गाह्रो हुने मान्यता राखिन्छ पनि । तर, त्यही महत्वकांक्षा आफ्नो क्षमता र दक्षताबिना प्रकट भयो भने त्यसले खति निम्त्याउँछ । त्यसैले होला नेपालीमा एउटा बहुचर्चित उखान छ, ‘अति गरे खति हुन्छ ।’ कहिलेकाहीँ लाग्छ यो उखान पछिल्लो पटक महत्वकांक्षाले चिप्लिएका शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईंका लागि नै बनेको हो ।
एक पछि अर्को महत्वकांक्षा राखेर आकाश चुम्न लालायित जुत्ता बजारको चर्चित ब्राण्ड शिखर सुज र त्यसका डिजाइनर प्रसाईं नेपाली समाजबाट अस्ताउँदै गएका छन् । ब्रान्डेड जुुत्ता भनेकै विदेशी हुन्छ र नेपालका उच्च घरानाले पनि कहीँ नेपाली जुुत्ता लगाउँछन् भन्ने अवस्थालाई चिरेर नेपालीहरूको रोजाइमा पर्न थालेको त्यही गुणस्तरीय प्रिमियम ब्रान्ड शिखर सुज यतिखेर नेपाली बजारमा पाइन छाडेको छ । नेपाली जुत्ता पनि नेपालका उच्च पदस्थ व्यक्तिहरूले प्रयोग गर्न सक्छन् भन्ने मानक बनाएको शिखर आज आफैं ‘कोमा’मा पुुगेको छ ।
बढ्दो महत्वकांक्षा, आफ्नो क्षमताको अधिक मूल्यांकन, प्रतिस्पर्धीलाई सिध्याउन गरिएको अस्वस्थ प्रयास, व्यवस्थापकीय कमजोरी र व्यापारप्रतिको शून्य समर्पण (डेडिकेसन)ले चर्चित ब्रान्ड शिखर सुज नेपाली जुत्ता चप्पल बजारमा इतिहास बन्ने स्थितिमा छ । २०५२ सालबाट नेपालमा शिखर ब्रान्डमा जुत्ता उत्पादन थालेको शिखर सुज इन्डस्ट्रिजले सुरुवाती एक दशक जेनतेन टिकाएको थियो । तर, २०६३ पछि चर्चामा आएको र व्यापारमा अपार सफलता हात पारेको शिखर २०७० सम्म ‘प्रिमियम ब्रान्ड’ बनिसकेको थियो ।
रानीबारीस्थित आफू बस्ने घरमै केही साझेदारसहित प्रसाईंले शिखर सुजको उत्पादन सुरु गरेका थिए । शिखरले बजार लिन थालेसँगै घरमा रहेको उद्योगलाई गोलढुंगा सारेर रानीबारीलाई गोदाममा परिणत मात्रै गरेनन् ठूलो परिमाणमा जुत्ता चप्पल उत्पादनमा केन्द्रित भए ।
२०६३ देखि २०७० सम्मको अवधि प्रसाईं र शिखर सुजका लागि एकदमै फलदायी रहेको देखिन्छ । देशका विभिन्न ठाउँबाट शिखर सुजको माग आउन थालेपछि पूर्वको बजारलाई आफ्नो नियन्त्रणमा राख्न भन्दै सन् २०१६ मा ४० करोड रुपैयाँ लगानीमा विराटनगरमा नयाँ उद्योग लगाए । तर, त्यसको ६ वर्ष पुुग्दा नपुुग्दै शिखर अवसानको बाटोमा अग्रसर भयो ।
जानकारहरूका अनुसार २०७०/७१ तिरै शिखर सुजले मासिक ८० हजार जोरसम्म जुत्ताचप्पल बिक्री गथ्र्यो । जबकी, शिखरका प्रतिस्पर्धीका रूपमा रहेको गोल्डस्टार त्यतिबेला केही हजारमा सीमित थियो भने जुुत्ताचप्पलका अन्य प्रतिस्पर्धी नै छैनन् कि भन्ने भान पथ्र्यो ।
शिखर सुजमा काम गरेका र प्रसाईंसँग लामो संगत गरेका व्यवसायीहरूका शिखरले कहिलेकाहीँ महिनामै ५ करोड रुपैयाँभन्दा बढीको व्यापार गथ्र्याे भने औसतमा ४ करोड रुपैयाँको व्यापार नियति निरन्तरताजस्तै थियो । शिखरले यसअवधिमा जुत्ताचप्पल मात्रै उत्पादन गरेन, सँगसँगै नयाँ–नयाँ उद्यमी जन्माउन पनि सफल भयो । आज प्रसाईंकै उद्योगमा काम गरेका व्यक्तिहरू आफैं उद्योगी बनेका मात्रै छैनन्, त्यही शिखर सुुजको बजार कब्जामा लिएर रजगज गरिरहेका छन् ।
उच्च महत्वकांक्षा र भारी परेको ब्रान्ड
शिखरबाट नाम र दाम दुवै कमाएका थिए, प्रसाईंले । नेपाली उत्पादनमा म्याजिक चप्पलले एउटा खाले ब्रान्ड बनाइरहेको बेलामा भित्रिएको शिखर सुजको ब्रान्ड रातारात उचालियो ।
सामान्य व्यक्तिदेखि सरकारी कर्मचारी, मन्त्री, प्रधानमन्त्रीसम्मको रोजाइमा शिखर सुज पर्न थालिसकेको थियो । यतिसम्मकी २०७१ मा भृकुटीमण्डपमा भएको जुत्ता चप्पल मेलामा प्रसाईंलाई केही उच्च सरकारी अधिकारी, बैंकर, व्यावसायिक घरानाहरूले भन्ने गर्थे, ‘अचेल शिखरका जुत्ता लगाउन थालेको छु ।’ यहीबाट देखिन्छ शिखरका ब्रान्डले हरेक नेपालीको मन जितेको थियो । त्यति मात्रै होइन हरेक जुत्ताचप्पल मेलाको अग्रभागमा उभिन्थ्यो शिखर सुज ।
शिखरले प्रायोजन गर्ने पक्का भएपछि मात्रै जुत्ताचप्पल मेला हुन्थ्यो । कुनै मेला त्यस्तो हुँदैन थियो, जहाँ शिखर सुज नभएको होस् । त्यति मात्रै होइन सञ्चारमाध्यमा ‘फ्रन्ट पेज’ पनि शिखरकै कब्जामा हुन्थ्यो । नयाँ–नयाँ प्रडक्ट सार्वजनिक गर्नेदेखि आउटलेट खोलेको समेत समाचार आइरहन्थ्यो । जानकारहरूका अनुसार जुन तहको ब्रान्डिङ र मार्केटिङ भएको थियो, त्यो तहको व्यापार थिएन । तर, ब्रान्डिङको भोक जागिरहेको थियो । शिखर सुज ‘पिक’मा पुगेका बेला नेपाली ब्रान्ड ‘फिटराइट’ पनि समानान्तर रूपमा अघि आइरहेको थियो । तर, फिटराइट एकाएक पछि हटेपछि शिखरलाई फाइदा भएको थियो ।
शिखर सुजले नेपाली बजारमा तहल्का पिटिरहेका बेला आमिर राणा र प्रसार्इं मात्रै जुत्ता व्यवसायी थिएभन्दा हुन्छ । नेपालमा शिखरले तहल्का पिटिरहेका बेला गोल्डस्टारलाई भने भारतमा बिक्री कम हुन थालेको आभाष हुन थाल्यो । त्यसपछि थोरै मार्जिनमा शिखरसँग लड्ने योजनासहित नेपालमै गोल्डस्टारको बजार खोज्न थाल्यो । यद्यपि त्यतिबेलासम्म नेपालीहरूले गोल्डस्टारको जुत्ताप्रति नाक खुम्च्याउँथे ।
प्रसाईंलाई नजिकबाट चिनेजानेकाहरू भन्छन्, ‘आफ्नो वित्तीय क्षमताभन्दा उच्च महत्वकांक्षा, व्यवसायप्रतिको समर्पण र व्यवस्थापकीय कमजोरीले शिखर सुजको जमेको बजार गुम्दै गएको हो ।’ खासगरी बजारमा शिखर सुजको बिक्रीभन्दा चर्चा बढी भएको स्थितिलाई प्रसाईंले नजरअन्दाज गरी व्यापक प्रचारप्रसार अभियान अघि बढाएको र त्यसले व्यापार वृद्धिमा सकारात्मक योगदान नगरेपछि शिखरले ओरालो यात्रा सुरु गरेको बुुझाइ धेरैको छ ।
प्रतिस्पर्धी सिध्याउन खोज्दा आफैं टाट पल्टिए
जानकारहरूका अनुसार २०६५ देखि २०७० सम्म शिखर सुजले प्रतिजोर जुत्तामा ७ सय रुपैयाँको मार्जिन राख्दा अन्य कम्पनीलाई २५ रुपैयाँ नाफा राख्न धौधौ पथ्र्यो । अन्य कम्पनीले ५ सय रुपैयाँ लगानी गरेर २५ रुपैयाँ कमाउन सक्ने अवस्था थिएन । तर, शिखरले ५ सय रुपैयाँ
लगानी गरेर १२ सय रुपैयाँमा जुत्ता बेचिरहेको थियो ।
हो, त्यही बेला रामकृष्णलाई के लाग्यो भने शिखर सुज, मेरो ब्रान्ड नै काफी छ । गोल्डस्टार, बीएफ डीएरहिल त मेरो प्रतिस्पर्धी नै होइनन् । आफ्ना प्रडक्ट प्रधानमन्त्री, मन्त्री, बैंकर, सरकारी उच्च पदस्थ अधिकारीले लगाइरहेका छन् । देशभर शिखर सुजको मात्रै माग छ । त्यति हुँदा पनि अन्य जुत्ता कम्पनी चुमुक–चुमुक गर्छन्, यिनीहरूलाई पनि सिध्याइदिन्छु भन्ने लाग्यो र सोहीअनुसार अघि बढेँ ।
प्रतिस्पर्धी जन्मिएको देखिनसहँदा र भइरहेका उद्योगहरूलाई सिध्याउने चाहना राख्दा प्रसाईं आफंै आर्थिक संकटतर्फ धकेलिए । खासगरी अन्य कम्पनीले बनाउने जुत्ताका विभिन्न भेरियन्टहरू आफंै बनाउने र अरूलाई बजारमा टिक्नै नदिने रणनीतिको सिकार प्रसाईं आफंै भए । २०७१ सालतिर अरूले जेनतेन पाइरहेको २५ रुपैयाँ नाफा पनि आफंै खान्छु । ठूलो उद्योग लगाउँछु । लागत घटाउँछु र अन्यलाई छेउछाउ नै आउन दिन्न । भएभरका जुत्ता उद्योग सक्छु भन्ने प्रसाईंलाई लाग्यो । त्यसैको उपज हो, विराटनगरको ‘प्लान्ट’ ।
गोल्डस्टार र शिखर सुज एक आपसमा मुख्य प्रतिस्पर्धी थिए । तर, गोल्डस्टरले एकपछि अर्को सफलता हासिल गरिरहेको छ भने शिखर सुज दौडबाटै बाहिरिएको छ । अरूले गर्नै नहुने आफंैले मात्रै सबै गर्नुपर्छ भनेर डाहा गर्ने स्वभावका कारण प्रसार्इं अन्ततः व्यावसायिक क्षेत्रमै असफलसिद्ध भए ।
आफ्नो उत्पादन बेच्नभन्दा प्रतिस्पर्धीलाई सिध्याउन समय खर्चिने प्रसाईंकै कारण तीन वर्षदेखि शिखर सुज बजारमै छैन, नत प्रतिस्पर्धाको सम्भावना जीवित राखेको छ । गोल्डस्टारलाई हेरेर आफ्नो उत्पादनको यथार्थपरक अध्ययन नगरी लगानी खन्याउँदा शिखर सुजको भविष्य अन्धकारमा रुमलियो ।
२०६५ मै आर्थिक संकट झेलेका प्रसाईं
लागत र आम्दानीका हिसावले २०५२ देखि २०६३ सम्मको एक दशक ठिकठाकै थियो । तर, २०६३ देखि २०६५ सम्म उद्योग नोक्सानीमा गयो । प्रबन्धकका रूपमा रुद्र न्यौपाने भित्र्याएपछि र उसैलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेसँगै एकै वर्षमा उद्योग ‘ब्रेकइभन’मा पुगेको जानकारहरू बताउँछन् । २०६५ तिरै प्रसाईंले धेरैको फोन उठाउन छाडिसकेका थिए । तिर्नुपर्ने दायित्व बढ्दै गएको र बजारबाट उठ्नुपर्ने उधारो नउठेका कारण साथीभाइ तथा ऋणीका फोनबाट ‘इरिटेड’ हुन थालेका थिए ।
तर, नयाँ म्यानेजरका रूपमा न्यौपानेको काँधमा जिम्मेवारी दिएपछि प्रसार्इं फुक्काफाल जस्तै भए । बजारबाट उठ्नुपर्ने उधारो पनि उठ्यो । बिक्रीको ग्राफ फेरि उकालो लाग्यो । बजारमा शिखरका जुत्ताको माग बढ्न थालेपछि प्रसार्इं वित्तीय संकटबाट विस्तारै बाहिरिन थाले । त्यसको ३ वर्षमा प्रसाईंले भित्र्याएका व्यक्तिहरू लाखापाखा लागे पनि बिक्री र उत्पादनमा कुनै कमी आएको भने थिएन ।
प्रसाईंलाई अभिषाप बनेको विराटनगर प्लान्ट
प्रतिस्पर्धीलाई छेउछाउसम्म ढिम्किन नदिने सोचले प्रसाईंभित्र गहिरो जरो गाडेको थियो । जुत्ता उद्योगमा आफूमात्र एकछत्र राज गरौं, नयाँलाई अवसर नै नदिउँ भन्ने सोचबाट पे्ररित भएर प्रसाईंले बिनाअध्ययन विराटनगरमा करोडौं लगानी गरेर जुत्ता उद्योग लगाए ।
‘एकातिर देशभर शिखर सुजको डिलर लिने होडबाजी र अर्कोतिर बजार कब्जा गर्ने हुटहुटी प्रसाईंमा थियो,’ प्रसाईंसँग भिजेकाहरू भन्छन्, ‘बजारसँग पैठेजोरी खोज्दा प्रसाईंको व्यवसायले एउटा चरणमा पुगेपछि ब्रेक मात्रै लागेन ओरालो यात्रा सुरु ग¥यो र अहिले शून्यमा पुगिसकेको छ ।’ शिखरको विराटनगर प्लान्टले ठूलो नोक्सानी व्यहोरेपछि अहिले प्लान्ट नै बिक्री भइसकेको छ ।
म्याजिकलाई सिध्याउन खोज्दा आफैं सकिए
२०६५ सालतिर म्याजिकको पियूका जुत्ताचप्पलको बजार ठूलो थियो । म्याजिकले पियू सेक्सनमा राम्रै गरिरहेको थियो । तर, एकाएक प्रसाईंलाई पियूको ठूलो बजार आफ्नो कब्जामा लिने महत्वकांक्षा जाग्यो । त्यसबेला शिखरलाई सिध्याउन म्याजिक र म्याजिकलाई सिध्याउन शिखरले पियूका जुत्ताचप्पल ल्याउन नयाँ मेसिन लगाउने होड नै चलेको थियो । म्याजिक पनि शून्य नाफा लिएर सबैलाई सिध्याउँछु भनेर खुलेआम उत्रिएको थियो ।
तर, बजारले म्याजिक र अन्य ब्रान्ड पनि उस्तै हुन भन्ने बुझिसकेको थियो । म्याजिकको सबै बजारमा उधारो थियो । धेरै दिनसम्म बजारमा मालसामान उधारोमा फाल्न नसक्ने अवस्थामा पुग्यो म्याजिक । त्यही बेला नयाँ–नयाँ उद्योग भित्रिए र धेरथोर उधारो फ्याकिँदिए । बजारबाट उधारो उठाउनुपर्ने दबाबमा रहेको म्याजिकले थप उधारो दिन सक्ने स्थिति थिएन ।
त्यही बेला मिलानो, सांग्रिला, सेञ्चुरी, रन सुजलगायतका ब्रान्ड स्थापित भइसकेका थिए । म्याजिकले तत्कालै नीति परिवर्तन गर्दै पुरानो मोडलका जुत्ताचप्पल उत्पादन बन्द गरेर नयाँ मोडलमा जान थाल्यो र कम्पनीले नाफा बढायो । म्याजिक अहिले पनि राम्रो गरिरहेकै छ । तर, शिखरले आफ्नो सोचबाट परिवर्तन हुन नसक्दा गम्भीर आर्थिक संकटमा फस्यो र व्यावसायिक उडान असफल सूचीमा प्रसाईं पनि चढे ।
लाखको लगानीमा खुलेको उद्योग करोडौं पुगेर लाखमै झर्यो
२०५२ सालमा प्रसाईंले २ लाख ५० हजारको लागतमा शिखर सुज उद्योग खोलेका थिए । उनले उद्योग खोल्दा नेपाली ब्रान्डप्रति नेपालीको खासै चासो थिएन । तैपनि उनले रानीबारीमा उद्योग राखेर त्यहीबाट उत्पादन सुरु गरे ।
१० वर्षे माओवादी सशस्त्र युद्ध सकिएपछि र माओवादी शान्ति प्रक्रियामा आएको केही वर्षपछि उनले रानीबारीमा रहेको उद्योगलाई गोलढुंगा सारेर ठूलो परिमाणमा जुत्ता उत्पादन गर्न थाले । रानीबारीको उद्योग गोलढुंगा सर्दा करिब २ करोड रुपैयाँ लगानी भएको थियो । गोलढुंगामा शिखरले मासिक ८० हजार जोरसम्म जुत्ता उत्पादन गरेर रेकर्ड राखेको थियो ।
गोलढुंगाले प्रसाईंको दैनिकी र सामाजिक परिवर्तनमा बदलाब ल्यायो र पछि नयाँ उद्योग विराटनगरमा लगाउने निर्णय गरे । विराटनगर उद्योग सञ्चालनमा आएपछि प्रसाईंले पत्रकार सम्मेलन गर्दै विराटनगरको उद्योगमा ४० करोड रुपैयाँ लगानी गरेको दाबी गरेका थिए ।
तर, सोचेअनुरुप सामानको माग नआएपछि र परिस्थिति प्रसाईंको पक्षमा नभएपछि बाध्य भएर त्यहाँको उद्योग बन्द मात्रै गरेनन् जग्गा पनि बेच्न पुुगे । विराटनगरको उद्योग बेचबिखनपछि प्रसाईं आर्थिक रुपमा केही ‘कम्फर्टेवल’ स्थितिमा पुुगेका थिए ।
कोरोनाले प्रसाईंलाई दिएको साथ
साढे २ वर्षअघि महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण आफू वित्तीय संकटमा परेको प्रसाईंले बताउँदै आएका छन् । प्रसार्इंले कोभिडले उद्योगको उत्पादन नबिकेर आफू अप्ठ्यारोमा परेको बताएका थिए । कोभिड सुरु हुनेबित्तिकै केन्द्रीय बैंकले उद्योगले लिएको ऋणमाथि प्रोभिजन नगराउन बैंकहरूलाई भन्यो । त्यसले गर्दा विराटनगरमा उद्योग लगाउँदा लिएको ऋण तत्कालै बैंकले प्रोभिजन गर्नुपरेन । जसका कारण प्रसाईंलाई सहज भएको बुुझाइ उनी निकटहरूको छ ।
शिखरले सामना गरेको ३५ दिने सूचना
शिखर सुजले सेन्चुरी कमर्सियल बैंकबाट लिएको ऋण नतिरेपछि २०७७ असोजमा ३५ दिने सूचना निस्कियो । त्यसपछि भने उद्योग झनै थलियो । उद्योग चरम आर्थिक अभावबाट गुज्रिएका बेला बैंकले निकालेको सूचनाले प्रसाईं थप दबाबमा परे । ३५ दिने सूूचनामा प्रसाईं र उद्योगको नाममा काठमाडौंमा रहेको घरजग्गा तथा विराटनगरमा रहेको उद्योगको घरजग्गा लिलाम गरी बैंकको सावाँ तथा ब्याज असुलउपर गरिने उल्लेख थियो । प्रसाईंले शिखर सुजको नाममा सेन्चुरीबाट ४२ करोड रुपैयाँ ऋण लिएका थिए ।
प्रसाईंको ‘रिभाइभ’ योजना
बजारबाट गुमनाम भइसकेको शिखर सुज पुनः रिभाइभ गर्ने योजनामा छन्– प्रबन्ध निर्देशक प्रसार्इं । शिखर सुजको अद्योगति लागेपछि यो बीचमा आधादर्जन उद्योगले शिखर सुजको बजारमाथि कब्जा जमाइसकेका छन् । प्रतिस्पर्धीका रुपमा रहेको गोल्डस्टार अघि बढिनै रहेको छ । यस्तो अवस्थामा पनि शिखरलाई पुरानै अवस्थामा फर्काउने गरी काम भइरहेको प्रसाईं बताउँछन् ।
हाल सामान्य उत्पादन भइरहेको शिखरको ब्रान्ड अझै पनि राम्रो छ । शिखरको गुणस्तरमा अविश्वास छैन । त्यसैले शिखर ब्रान्डलाई पुनः ब्युँत्याउन समस्या नभएको प्रसाईंको दाबी छ । विविध कारणले उत्पादनमा कमी आए पनि ब्रान्ड र गुणस्तरमा समस्या नरहेकाले छिट्टै नयाँ रुपमा बजारमा आउने प्रसाईंको दाबी छ ।


















