0Shares

देशभरिबाट अडिसन गरी नेता छान्ने भनिएको टेलिभिजन कार्यक्रम ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्क एक हजार रुपैयाँ तिरेका ३०९ जनाले अझै पैसा फिर्ता नपाएको देखिएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताए।

आफू उक्त कार्यक्रम सञ्चालकमात्रै भए पनि मानिसहरूले आफूलाई हेरेर रजिष्ट्रेसन गरेकाले सबैको पैसा फिर्ता गर्न आफूले पहल गर्ने लामिछानेको भनाइ छ।

यसअघि पनि धेरै पटक इच्छुकले पैसा फिर्ता लैजान सार्वजनिक रूपमा भनिएको भए पनि सबैसम्म सूचना पुर्‍याउन नसकिएकाले केहीले अझै पैसा फिर्ता नपाएको उनले बताए।

उक्त कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेकामा ८८३ जनाले पैसा फिर्ता लिइसकेको लामिछानेले बताए।

पैसा फिर्ता लिनका लागि सम्पर्क गर्न उनले मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। मोबाइल नम्बरहरू ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ मा सम्पर्क गरी पैसा फिर्ता लिन सकिने उनले बताए।

२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो।

सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए।

‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।

सुरूमा ‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो। लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरकेमा गएपछि यो कार्यक्रम त्यहीँ प्रसारण हुने अपेक्षा गरिएको थियो।

कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए। लामिछाने ग्यालेक्सी फोरके गएपछि उनी पनि त्यहीँ गएका थिए। आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन्।

आचार्यले पनि रजिष्ट्रेशन गरेकाहरू पैसा फिर्ता दिन आफूहरू तयार रहेको बताए।

‘पहिलो कुरा हामी कार्यक्रम गर्ने कि नगर्ने भन्ने अझै निर्णयमा पुगिसकेका छैनौं। सुरूमा कोरोनाले रोकियो। अहिले रवि सर राजनीतिमा जानुभयो। अब अर्को सञ्चालक राखेर कार्यक्रम गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ आचार्यले भने, ‘रजिस्ट्रेसन गरेका केहीले अहिले पैसा फिर्ता लिँदैनौं, पछि कार्यक्रम भयो भने सहभागी हुन्छौं भन्नुभएको छ।’

पैसा फिर्ता लिन चाहनेलाई एक हजारमा सय रूपैयाँ ब्याज थपेर एक हजार एक सय दिने उनले बताए। सय रूपैयाँ ब्याजको हिसाब कुन आधारमा निकालिएको भन्ने चाहिँ उनले स्पष्ट पारेनन्।

फिर्ता लिन चाहनेलाई विभिन्न वालेट, बैंक खाता र  प्रत्यक्ष नगद दिने गरिएको उनले बताए।

‘हामीले त्यो रकम चलाएका छैनौं, राखेका मात्र छौं। लिन्छु भन्ने जति सबैको पैसा फिर्ता गरिदिन्छौं,’ आचार्यले भने।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement