चितवनमा माओवादी : गठबन्धनको ‘टेको’ समाउँदा पनि असफल
भरतपुर । ‘जनयुद्ध’का कमाण्डर एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला हो, चितवन । भरतपुर–१४ प्रचण्डले स्थानीय निर्वाचनमा मतदान गरेको वडा । यही वडाबाट उनकै छोरी रेणु दाहालले पनि मतदान गरिन् । माओवादीकी केन्द्रीय सदस्य रहेकी रेणु चितवनकी इन्चार्जसमेत हुन् ।
पाँच दलीय गठबन्धनको सहारामा भरतपुर महानगरमा मेयर जितेर ‘लाल झण्डा’ फहराएकी रेणुले आफ्नै वडा भरतपुर–१४ मा भने एकजना जनप्रतिनिधिलाई पनि विजयी गराउन सकिनन् । माओवादीबाट यस वडामा बिमला वि.क.ले मात्रै दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिईन् । उनको मत एक हजार २५१ आयो । तर एक हजार ५०३ मत ल्याएर एमालेकी देवी नेपालीले यस वडाबाट निर्वाचन जितिन् । बाँकी वडाध्यक्षसहितका चार पदमा भने माओवादीकै समर्थनमा काँग्रेस बिजयी भयो ।
भरतपुर–१४ एउटा उदाहरण मात्र हो । चितवनमा सारा शक्ति, समय र सामथ्र्य भरतपुरको मेयरमा उम्मेदवारी दिएकी रेणुका लागि मात्रै खर्चदा समग्र चितवनको निर्वाचन यसपटक माओवादीका लागि ओरालो लागेको छ । अझ मेयर पाएपनि महानगरभरी एकजना महिला सदस्यसमेत निर्वाचित भएनन् । अन्य उम्मेदवारी दिएका अन्य सदस्यहरुको हालत पनि उस्तै छ ।
चितवनका पालिकामा माओवादी केन्द्रले जितेका सबै पदको अवस्था केलाएर हेर्दा उसको शक्ति बढेको होइन, घटेको देखिन्छ । २०७४ को निर्वाचनमा भरतपुरबाहेकका पालिकामा माओवादीको एक्लै उम्मेदवारी परेको थियो । उतिबेला प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एक्लै निर्वाचन लड्दा मेयर जितेको माओवादीले यसपटक गठबन्धनको ‘टेको’ समाउँदा पनि माडी गुमाउन पुग्यो ।
यसपटक माओवादीलाई प्रमुख पाँच दलको समर्थन थियो । निर्वाचनमा उम्मेदवारी पनि सोहि बमोजिम परेको थियो । मतदाता थपिएका थिए । यो हिसाबले उम्मेदवारी दिएका अधिक ठाउँमा माओवादीले बिजय प्राप्त गर्नेछ भन्ने धेरैको बुझाइ थियो ।
माओवादी चितवनका एक नेता भन्छन्–‘अहिलेको निर्वाचन वास्तवमा रेणुकेन्द्रीत नै भयो । माओवादीमय हुन सकेन । माओवादीलाई भन्दा पनि रेणुलाई जिताउने अभियान नै प्रमुख बनिदियो ।’
यी नेताले भनेजस्तै चितवनका सबै पालिकामा गठबन्धनले भाग लगाएर माओवादीले उम्मेदवारी दिएको थियो । मत पनि सोहि बमोजिम भयो । यस हिसाबले आफ्नै वास्तविक जनमत छुट्याउन सक्ने अवस्था पनि माओवादीमा अहिले छैन ।
पालिका नेतृत्वमा असफल
चितवनका ७ पालिकामध्ये भरतपुरमा मात्र माओवादीलाई सफलता मिलेको छ । भरतपुरमा रहेका २९ मध्ये जम्मा तीन वटा वडाध्यक्ष (१३, २४, २६) जितेको नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल मेयरमा निर्वाचित भइन् । तर, १६ वटा (१, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७, २९) वडाध्यक्ष जितेको नेपाली कांग्रेस भने आफ्नो बहुमत हुँदाहुँदै दोस्रो पटक उपमेयरमा चित्त बुझाउन बाध्य भयो । यसरी चित्त बुझाउनमा गठबन्धनको केन्द्रीय नेतृत्वले पनि काम गरेको छ । भरतपुरका कांग्रेसी मतदाताको सहयोगले दोश्रोपटक रेणु मेयर बनेकोमा कुनै सन्देह भएन ।
भरतपुरको मेयरमा फराकिलो मतान्तरले मेयर बनेपनि माओवादी केन्द्रीय सदस्य एवम् चितवन इन्चार्ज रेणु दाहालको नजर चितवनकै अन्य पालिकामा परेको देखिएन । भरतपुरमा मेयर जित्नुलाई ‘सफलता’ मात्रै ठानेको माओवादीले चितवनका अन्य पालिकामा प्राप्त निराशाजनक परिणामप्रति भने अझै आन्तरिक समीक्षा गरेको पाइएको छैन ।
चितवनमा यसपटक माओवादीले भरतपुर र माडीको मेयरमा उम्मेदवारी दिएको थियो । साथै इच्छाकामना गाउँपालिकाको उपाध्यक्षसहित कालिका र खैरहनी नगरपालिकाको उपप्रमुखमा पनि उम्मेदवारी दिएको थियो । यो उम्मेदवारी गठबन्धनको निर्णयबमोजिम भएको हो । तर सबै पालिकामा गठबन्धनको साथ, समर्थन र सहयोग रहेपनि भरतपुरबाहेकका उम्मेदवारी दिएका ठाउँमा माओवादी उम्मेदवारहरु पराजित भए । यी सबै ठाउँमा एमाले निर्वाचित भयो ।
माडी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट ठाकुरप्रसाद ढकालले तीन हजार ८७६ मत ल्याएर बिजयी भएको थिए । यसैगरी मेयरका उम्मेदवारहरु नेपाली काँग्रेसका खेम महतोले तीन हजार ८२९, एमालेका नारदमणि पौडेलले तीन हजार ८२६ र राप्रपाका मदन पौडेलले तीन हजार ७३ मत प्राप्त गरेका थिए । यसपालि भने माडीमा एमाले र राप्रपाबीच तालमेल भयो । २०७४ मा चार पार्टीले प्राप्त गरेको मतमा खासै मतान्तर थिएन । २०७९ को निर्वाचनमा भने एमालेकी ताराकुमारी काजी महतोले नौ हजार ९०१ मत ल्याएर माडीको मेयरमा निर्वाचित भईन् । माओवादीका ऋषिराम काफ्लेले भने ७७२९ मत मात्रै प्राप्त गरे । उनीहरुबीचको मतान्तर दुई हजार १७२ रह्यो । २०७४ को मतगणनालाई आधार मान्दा गठबन्धनतर्फ सात हजार ७०५ र एमाले–राप्रपातर्फ छ हजार ८९९ मत थियो । अहिले एमाले पनि फुटेको बेला माओवादीलाई मेयर जित्न सहज नै थियो । तर गठबन्धनतर्फ उपमेयरमा काँग्रेसले बिजय प्राप्त गर्दा माओवादीले पाएको मेयर पद माडीमा फुत्कियो ।
इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा माओवादीबाट उम्मेदवारी दिएका प्रताप गुरुङ पनि यसपालि एमालेकी माया सिलवालसँग पराजित बने । सिलवालले पाँच हजार ३४४ मत ल्याएर बिजयी हुँदा गुरुङले पाँच हजार ४४ मत ल्याएका थिए ।
कालिकामा सविता लामा र खैरहनीमा लक्ष्मी ढकालले पनि गठबन्धनको समर्थनमा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएका थिए । उनीहरु पनि पराजित बने । कालिकामा लामाले नौ हजार ६८८ मत पाउँदा एमालेकी बिमला तामाङले १० हजार ४४९ मत प्राप्त गरी बिजयी भईन् । यसैगरी खैहरनीमा ढकालले नौ हजार ६७० मत ल्याउँदा एमालेकी कविता उप्रेतीले चौध हजार १६४ मत प्राप्त गरी निर्वाचित भईन् ।
खैरहनीमा फेरि नील
गठबन्धनकै सहयोग लिएर खैरहनीमा ४८ पदमा उम्मेदवारी दिएको माओवादीले एउटै पदमा पनि जीत हात पार्न सकेन । २०७४ मा पनि माओवादी खैरहनीमा नील भएको थियो । अघिल्लो निर्वाचनमा कालिका, रत्ननगर र राप्तीमा समेत माओवादीले नील खाएको थियो । तर यसपटक भने यी पालिकामा माओवादीले झिनो प्रगति गरेको छ । कालिकामा पाँच, रत्ननगरमा पाँच र राप्तीमा एकजना जनप्रतिनिधि यसपटक निर्वाचित भएका छन् ।
जिल्लाभर ३६ जनप्रतिनिधि
चितवनमा अहिले २७३ पदमा उम्मेदवारी दिएको माओवादीलाई ३६ पदमा मात्रै सफलता हात प¥यो । जसमध्ये ११ वडाध्यक्ष, तीन महिला सदस्य, नौ दलित महिला सदस्य र १२ खुल्ला सदस्य निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचनमा भने माओवादीले ४९० पदमा उम्मेदवारी दिएको थियो । जसमध्ये ३२ पदमा मात्रै उसलाई सफलता हात लागेको थियो । यो निर्वाचनमा जिल्लाभर सात वडाध्यक्ष, पाँच महिला सदस्य, छ दलित सदस्य र १२ खुल्ला सदस्य निर्वाचित भएका थिए । यो आँकडा झट्ट हेर्दा अघिल्लो स्थानीय निर्वाचनको तुलनामा माओवादीको शक्ति बढेको देखिन्छ ।
निर्वाचन तथ्याँक अनुसार २०७४ मा भन्दा २०७९ मा आउँदा माओवादीले चार पदमा बढि जनप्रतिनिधि पाएको छ । तर, वास्तविकता बिल्कुल फरक छ । किनभने, पाँच दलीय गठबन्धनको टेको पाएर माओवादीले अघिल्लो निर्वाचनको तुलानामा चार पद बढि जित निकालेको हो । त्यस हिसाबले हेर्दा सत्ता साझेदार माओवादी केन्द्रको शक्ति चितवनमा चुलिएको नभई अरूको बुई चढेर अग्लिएको देखिन्छ ।
नेता पायो, जनमत पाएन
चितवनबाट माओवादीको केन्द्रीय नेतृत्वमा पुगेका मात्रै १२ जना छन् । माओवादी अध्यक्ष प्रचण्डदेखि नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’, ज्ञानु बस्नेत, गंगा बेलबासे, रेणु दाहाल, घनश्याम दाहाल ‘अविनाश’ , ठाकुर ढकाल, कञ्चन खनाल, यमबहादुर परियार, सन्तु दराई र रणेन्द्र बरालीसम्मका केन्द्रीय तहका नेता चितवनकै हुन् । तर उनीहरुको ध्यान यसपटक भरतपुरमा रेणु दाहाललाई जिताउने बाहेक अन्यत्र मोडिएन । माओवादी अध्यक्ष प्रचण्डको सक्रियता पनि मौन अवधिमा समेत भरतपुर केन्द्रीत भयो । ठूला सभा पनि भरतपुर केन्द्रीत नै भए । सभामा काँग्रेस सभापति शेरबहादुर देउवाले ‘भरतपुरमा रेणुले नजिते गठबन्धन नै धरापमा पर्ने’ अभिव्यक्ति दिए । माओवादी अध्यक्ष प्रचण्डले समेत ‘रेणुले नजिते देश नै दूर्घटनामा पर्ने’ अभिव्यक्ति दिए । यस हिसाबले धेरैको रोजाइमा भरतपुर मात्रै भयो । तर मेयरमा जितेपनि अन्य पालिकाको परिणाम भने माओवादीलाई फलदायी हुन सकेन ।
कतिञ्जेल तालमेल ?
०६४ यता एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा र फेरि माओवादी केन्द्रका नाममा संगठित माओवादीले २०७४ मा नेपाली काँग्रेससँग तालमेल गरी भरतपुरमा चुनावी प्रतिष्पर्धामा भाग लिएको थियो । यसपछि संघ र प्रदेशको निर्वाचनमा एमालेसँग तालमेल ग¥यो । यसपालिको स्थानीय निर्वाचनमा देशव्यापी रुपमा पाँच दलीय गठबन्धन बनाएर प्रतिष्पर्धा ग¥यो । फेरि पनि यही गठबन्धनलाई निरन्तरता दिने चर्चा छ । यो चर्चासँगै माओवादीभित्र कतिञ्जेल तालमेल गरेर प्रतिष्पर्धा गरिरहने भन्नेबारे बहस पनि शुरु भएको छ । तर अहिलेको निर्वाचनमा गठबन्धनको ‘टेको’ नसमातेको भए चितवनमा माओवादीले अपेक्षित सफलता प्राप्त गर्न सक्थेन भन्ने चाहिँ सत्य हो ।


















