खैरहनीको बिकासमा कविताको प्रवेश
शान्ता अधिकारी
पटक–पटकको जनआन्दोलन र महिलाहरूको संघर्षपछि नेपालको संविधानले महिलाहरूलाई विशेष प्राथमिकता दिएको छ । हरेक तह र क्षेत्रमा लैंगिक समानताको आवाज उठिरहेको छ । जसले गर्दा वैशाख ३० गते हुन भएको स्थानिय तहको चुनावमा प्रमुख वा उपप्रमुख मध्ये अनिवार्य एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्थाले गर्दा आज खैरहनी नगरपालिकाको उपप्रमुखमा कविता उप्रेती विजयी हुन सफल हुनु भएको छ ।
खैरहनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेका तर्फबाट उपमेयरको दौडमा विजयी कविता खैरहनीका महिलाहरुलाई आर्थिक रुपमा बलियो र हिंसा रहित समाज बनाउने प्रमुख एजेन्डा सहित चुनावी मैदानमा होमिनु भएको थियो ।
बाल्यकालबाट नै निकै संघर्ष गदै अगाडी बढ्दै आउनु भएकी कबिताले जीवनमा धेरै कुरा पाउनु भएको छ भने केही महत्वपूर्ण कुरा गुमाउनु भएको छ । सानै उमेरबाट कम्युनिष्ट राजनीतिप्रति आस्था भएकै कारण उहाँसंग विद्यार्थी जीवनबाट नै नेकपा एमालेका विभिन्न भातृ संगठनमा रहेर काम गरेको अनुभव छ । चितवनका आम मानिसको माझमा एक संघर्षशिल महिलाको रुपमा आफुलाई परिचित गराउन उहाँ सफल हुनु भएको छ । चितवनकै माटोमा जन्मेर हुर्कनु भएकी कबिता पाटी राजनीतिका अलवा विभिन्न संघसंस्थामा लागेर समाज परिवर्तनको एक हिस्सा बन्न सफल हुनु भएको छ ।
समयसंगै आफुलाई ढाल्दै र परिपक्व बनाउदै आउनु भएकी कबिता जन्म वि.स. २०३२ साल बैशाख १६ गते बुवा अभयराज ओली र आमा नेत्रवती ओलीको कोखबाट भएको हो । कविता तिन वर्षको हुदाँ वुवाको मृत्यु भयो । काकाहरुको छत्रछाया र मायामा हुर्कदै गर्दा १४ वर्षको उमेरमा उहाँको विवाह भयो ।
२०५० सालमा काभ्रेपलाञ्चोकका प्रकाश उप्रेतीसंग विवाह भएपनी उहाँको बसाई भने खैरहनीमा नै भयो ।
व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ । सुन्दर मन नै आजको सफलताको कडी पनि हो । मनले आटेका सबै कुरा पुरा गरी छाड्न्नै पर्ने बानी थियो उहाँको । कुनै पनि कुरालाई असम्भंम नदेख्ने आट र जीवनको विकासमा दतचित भएर लाग्ने मनस्थिति नै अन्ततः उहाँको भविष्यको आधारशिला बन्यो ।
सफलता आकाशबाट झर्ने कुरा होइन । भाग्य धर्ती चिरेर बाहिर आउदैन । सफलता त्यसले प्राप्त गछर्, जसलाई भाग्यले साथ दिन्छ । भाग्यले त्यसलाई साथ दिन्छ, जो भाग्य प्राप्तिका लागि सधै परिश्रम गर्छ ।
‘आफ्नो गाँउ आफै बनाऔँ’ जस्तो स्वावलम्बी र लोकप्रिय अवधारणा बमोजिम स्थानीय क्षेत्रमा व्यापक जनसहभागिता जुटाई आफ्नो नगरको बिकास आफै गर्न सकिन्छ भन्ने आँट र सक्रियताका साथ चुनावी मैदानमा होमीनु भएकी कबिता खैरहनी नगरपालिकाको उपमेयरको उम्मेदवार हुनुहुन्छ ।
नेकपा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिनु भएकी कविता त्यहाँको भुगोल र अवस्थाका बारेमा राम्रोसंग जानकार पनि हुनुहुन्छ । बिगत देखि नै खैरहनीको बिकास निर्माणको महायात्रामा निरन्तर कही र कतैबाट उहाँ सरिक हुदै आउनु भएको छ । बदलिँदो राजनैतिक पुनरसंरचनाको क्रममा बि.स . २०७१ सालमा साविक खैरहनी, चैनपुर र कुमरोज गा.वि.स र २०७२ सालमा कठार गाविस समेत समावेश गरी खैरहनी नगरपालिका गठन भएको हो ।
साक्षर भएका महिलाहरुलाई अनिवार्य रुपमा कुनै न कूनै सीप सिकाई आत्मनिर्भर र स्वरोजगार बन्न उत्प्रेरित गर्ने उहाँको योजना छ । गरीब परिवार परिचय पत्र प्राप्त परिवारका महिलाहरुलाई उद्धम गर्नका लागि टेवा पुँजीको रुपमा आवश्यक सहयोग गर्ने । समान कार्यक्रमको समान ज्यालालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने जस्ता एजेण्डा उहाँको छ ।
समाज परिवर्तनका लागि जीवनमा आउने सबै चुनौतीलाई सामना गर्नुपर्छ भन्ने विचारले ओतप्रोत कविताले खैरहनीमा रहेका विभिन्न संघ संस्थामा रहेर काम गर्नु भएको छ । उहाँ विगत सम्झदै भन्नुहुन्छ, “२०४४ सालमा कक्षा आठमा पढ्दा दुई रुपैया तिरेर पाटीको संगठीत सदस्यता लिएँ । जीवन पाठक दाईले कहिले खोलाको तिरमा त कहिले स्कुलको चौरमा मिटिङ्ग गराउनु हुन्थ्यो । एमाले पार्टी भन्ने थाहा थिएन । महिलाहरु हिड्न वोल्न पाउदैनन्, पढ्न पाउदैनन, महिलाहरु कही जान हुदैन भन्ने थियो । बन्धनबाट छुट्कारा पाएको जस्तो लाग्थ्यो उतिबेला दिदी बहिनी भेट भएर बस्न पाउँदा । लुकीलुकी भेट हुन्थ्यौ। ”
त्याग र संघर्षको अर्को नाम महिला सशक्तिकरणका लागि कबिताको अभियान उहाँ जान्ने बुझने भए देखी नै सुरु भएको हो । उहाँले सानै बाट देखेको सपना छोरीलाई छोरा सरह समान अधिकार र शिक्षादिक्षा पुरा गर्ने समय भने अहिले आएर पुरा हुन लागेकोमा उहाँलाई गर्व लागेको छ ।
विद्यार्थी राजनीतिबाट सुरु भएको कविताको यात्रा २०५४ मा वडा कमिटि, अनेमसंघ चैनपुर गाँउ कमिटिको अध्यक्ष,, नगर कमिटि सदस्य हुदै नेकपा एमालेको जिल्ला कमिटि सदस्य हुदै आज खैरहनीको उपमेयर हुन सफल हुनु भएको छ । उद्योग वाणिज्यसंघ खैरहनीमा आवद्ध उप्रेती महिला दिदी बहिनीहरु आर्थिक रुपमा बलियो हुनुपर्ने धारणा राख्नु हुन्छ । उहाँ जवसम्म महिलाहरु आर्थिक रुपमा बलियो हुदैनन्, तवसम्म अगाडी बढ्न नसक्ने बताउनु हुन्छ । उहासँग २०६४ सालमा उद्योग वाणिज्य संघ खैरहनीको कार्यसमितिमा रहेर काम गरेको अनुभव छ भने राष्ट्रिय उद्योग संघको सदस्य हुनुहुन्छ ।
२०६३ सालबाट आफ्नै कपडा पसल सञ्चालनमा ल्याउनु भएको उप्रेतीले स्वाथ्य स्वयम सेविका, नेपाल सरकारको स्वाथ्य वमिा वोर्डको एजेण्ड भएर चैनपुरमा काम गरेको अनुभव छ । महिला र बालबालिकाको स्वाथ्य अवस्थालाई राम्रोसंग बुझनु भएकी उहाँले मानसिक र शारिरीक रुपले स्वस्थ नभईकन स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनु हुन्छ । उहाँ धेरै जना पैसाको अभावका कारण स्वास्थको बिमा गर्न नसकेको बताउनु हुन्छ । यसैले आफुले खैरहनीमा स्वाथ्यलाई सबैको पहँचमा पुराउने बताउनु हुन्छ ।
कविताका श्रीमान खैहनीमा नै व्यापार गरेर बस्नु हुन्थ्यो । कविता खाली समय श्रीमानको साथी बन्नुहुन्थ्यो । हरेक सुख दुख साटासाट गरी सुन्दर भविष्यको कल्पनामा दुवैको जीवन सहज तरिकाले वितिरहेको थियो । दुबै जनाले देखेको सपना साकार पार्न आ आफ्नै काममा दत्तचित्त भएर बच्चा हुर्काउदै एक रथका दुई पाग्रा अगाडी बढीरहेको समयमा उहाँले श्रीमान गुमाउनु पर्यो । यो नै उहाँका लागि सबैभन्दा पीडाका दिन थियो । ती दिन सम्झदा उहाँका आखाँ अहिले पनि रसाएर आउँछन् । यही पिरले उहाँका दिनचर्या कति दिन खाएर विते त कति दिन थकानले । कोल्टो नर्फकिन व्युझिएका रात त कति भए कति । दुख गरेर श्रीमानको उपचार र रेखदेख गरे पनि श्रीमानलाई सदाका लागि विदाई गर्नु पर्दाको पीडाले उहाँलाई अझै पनि झस्काइरहन्छ ।
हरेक आमालाई आफ्ना सन्तानले बाँधिदिन्छन् । रोएर कराएर मात्र केही नहुने रहेछ भन्ने सोच मनमा पलाएसंगै दुवै मिलेर देखेका सुन्दर सपनाहरु पुरा गर्न उहाँ लागिरहनु भयो । अब अरु विकल्प पनि त थिएन । आफैले आफैलाई सम्हाल्दै छोरा छोरीको सुन्दर भविष्यका लागि दौडन सुरु गर्नुभयो । तर विडम्वना हुर्के बढेकी कान्छी छोरीले पनि केही वर्ष अगाडी संसार छाडेर गईन् । पिरमाथि पिर थपियो । उहाँका आँखा अहिले पनि रसाएका छन् । सन्ताको माया र श्रीमानको अभाव सधै उहाँलाई खड्कि रहन्छ । तर पनि आफ्नो जीवनलाई अगाडी बढाउनै पर्छ । श्रीमान् गुमाउदा विचरा, कठैवरा, अलवा भन्नेहरुलाई केही गरेर देखाउनु पर्छ भन्ने उहाँमा थियो । श्रीमानले सम्हाल्नु भएको व्यापार उहाँ आफैले अहिले सम्हाल्नु भएको छ ।
उपमेयर हुदैगर्दा उपमेयरले गर्ने कामकार्वाहीका बारेमा राम्रोसंग जानकार भएको भन्दै उहाँ महिला पुरुष एक रथको दुई पाङ्गा भएको बताउनु हुन्छ । महिला पुरुषको समान सहभागिता हुनपर्ने उहाँको धारणा छ ।
आफ्नो बाल्यकाल र युवावस्था संघर्षमा नै बितेको महसुस गर्ने कविताको जीवनको अस्तित्व खोज्ने महिलाहरुलाई संघर्षबाटै जीवन सुरु हुने बताउ हुन्छ । सानैदेखि केही गरौ र गर्नुपर्छ भन्ने स्वभावकी कविताले जीवनमा थुप्रै संघर्षका सिढीहरु पार गदै आज आम महिलाहरुको लागि उदारणीय बन्न सफल हुनु भएको छ ।


















