सधै चम्कीरहनु तारा
शान्ता अधिकारी
“सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन” यो गीत धेरैको जीवनमा मेल खान्छ । तारादेवीले गाएको यो गीत ताराकुमारीकै लागि गाँएको हो कि जस्तो लाग्छ । गत वैशाख ३० गते भएको स्थानिय तहको चुनावको नतिजा आउदै गर्दा भारी मतका साथ विजयी भएकी तारा अव माडीमा चम्कने छिन् । सधै जनता र स्थानियको मनोभावना अनुसार काम गर्न सकेकै कारण आज भारी मतका साथ नेकपा एमालेका तर्फबाट माडी नगरपालिकाको मेयरमा विजयी भएकी हुन् ।
२०३२ साल भदौ १४ गते माडीको साविक बगौडा ७ मा बुवा धुरी महतो र आमा चुलीयादेवी महतोको कोखबाट जन्म भयोे, ताराकुमारी काजी महतोको । पाँच दाई र दुई दिदीकी प्यारी बहिनी ताराको बाल्यकाल सामान्य तरिकाले बित्यो । जमिन्दारको छोरी भएपनि बिहान बेलुका मेलापात, घाँस दाउरा र दिनमा विद्यालय गएर उनका बाल्यकाल बित्दै गए । घरमा काम गर्ने मानिस भए पनि उनमा म जमिन्दारको छोरी हुँ भन्ने भाव आएन । थारु समुदायमा जन्मे पनि भाग्यमानी हुन् तारा । उनका अन्य साथी सङ्गीहरुले विद्यालय देख्न नपाए पनि शिक्षाप्रेमी बुवा र दाजुहरुका कारण उनी विद्यालय जान पाईन् ।
“हुने विरुवाको चिल्लो पात ।” सम्पन्न घरमा जन्मिए पनि दुःख सुख भोग्दै उनले आफ्नो पढाइलाई अगाडि बढाउँदै गईन् । पढाइमा मध्यम ताराले माडी माविबाट एस एल सी दिईन् । त्यसबेला उनको समुदायबाट उनी र उनको भदिनी मात्रै एसएलसीमा सहभागी भएका थिए ।
एस एल सी दिएसँगै उनको विवाहको कुरा चल्न थाल्यो । सँगैका साथी सङ्गीहरुको घरजम भैसकेको थियो । उनको अभिभावकले पनि घरजम गराईदिने निधो गरे । जस अनुसार उनको विवाह माडीमा नै सामान्य तरिकाले भयो ।
उनीहरुबाट दुई छोरीको जन्म भयो । केही गराँै भन्ने मनमा हुटहुटी थियो । तर समयले उनलाई परिक्षा लियो । विभिन्न कारणले गर्दा विवाहपछि उनले पढाइलाई अगाडि बढाउन सकिनन् । धेरै पढेर देशका लागि केही गर्ने सपना बोकेकी तारा रातमा आकाशका ताराहरु गन्दै आफ्नो सपनाको संसार बुन्न थालिन् । छोरीहरु हुर्कदै थिए । जब छोरीहरु स्कुल जान थाले, उनले विभिन्न सामाजिक संस्थाहरुमा आफुलाई जोड्दै लगिन् । उनी गैसस चितवबाट सञ्चालित डकाउ कार्यक्रमको भिलेज फ्यासीलेटरको रुपमा रहेर काम गर्न सुरु गरिन् । जीवनको सबैभन्दा खुसीको क्षण पनि उनको यही हो । आज जति नै माथि पुगे पनि पहिलो पाईला नै महत्वपूर्ण हुन्छ । जति नै अग्लो उचाइमा पुगेपनि तलबाट उक्लिएको सिँढी कहिल्यै पनि बिर्सन नसकिने रहेनछ । उनी भन्छिन, “आज यो उचाईमा हुने थिईन, त्यो दिनमा घर बाहिर निस्कन नपाएको भए ।”
मनमा दृढ ईच्छाशक्ति भएमा गरेरै छाडिन्छ भन्ने दरिलो प्रमाण हुन् तारा । पाँच वर्षसम्म त उनले डकाउमा नै काम गरिन् । कामकै दौरानमा उनले गाविस सचिवमा नाम निकाल्न सफल भईन् । तत्कालिन समयमा संयुक्त वडा कार्यालय ३, ४ र ५ को वडा सचिव भएर उनले बाह्र वर्षसम्म काम गरिन् । जागिरको दौरानमा उनले राजनीतिलाई नजिकबाट बुझने अवसर पाईन् । उनीमा राजनीतिक झुकाव बढ्दै गयो । उनका पाईलाहरु राजनीतितर्फ अगाडि बढ्न थाले ।
उनको बिचारमा राजनीति सेवा हो । कर्मचारीको रुपमा काम गरिरहेकी उनलाई स्थानीय निर्वाचन २०७४ मा माडी नगरपालिकाबाट उप प्रमुखमा उम्मेदार बन्न तत्कालिन नेकपा एमालेबाट प्रस्ताव आयो । वैशाख १९ गते उम्मेदवारी दर्ताको दिन थियो । उनले १७ गते वडासचिवबाट राजीनामा दिएर चुनावी मैदानमा होमिईन् । करिब २० वर्षसम्म स्थानीय जनताहरुसँग रहेर उनीहरुको समस्याहरु बुझेकी तारालाई आदिवासी महिला र आम माडी बासीको समस्या र पीडा थाहा थियो । कामकै दौरानमा उनी सबैको मनमा बस्न सकेकी थिईन् । सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्न सक्ने खुवीका कारण उनी मतदाताहरुको रोजाईमा परेकी थिईन् । तर, चुनाव न हो कता कता मनमा डर लागेको बताउदै उनी भन्छिन्, “चुनाव हो हार वा जित जे पनि हुनसक्थ्यो ।”
प्रतिस्पधीहरु महिला नै थिए । एउटै समुदायबाट आएका महिलासँग प्रतिष्पर्धा थियो । मतदाताहरुको घर आँगनमा जाने क्रममा आदिवासी र महिलालाई पहिलो प्राथमिकतामा राखेको थिएँ । उनी थप्छिन, “मेरो लागि सबै मतदाता बराबर हुन । तर आदिवासी र त्यसमा पनि महिला भएको हिसावले यी मेरो प्राथमिकतामा परेका मात्रै हुन् ।”
ती दिनहरु सम्झदै उनी भन्छिन्, “चुनावमा हार वा जित जे भएपनि त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने थियो । विजयी भए त ठिक छ यदि हारियो भने पनि मतदाताहरुसँग गरेको बाचा पूरा होस् भनेर प्रतिष्पधीसँग मत माग्ने क्रममा भेट हुँदा सल्लाह गर्थेँ । यदि मैले हारेर तपाईले जित्नु भयो भने मेरा मतदाताहरुको अपेक्षा पनि पुरा गर्नु र यदि मैले जिते भने तपाईको भावनालाई पनि कदर गर्छु ।”
यसरी आफ्नै प्रतिष्पधीसँग पनि मित्रताको सम्बन्ध राख्न सक्ने ताराले आफ्नो पक्षमा विजय हासिल गरिन् । माडी नगरपालिकाको उपमेयर हुदै अहिले मेयर बन्न सफल भईन् ।
यो ठाँउसम्म आउन उनले सामाजिक संघ संस्थामा रहेर लामो समय काम गरिन् । सगरमाथा परिवारको सहसचिव, पारालिगल कमिटि वगौडाको वडा संयोजक, नगरको सचिव भएर पाँच वर्षसम्म काम गरिन् । त्यसैगरी अनेमसंघ वगौडाको सचिव हुदै आज उनी माडी नगरपालिकाको उप प्रमुख को कार्यकाल सहज रुपमा पूरा गरिन् ।
यतिबेला उनी माडी नगरपालिकाको उप प्रमुखको कार्यकाल पुरा गरी नगर प्रमुखमा भारी मतका साथ विजयी भएकी छन् । उप मेयरको जिम्मेवारीमा रहेर उनले सबैको साँझा भएर जनताको दुःखमा मलम लगाउने काम गरेकै कारण माडी बासीले अहिले मेयरमा उनलाई मत र मन दिएका छन् । उनी भन्छिन्, “मैले कसैलाई पनि मेरो कार्यकक्ष बाहिर कुराएर राख्ने गरेको थिईन । नीति र विधिबाट हुने काम तत्काल गरेर पठाएँ । मलाई लाग्छ मेरो कारणले कसैले पनि दुःख पाउनुभएको छैन् ।”
उनी भन्छिन्, “निर्वाचित जनप्रतिनिधि भएका हिसावले सबैको कुरा सुनें । स्थानीय सरकार सञ्चालन ऐनको नीति र विधिमा रहेर उप प्रमुखले गर्ने काम गरेकै कारण अहिले प्रमुखमा जिताउनु भएको छ ।”
माडी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिदैमा तारासँग माडी विकासका लागि स्पष्ट दृष्ट्रिकोणहरु छन् । देशको अवस्थामा त परिवर्तन भएको छ तर जनताको अवस्थामा चाहेअनुसारको परिवर्तन हुन नसकेकोमा उनमा निकै चिन्ता छ । राजनीतिक यात्रा त अगाडि बढेको छ तर समृद्धिको यात्रामा अगाडि बढ्न नसक्दा नै विभिन्न समस्याहरु आउने गरेको उनको ठम्याइ छ । त्यसैले माडीको समृद्धिको लागि नै उनी नगर प्रमुखमा जान चाहेकी हुन् । माडीको समग्र विकासको लागि के के काम गर्नु आवश्यक छ भन्ने सम्बन्धमा छलफल गरी योजना पनि तयार पारेकी छन् । उनका योजनाहरु माडीको समृद्धितिर नै केन्द्रित छन् । आफ्नो प्रतिवद्धता पत्रमा समृद्ध माडीका योजनाहरु लिएर जनतासामु पुगेकी छिन् । उनको जितले माडीवासीमा उत्साह थपेको छ । उनी आफ्नो अभियानमा दतचितभएर लाग्ने बताईन ।


















