408Shares

शान्ता अधिकारी
खैरहनी उच्च माविको कक्षा ७ मा पढ्ने दिपीसा चौधरी १३ वर्षको भईन । वैशाख पहिलो हप्ता उनलाई स्कुलमा भेट्दा टाउको दुखेको र रुघा लागेको दुई दिन भईसकेको थियो । तैपनि उनी विद्यालय भने आईरहेकी थिईन् । तेस्रो दिन उनको बिमार अलिक बढी नै भयो । यति हुँदा पनि उनी विद्यालयको नर्स कक्षमा नै आराम गरिरहेका थिए ।

उनको घरको आर्थिक अवस्था कमजोर छ । आमा बुवा दिनभरी काममा जानु हुन्छ । वार्षिक परिक्षा मुखैमा आएको छ । स्कुलमा आएपछि सबै ‘डाक्टरी सेवा’ पाईने र पढाई पनि नछुट्ने हुदाँ दिपीसा स्कुल जान छाडेकी छैनन् ।
‘स्कुलमा आयो भने यहाँ डाक्टर हुनुहुन्छ । म त बिरामी भएपनि सधै स्कुलमा आउँछु’– बिरामी अवस्थामा पनि स्कुलमा आउँदा ढुक्क हुने उनी बताउँछीन् ।

खैरहनी उच्च माविकै कक्षा ८ मा अध्ययनरत रविना (नाम परिवर्तन) ले परिवारकै अगाडि धम्की दिएर हात काटिन् । आमा बुबाले पनि उल्टै रवीनाले सधै धम्की दिन्छे भनेर बेवास्ता गरे । सामान्य कुरामा सम्झाउँदा पनि झुन्डीने र विष खाने गरेपछि परिवारले वास्ता नगरेको रवीनाकी आमा बताउनु हुन्छ ।

यता रवीना भने सधैँ मर्न पाए हुने जस्तो मात्रै लाग्ने गरेको बताउँछिन् । उनी दिनदिनै डिप्रेसनमा पर्दै गईन् । हप्तामा पाँच दिनसम्म उनी विद्यालमा अनुपस्थित हुन थालिन । रवीनाले विद्यालयमा पनि फरक गतिविधि देखाउन थालिन् । उनको गतिविधिमा शंका लागेपछि विद्यालयर्की नर्स कला पाण्डेले उनलाई सम्झाउन थाल्नु भयो । केटा साथीले धोका दिएको उनले नर्सलाई बताईन् । सो क्रममा रवीनाले चार पटकसम्म हात काटीन । बाँच्न मन नलागेको जस्ता कुरा गरेपछि उनको रोग पहिचान गर्न नर्स कलालाई सजिलो भयो । नर्स कलाले सुरुमा एक्लै राखेर रवीनालाई काउन्सीलिङ्ग गर्नुभयो । आमा बुबालाई राखेर काउन्सीलिङ्ग गर्नुभयो । अहिले रवीना कक्षामा नियमिति उपस्थित हुन्छीन् । उनको पढाईमा सुधार हुदै गएको छ ।

यी त भए प्रतिनिधि पात्र मात्र । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु भएपछि चितवनको खैरहनी उच्च माविमा अध्ययनरत छात्र छात्राको स्वास्थ्य र दैनिकीमा निकै परिवर्तन आएको छ । दैनिक २० देखि २५ जनासम्मले विद्यालयमा रहेको नर्स कक्षबाट सेवा लिने गरेको विद्यालयकी नर्स कला पाण्डे बताउनु हुन्छ ।

नर्स कलालाई विद्यालय समयमा विद्यार्थीहरुको स्वाथ्य जाँच गर्न भ्याई नभ्याई हुन्छ । मौसम परिर्वतन हुने समयमा त अत्याधिक विद्यार्थी बिरामी हुने नर्स कला बताउनु हुन्छ ।

विस २०७७ माघ १ गतेबाट खैरहनी स्कूलमा नर्स कार्यक्रम सञ्चान भएको हो । यहाँ अहिले मासिक एक सयको हाराहारीमा विद्यार्थीहरुले प्राथमिक उपचार लिईरहेका छन् । यी बिरामी मध्ये पनि ७ जना विद्यार्थीहरुलाई विद्यालयबाटै अन्य अस्पतालमा रिफर गरिएको नर्स कला पाण्डे बताउनु हुन्छ ।

गम्भिर अवस्था देखिएका छात्रा र छात्रहरुलाई अभिभावकको साथमा राखेर मनोपरामर्श पनि दिने गरीएको छ ।
टिफिन टाईममा साथीसंँग खेल खेलिरहेका कक्षा सातकी रुविना चौधरी स्कूलमा नै महिनावारी भईन । उनलाई साथीहरुले सहयोग गरेर नर्स कक्षबाट प्याड लगेर दिए । नर्स कलाले रुविनालाई प्याडको प्रयोग बारेमा सिकाउनु भयो । सो स्कूलमा कक्षा ६ भन्दा माथिका छात्राहरुलाई महिनाको दुई प्याकेट प्याड निशुल्क वाड्ने गरीएको नर्स पाण्डे बताउनु हुन्छ ।

स्कुलका प्रधानाध्यापक शम्भु शंकर बतौला स्कुलमा नर्सबाट विद्यार्थीको प्रेसर जाँचदेखि महिनावारी र प्रारम्भिक स्वास्थ्य समस्याहरु हल भएको बताउहुन्छ । उहाँ ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विद्यालयमा लागुले विद्यार्थीलाई मनोपरामर्श बाट धेरै विद्यार्थीहरुको पढाई नियमित भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, “क्रमश स्टार्फ नर्स विद्यालयमा आएर परामर्श र सेवा दिन थालिसकेपछि हामीलाई के लाग्यो भने प्रत्येक विद्यालयले राख्न आवश्यक रहेछ ।’

खैरहनी माविमा एक हजार चौसठ्ठी विद्यार्थी अध्ययनरत छन् त्यसमा पनि छात्राको संख्या अत्याधिक छ ।
प्रधानाध्यापक बर्तौला स्टार्फ नर्स विद्यालयमा आउन थालेपछि विद्यार्थी विशेष गरेर छात्राले आफ्ना समस्या निर्धक्कसँग राख्न सक्ने अवस्था भएको बताउनु हुन्छ ।

प्रधानाध्यापक बर्तौला विद्यार्थीमा बाहिरबाट हेर्दा समस्या नदेखिने तर भित्रभित्र निकै समस्या हुने बताउँदै भन्नुहुन्छ, ‘विशेष गरेर छात्राको समस्यालाई नर्सले गहिरोसँग अध्ययन गरेर समस्याको पहिचान गरी समस्या समाधान गरिएको छ ।’
सरसर्ती हेर्दा विद्याथीमा समस्या नदेखिने उहाँको अनुभव छ । तर गहिरो रुपमा हेर्दा खेरी आत्महत्या गर्न प्रयास गरेको घटना, डिप्रेसनको समस्या, विद्यालय छाडेर भाग्ने, पारीवारिक समस्याका कारण विद्यालय आउन छाडेर बीच बाटोबाटै हिड्ने जस्ता समस्या विद्यार्थीमा हुने उहाँ बताउनु हुन्छ ।

अहिले नर्स कक्ष सुरु भएपछि विद्यार्थीमा हात कसरी सफा गर्ने, महिनावारी हँुदा कस्ता समस्या आउँछन् र कसरी समस्या समाधान गर्ने, विद्यालयको वातावरण कसरी सफा गर्ने लगायतका काम गर्न नर्सले गर्दा सहज भएको प्रधानध्यापक वतौला बताउनु हुन्छ । उहाँको अनुभवमा विशेष गरेर सबै किशोरी यही विद्यालय उमेरमा महिनावारी हुने र महिनावारी हुँदा अपनाउनु पर्ने सरसफाईदेखि मनोसामाजिक परामर्श दिनसमेत नर्स मार्फत सजिलो भएको छ ।

नर्स कला पाण्डे विद्यालयमा नर्स आवश्यक रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘विशेष गरेर कलिला नानी बाबुको धेरै समय विद्यालयमा बित्छ । यहाँ राम्रोसँग काउन्सीलिङ्ग गर्न नसकेमा उनीहरुले गलत बाटो रोज्न सक्छन् । विशेष गरेर किशोरावस्थामा धेरै परिवर्तन आउने हुँदा उनीहरुको मनोभावना अनुसार उपचार गर्न पाएमा कुनै पनि युवा पिँढी गलत बाटोमा जाँदैनन् ।’
विद्यालयमा आएको एक वर्षको अवधिमा विशेष गरेर किशोरावस्थामा आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने भावना आउँछ । तर उनीहरुले सही र गलत छुटाउन नसक्दा हात काट्ने देखी कल्पना नगरेका गतिविधिहरु विद्यालयमा घट्ने गरेको उहाँ बताउनु हुन्छ ।
नर्सले महिनावारीका बारेमा कक्षा छ भन्दा माथिका छात्रालाई कक्षामा नै गएर जानकारी दिने गर्नु भएको छ । महिनावारी हुँदा के हुन्छ, प्याड कसरी प्रयोग गर्ने र प्रयोग गरेको प्याडलाई कसरी व्यवस्थापन गर्ने भनेर सिकाउने गरेको उहाँ बताउनु हुन्छ । अहिले छात्र छात्रा डर नमानिकन महिनावारी भएको सुरुको दिनमा नर्स कक्षमा नै आएर निशुल्क प्याड लैजान्छन् भने पहिलो पटक महिनावारी भएकाहरु पनि डर नमानिकन साथीलाई भन्छन् ।
मञ्जु उप्रेती छोरी सोही विद्यालयको कक्षा सातमा अध्ययन गर्छिन । उनी स्कुलमा पहिलो पटक महिनावारी भईन् । मञ्जु भन्छिन्, ‘मेरी छोरीले साथीलाई भनेकी रहिछन् । साथीले नर्सलाई भनेपछि नर्सले कोठामा गएर कसरी प्याड राख्ने र कसरी सफा हुने भनेर सिकाउनुभएको रहेछ । उनले नर्सबाट सिकेर आउँदा मलाई आधा टाउको दुखेको कम भयो ।’

चितवनको खैरहनी नगरपालिकाका तीन विद्यालयमा स्टाफ नर्स कार्यक्रम लागु भएको छ । खैरहनीका कंकाली माध्यामिक विद्यालय र कठार माध्यामिक विद्यालयमा बागमति प्रदेशको सहयोगमा नगरपालिकाको समन्वयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु भएको छ । सामुदायीक विद्यालयमा रहेका नर्सहरुलाई पाचाँ तहको तलव प्रदेश सरकार मार्फत आउने गरेको छ ।

408Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement