0Shares

काठमाडौं- नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदनप्रति असन्तुष्ट नेतालाई पदाधिकारीमा ‘सेटल’ गर्ने तयारी गरेको छ। शुक्रबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा एमसीसीबारे केही नेताहरूले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताले यस्तो रणनीति अख्तियार गर्ने संकेत गरेका हुन्।

बैठकको सुरुमा नै प्रचण्डले समसायमिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूलाई ब्रिफिङका क्रममा एमसीसी अनुमोदनलाई स्वीकार गर्न प्रस्ताव गरेका थिए। त्यसलगत्तै बोलेका नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले एमसीसीलाई अनुमोदनलाई स्वीकार गर्न नसकिने बताएपछि अध्यक्ष प्रचण्डले उनीहरूको असन्तुष्टि सम्बोधन गर्न पदाधिकारी र पार्टीको विभिन्न कमिटीमा भाग मिलाउने तयारी गरेका हुन्।

पार्टीभित्र असन्तुष्ट बनेका नेताहरुको व्यवस्थापनका लागि समीक्षा भइरहेको पूर्वसभामुख तथा नेतृ ओनसरी घर्तीले बताइन्। स्थायी कमिटी, पोलिटिब्युरो, अन्य जनवर्गीय संगठनको नेतृत्वका विषयमा बैठकले टुंगो लगाउने भएकाले यसमा पनि असन्तुष्टलाई ‘सेटल’ गर्न सकिने उनको भनाइ छ। ‘पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ,’ घर्तीले भनिन्।

बैठकले एमसीसीको विषयलाई लिएर असन्तुष्ट भएका नेताहरुलाई उचित व्यवस्थापन गर्ने र एकरुपताको लागि प्रयास गर्ने नेता देव गुरुङको तर्क छ।

पुसमा सम्पन्न माओवादीको आठौं महाधिवेशनले पदाधिकारीको टुंगो लगाउन सकेको छैन। पार्टीले केन्द्रीय कमिटीको बैठकलाई नै पदाधिकारी चयनका लागि अधिकार प्रत्यायोजन गरेको छ। यही बैठकबाट पार्टीका पदाधिकारी चयन गर्ने रणनीतिमा पार्टी छ।

पार्टीमा पदाधिकारीको संख्याभन्दा आकांक्षीको संख्या बढी छ। पार्टीमा अध्यक्षपछिको प्रभावशाली मानिने पद महासचिवका लागि वर्षमान पुन अनन्त र जनार्दन शर्माको चर्चा छ। बैठकले महासचिव छनोटको अन्योलतालाई पनि पूर्णविराम दिने नेता झक्कुप्रसाद सुवेदीले बताए। सुरुमा निर्चाचन गरेरै नेतृत्व छनोट गर्ने ‘फर्मेसन’ बने पनि अहिले पनि त्यो सम्भव नभएको उनको तर्क छ। सहमतिबाटै पदाधिकारी पक्का गर्ने प्रयास भइरहेको उनले स्पष्ट पारे।

असन्तुष्ट नेताहरूले भने एमसीसीकै कारण पार्टी दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका थिए। प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन हुनु अघिदेखि नै विपक्षमा मत हाल्नुपर्ने तर्क राख्दै आएका नेता श्रेष्ठले बैठकमा असहमति पत्र पेस गरेका थिए। असहमति पत्र पेस गर्दै नेता श्रेष्ठले अब पनि संयमता नअपनाएर अघि बढेमा पार्टी ठूलो दुर्घटनामा पर्नसक्ने चेतावनी दिए।

‘पार्टी वैचारिक र सांस्कृतिक रुपमा धेरै नै स्खलित हुँदै गएको छ। उत्पीडित र सर्वहाराको सम्बन्धबाटै पार्टी निर्माण भएको भए पनि अहिले भने पार्टीको सम्बन्ध केवल पुँजीवादी र दलालहरुसँग मात्र भएको छ। अहिलेको अवस्थामा संयमता नअपनाएमा पार्टी ठूलो दुर्घटनामा पर्न सक्छ,’ उनको असहमति पत्रमा लेखिएको छ।

त्यस्तै बैठकमा नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले पनि एमसीसीको विषयमा फरक मत राखेका छन्। उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित रुपमै फरक मत बुझाएका हुन्। बैठकमा पेस भएका लिखित असहमति र फरक मतबारे आगामी आइतबारको बैठकमा छलफल हुने बताइएको छ।

बैठकको सुरुमा एमसीसीको व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएपछि पार्टीभित्र देखिएका विभिन्‍न विवाद र मनमुटावलाई व्यवस्था गर्न केन्द्रीय समितिको बैठक बोलाइएको नेता देव गुरुङले केन्द्रीय सदस्यहरूलाई जानकारी दिएका थिए। बैठकमा प्रस्ताव पेस गर्दै प्रचण्डले नेता तथा कार्यकर्ताहरुलाई एमसीसीबारे पार्टीले लिएको निर्णयको ब्रिफिङ गरेका थिए। ‘एमसीसीले पार्टीभित्रको वातावरण बिगारेको थियो। त्यसकै समीक्षाको लागि बैठक बोलाइएको हो। बैठकमा यसबाहेक अन्य एजेण्डाहरुमाथि पनि छलफल हुनेछ,’ प्रचण्डले भनेका थिए।

बैठकमा आगामी चुनावमा माओवादीलाई कसरी अघि लैजाने भन्नेबारे पनि छलफल भइरहेको नेता मातृका यादवले जानकारी दिए। उनले भने, ‘चुनाव पनि नजिक आइरहेको छ। अब कस्तो भूमिकाबाट पार्टी अघि लैजाने भन्नेबारे छलफल चलिरहेको छ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement