0Shares

२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ ।

कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना दिँदा कारबाही गर्न सहज हुने बोर्डका अधिकारीहरु बताउँछन् । यसमा नेप्सले विगतदेखि नै सहयोग नगरेको उनीहरु बताउँछन् ।

पछिल्लो समय सेयर बजारमा कारोबार रकम दैनिक १७ अर्ब रुपैयाँभन्दा माथि पुग्न थालेपछि बोर्डले शंकाले हेरेको छ । बोर्डले २९औं वार्षिकोत्सवकै दिन विज्ञप्ति नै निकालेर सेयर बजारमा कर्नरिङ हुने गरेको बताएको छ ।

यस विषयमा अध्ययन पनि थालेको बताएको बोर्डले लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको छ । बोर्डको २९ बर्षको इतिहासमा कर्नरिङ गर्नेलाई कारबाही गर्न सकेको छैन ।

धितोपत्र बजारसम्बन्धी ऐन, २०६३ ले कृत्रिम रुपले बजार बढाउन भूमिका खेल्नेलाई २ लाख रुपैयाँ जरिवाना र २ वर्षसम्म कैद हुनसक्ने व्यवस्था गरेको छ । बोर्डले हालसम्म यो कानूनी अधिकार प्रयोग छैन । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बजारलाई अनुशासित बनाउन आफू लागिपरेको, सुधारको प्रयास थालेको बताउँछन् ।

सेयर बजारमा बद्मासी रोक्न नेप्सेको महत्वपूर्ण भूमिका हुने भएपनि त्यसअनुसार सहयोग नगरेको बोर्ड अध्यक्ष ढुंगानाले बताए । ‘नेप्सेबाट अलि चुस्तदुरुस्त रिपोर्टिङ भए धेरै सजिलो हुन्छ,’ उनले भने, ‘अब कसरी हुन्छ सुधार्नु पर्छ भनेर हामी काम गरिरहेका छौं, पहिलेको भन्दा अहिले फरक छ ।’

उता नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद धितोपत्र बोर्ड आफूभन्दा माथिल्लो निकाय भएकाले उसले चाहे कारबाही गर्न पनि सक्ने बताउँछन् ।

नेप्सेमा निहित अधिकार गरिरहेको बताउँदै उनी भन्छन्, ‘कहीँ कतै शंकास्पद कारोबार वा गल्ती भएको देखिए सम्बन्धित कम्पनीलाई स्पष्टीकरण सोध्ने गरेका छौं, कतिको कारोबार नै रोक्का गरेका छौं ।’

नेप्सेले यसअघि इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) को आशंकामा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिभिल बैंक, अजोड इन्स्योरेन्स लगायतलाई स्पष्टीकरण सोधेको थियो । अजोडको विषयमा त इन्साइडर ट्रेडिङ भएको नेप्से, सेवोन र बिमा समितिले अघोषित रुपमा स्वीकारेका थिए ।

सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा भएपछि अजोडमा इन्साइडर ट्रेडिङ भएको भन्दै लगानीकर्ताहरुले कारोबार रद्द गर्नु पर्ने माग गरेका थिए । नभन्दै, बिमा समितिले यसको हदप्रद निष्काशन गर्ने निर्णय रोक्का गरेको थियो ।

अजोडको विषयमा पनि बोर्डलाई रिपोर्ट पठाएको नेप्सका सीईओ साउद बताउँछन् । कारबाही भने कसैलाई भएन । नेप्सले विशाल बजार, राष्ट्रिय बिमा कम्पनी लगायतको कारोबार नै रोक्का गरिएको भन्दै उनले भने, ‘हामीले हुँदै नभएको अधिकार प्रयोग गर्ने कुरा भएन ।’

बोर्डले सूचना चाहे सजिलै माग्न सक्ने र सिस्टम समेत हेर्न सक्ने उनको भनाइ छ । नेप्सेले असहयोग गर्यो भन्ने कुरा स्वीकार गर्दै उनले भने, ‘बोर्ड आफैंले पनि कहाँ गलत भएको छ भन्ने हेरेर कारबाही गर्न सक्छ नि ।’-अनलाइनखबरबाट साभार

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement