31Shares

चितवन — प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस विविध सामाजिक, स्वास्थ्य तथा चेतनामूलक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्तमान आर्थिक चुनौतीका बीच सहकारीलाई बचाएर राख्नु आफैंमा ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँले सहकारी सामाजिक अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नीति, विधि र कानुनको दायरामा रहेर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। सहकारीको नाममा व्यापार गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले महिलाद्वारा सञ्चालित सहकारीहरू तुलनात्मक रूपमा कम समस्यामा रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी अर्यालले सहकारी सदस्यहरूलाई साधारणसभा र अधिवेशनमा मात्र सहभागी भएर नहुने बताउँदै समय–समयमा संस्थामा आएर सहकारीको लगानी कहाँ र कसरी भइरहेको छ भन्ने विषयमा जिज्ञासा राख्न सुझाव दिनुभयो।

कार्यक्रममा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले मधुमेह रोग, यसको जोखिम तथा बच्ने उपायबारे जानकारी गराउनुभयो। यस्तै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर शारदा कुबरले आशा अस्पतालमा उपचारका लागि आउने प्रभात दिदीबहिनी सहकारीका सदस्यहरूलाई निःशुल्क उपचार उपलब्ध गराउने घोषणा गर्नुभयो।

 


नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्कुन) का उपाध्यक्ष शान्ति अधिकारीले संस्था र व्यक्ति दुवै स्वस्थ हुनु आवश्यक रहेको बताउँदै नाफाका नाममा ऋण भाखा नाघ्न नदिने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले ऋणीहरूलाई समयमै किस्ता तिर्न आग्रह गर्दै संस्थाको स्थापना देखि हालसम्मको सहकारी यात्राबारे जानकारी दिनुभयो।


कार्यक्रममा संस्थाकी अध्यक्ष साधना पोखरेलले संस्थाका गतिविधि तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो। उपाध्यक्ष पुष्पा पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव मञ्जु रेग्मीले सञ्चालन गर्नुभएको थियो।


स्थापना दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गरेको थियो । सो अवसरमा जेष्ठ नागरिक सम्मान र सो कार्यक्रमका सहभागिहरुलाई पुरस्कार वितरण समेत गरीएको थियो ।

31Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement