1.4K+Shares

जीवनमा अगाडि बढ्नलाई आफ्नो खुट्टा दह्रो हुनैपर्छ । अगाडि बढ्नलाई बामे सरेका पाईलामा परिवारको साथले थप बलियो र अफ्ठ्यारासँग लड्न सहज बनाई दिन्छ । स्कुलवाट नै राजनीति सुरु गर्नुभएकी अन्जनी श्रेष्ठलाई आज यो ठाँउसम्म आउनका लागि परिवारको ठूलो साथ र सहयोग रहन गयो । नेपाली कांग्रेसको तर्फबाट संविधानसभा २०७० मा समानुपातिकका तर्फबाट सदस्य हुनुभन्दा अगाडि उनी नेविसंघ, तरुण दल, महिलासंघमा रहेर काम गरेका कारण उनलाई धेरै जान्ने र बुझने अवसर मिल्यो ।
बुवा लक्ष्मीशंकर श्रेष्ठ र आमा सुनमाया श्रेष्ठको कोखबाट वि.सं. २०२६ सालमा भक्तपुरको मध्यपुर ठिमीमा कान्छी छोरीको रुपमा जन्म भएको हो, अञ्जनी श्रेष्ठको । चार दिदी र दुई दाईकी बहिनी भएका कारण सबैको माया र छत्रछायामा उनी हुर्कन पाईन् । शिक्षीत परिवारमा जन्मिएका कारण उनलाई पढ्ने वातावरण सानैबाट मिल्यो । आफ्ना सन्तानलाई शिक्षा दिनकै लागि बुबाको पहलमा घर छेउमा विद्यालय खुल्यो । तत्कालीन समयमा छोरीलाई केही घर परिवारले पढाए पनि छोरालाई नीजि र छोरीलाई सरकारी स्कुलमा पढाउने अवस्था थियो । तर अञ्जनीले भने छोरासरह नीजि विद्यालयमा पढ्ने अवसर पाईन् । आफूले पढ्ने अवसर पाए पनि किन छोरा र छोरीमा समान नभएको होला भनेर उनको बाल मानष्पटलमा त्यतिबेलै पनि परिरहेको थियो ।
सरकारी नोकरी गरेका बुबा र अंकलका कारण उनको बाल्यकाल राम्रोसँग बित्यो । उनी बाल्यकाल सम्झदै भन्छिन्, “छोरीहरुलाई पढाउनु पर्छ । छोरी र छोराहरु बराबर हो भन्ने आमा, हजुरआमाले पढ्न पर्छ भनेर वातावरण बनाई दिनु हुन्थ्यो । म पनि हक्की स्वभावको थिएँ, सानैबाट बोल्थेँ ।”
वि.सं. २०३६ सालमा कक्षा ६ मा आदर्श कन्या निकेतन स्कुलमा पढ्दा नेविसंघको ईकाई अध्यक्ष भएसँगै राजनीतिप्रति उनको झुकाव बढ्दै गयो । आफ्नो उत्तरदायित्व सम्झेर उनले स्कुलमा कोही लडेर घाउ हुँदा प्रिन्सिपल सरको रुममा गएर औषधी माग्ने गर्थिन् । कसैको कपडा स्कुलमा खेल्दा च्यातिएमा सियो मागेर सिलाई दिने गरेर उनले आफ्ना साथीहरुलाई सहयोग गरेको सम्झिन्छिन् । सुरो स्वभावको कारण हरेक काममा नेतृत्व लिनसक्ने भएकै कराण कक्षा ६ देखि १० कक्षा पढ्दासम्म उनले स्कुलमा विद्यार्थीको नेतृत्व अपुष्ट तरिकाले आफ्नो हातमा लिएको बताईन् ।
दोस्रो श्रेणीमा एसएलसी पास भएसंगै उनी पद्यम कन्या कलेज बागबजारमा आई. ए. पढ्नको लागि भर्ना भईन् । कलेज प्रवेशसंगै उनको राजनीति थप अगाडि बढ्न थाल्यो । कलेजमा नेविसंघको अध्यक्ष भईन् । त्यसैगरी २०४५ सालमा पद्यमकन्या कलेजको स्ववियु सहसचिव र २०४९ सालमा स्ववियु सभापति भईन् । सबैसंग मिल्न सक्ने खुवीका कारण विद्यार्थीहरुका बीचमा उनी दिन दिनै लोकप्रिय हुदै गईन् । तिनै साथीहरुको माया र विश्वासले गर्दा २०५१ सालमा नेविसंघको केन्द्रीय सदस्य हुन सफल भईन् ।
यसरी स्कुल तहबाट सुरु भएको विद्यार्थी राजनीतिक यात्रा केन्द्रसम्म पुग्दै गर्दा उनलाई विवाहका कुराहरु पनि आउन थाले । विवाहको कुरा आउँदा विगत सम्झदै उनी भन्छिन्, “पिकेको सहसचिव हँुदासम्म परिवारमा खासै चासो थिएन । तर पद्यमकन्या कलेजको स्ववियु सभापति भएपछि भने परिवारमा कतै छोरीको विवाह हुदैन कि भन्ने चिन्ता उनलाई समेत थियो । घरमा बुबा आमालाई छोरी राजनीतिमा लागेर कतै घरबारै नहोला कि भन्ने चिन्ता परिरहेको थियो ।” तर उनले आफ्ना अभिभावकलाई कहिल्यै पनि विश्वासघात नगर्ने बचन दिएकी थिईन् । त्यसै अनुसार उनले २०५३ साल जेठ १९ गते जीवनको सहयात्रीको रुपमा मिलनबाबु श्रेष्ठलाई रोजिन् । भाग्यको खेल विवाहपछि पनि उनलाई बुझेको परिवार उनले पाईन् । घरमा सासु आमा र बुढी सासुआमाको साथले विवाह पछाडिको घर व्यवस्थापन गर्न उनलाई सहज भयो । दुई रथको एक पाङ्गा्र हुँदै दुवैको घरायसी जीवन र राजनीतिक जीवन पनि यतिबेला संगै अगाडि बढिरहेको छ । यस रथमा एक छोरी र एक छोराले थप सुन्दर बनाई दिएका छन् ।
जहाँ ईच्छा, त्यहाँ उपाय । विवाहपछि चितवन आएसँगै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर सामाजिक र राजनीतिक जीवनमा उनी पुनः सक्रिय हुन थालिन् । २०५४ सालमा नेपाल तरुण दल चितवनको जिल्ला सदस्य भईन् भने नेपाल महिला संघ वडा नम्वर ७ को अध्यक्ष भईन् । शुभश्री बिकास केन्द्रको अध्यक्ष भएर महिलारुलाई समुहमा आवद्ध गरेर सिपमुलक काम, तालिमहरु आयोजना गर्न थालिन् भने महिलाहरुलाई प्रौढ शिक्षा मार्फत शिक्षामा अगाडि बढाउन अहोरात्र खटिईन् । त्यसैगरी २०५६ सालमा महिला जागृति आय आर्जनको अध्यक्ष भईन् । नौ वर्षसम्म सो संस्थाको अध्यक्ष भएर उनले तत्कालीन भरतपुर नगरपालिकाको ९ वटा वडामा रहेर महिला लक्ष्ाित कार्यक्रमहरु सञ्चालन गरिन् । त्यसैगरी नेपाली काँग्रेस चितवनको कोषाध्यक्ष भएर काम गरेको अनुभव पजि उनीसंग रहेको छ ।
२०७० सालमा समानुपातिकको तर्फ नेपाली काँग्रेसबाट उनी संविधान सभा सदस्य भईन् । संविधान सभामा उनले चितवनमा जंगली जनावरको आक्रमण, महिला हिंसा, बलात्कार जस्ता विषयलाई जोडदार रुपमा उठाएको बताउँछिन् । महिलाको न्यायका लागि संसदमा आवाज उठाउँदा कतैपनि सुनुवाई नभएको भन्दै भन्छिन्, “महिला सदस्यहरुले संसद बहिष्कार गरेर पनि महिलाका मुद्धाहरुको विषयमा सम्वोधन गर्न लगाउथ्यौ । हरेक कार्यकारी निकायमा महिला सहभागिताका लागि ३३ प्रतिशत उल्लेख गराउन धेरै प्रयास गर्दागर्दै पनि सकेनौँ, तर प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आगामी दिनमा यी कुरामा पूरा गराउन तर्फ लाग्नुपर्छ ।”
२०४६ सालको जनआन्दोलनपछि बनेको नयाँ संविधानमा महिलालाई हरेक दलहरुले अनिवार्य रुपमा ५ प्रतिशत उम्मेदार बनाउनै पर्ने बाध्यकारी दस्तावेजका रुपमा आयो । फलस्वरुप नेपाली कांग्रेसबाट ५ जना निर्वाचित र कम्युनिस्ट पार्टीबाट पनि केही महिलाले जित हासिल गरे । त्यसपछि बनेका हरेक सरकारमा महिलाको उपस्थिति हुन थाल्यो । तर सोँचेजस्तो र उल्लेख्य भने हुन नसकेको उनको भनाई छ ।
उनको अहिलेसम्मको अनुभवले भन्छ–‘बिकासको काममा जति कामहरु भएको छ । त्यति काम महिला बालबालिकाको क्षेत्रमा हुन सकेको छैन ।’ २०६३ सालपछि हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुने भनिए पनि न त मन्त्रीमण्डलमा त्यो संख्यामा पु¥याइयो, न त अन्य क्षेत्रमा । महिलालाई ३३ प्रतिशत सहभागी ससंदमा मात्र होइन, हरेक क्षेत्रमा भनेर लेखिनुपथ्र्यो । तर नलेखिएकै कारण हरेक क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य हुन नसकेको उनी बताँछिन् ।
म आफू स्वयं पनि विगतको संविधानसभामा सदस्य भएको नाताले हामीले पहल गर्दागर्दै हरेक कार्यकारी क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत गर्न सकेनौँ भन्ने कुरासँग उनी सहमत छिन् । यसो गर्न नसकेकोमा आफूलाई पीडाबोध हुने उनी बताउँछिन् । महिलाहरु भोट बैकको रुपमा मात्रै सीमित रहन नहुने उनको तर्फ छ । उनी भन्छिन्,‘अहिले पनि महिलाहरुलाई ५० प्रतिशत आरक्षणको आवश्यकता रहेको छ ।’
राजनीतिक दौरानका क्रममा भएका विभिन्न आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएको अनुभव उनीसँग छ । जेलभित्र मात्रै होईन, विभिन्न अवसरमा उनले विभिन्न देशहरुको भ्रमण गर्ने अवसर पाईन् । जसले उनको बुझाईको क्षमतालाई अझै फराकिलो बनाउन सहयोग पुग्यो । उनी जर्मन, ईटली, जापान, अमेरिका, लण्डन, ईन्डोनेशिया, चीन, भारत, थाईल्याण्ड, मंगोलिया, स्वीजरल्याण्ड लगायतका देशहरुको भ्रमण गरेकि छन् ।
महिलाले संख्यात्मक उपलब्धि मात्र हेरेर हुँदैन । आफ्नो गुणात्मक वृद्धि पनि सँगै लैजानुपर्छ । लोकतन्त्र जोगाउनका निमित्त हामी महिलाको अहम भूमिका रहन्छ । यसैलाई जोगाउँदै अन्य अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । महिलाहरु स्वयम् आत्मनिर्भर हुनुपर्छ । जबसम्म महिलाहरु आफ्नै खुट्टामा उभिन सक्ने अवस्था आउँदैन, तबसम्म महिलाहरु पछाडि नै रहनुपर्ने उनको बुझाई छ ।
नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा महिलाको अहम् भूमिका रहने गरेको प्रष्टै छ । त्यतिमात्र होइन, प्रजातन्त्र प्राप्तिका लागि महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देशमा भएको ऐतिहासिक आन्दोलनमा उपस्थिति मात्र होइन, नेतृत्व पनि लिएका छन् । लामो समय राजनीतिक यात्रा गर्दै अगाडि बढेकी अञ्जनीले नेतृत्व तहमा पुगेर सबैको मनोभावना अनुसार काम गर्न सकुन् । हाम्रो शुभकामना छ ।

1.4K+Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement