राप्ती नगरपालिका कार्यालयमा तालाबन्दी : माग सम्बोधनका लागि ४८ घन्टे अल्टिमेटम
– ध्रुवराज खनाल
राप्ती । राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने पुरानै रोग बल्झिएको छ । बुधबारदेखि पछिल्ला प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओली कार्यालय उपस्थित छैनन् । नगरप्रमुख शमशेर लामासँगको टसलपछि ओली बुधबार बिहान आफ्नो सामान लिएर फर्किएका छन् । कार्यालय प्रमुखले प्रयोग गर्ने मोबाइल नगरपालिकालाई जिम्मा लगाएर उनी काठमाडौँ फर्किएका हुन् ।
मेयर लामाले मौरी व्यवसायी धर्म श्रेष्ठ र भण्डारा माध्यमिक विद्यालयका अध्यक्ष रामबहादुर सारुको आडमा नियमविपरीत प्रक्रिया नपुगेका योजनाको भुक्तानी गर्न दबाब दिएपछि ओलीले नगरपालिका छोड्न बाध्य भएको बताइन्छ । बिस्तारै लयमा फर्कन थालेको नगरपालिकालाई केही व्यक्तिको आडमा नगरप्रमुखले बेथिति निम्त्याएको भन्दै त्यसको विरोधमा नगरपालिका कार्यालयमा ताला लगाइएको हो ।
कागजी प्रक्रिया नमिलेको, टेन्डर गर्नुपर्ने योजना कोटेसनमा गरिएको, बजेट नभएको योजना सम्झौता गरिएको, रातो किताबमा हुँदै नभएको योजना सम्झौता गरिएको र मेयरको तोक आदेशमा प्रक्रिया मिचिएर गरिएको सम्झौताको भुक्तानी गर्न नगरप्रमुखले दबाब दिएको आरोप छ । कतिपय योजना सम्पन्न भएको दुई वर्षसम्म पनि भुक्तानी दिइएको छैन ।
विधि र प्रक्रियाअनुसार चल्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत टिक्ने वातावरण बनाउनुपर्ने, र पछिल्ला हाकिमलाई फिर्ता बोलाएर बस्ने वातावरण निर्माण गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको व्यवसायी कुवेर सिंह लामाले बताए । भुक्तानी नहुँदा र प्रमुख प्रशासकीय अधिकृत छिटो समयमै कार्यालय छाड्न बाध्य पारिँदा नगरवासीले दुःख पाएको उनको भनाइ छ । ‘विधि र पद्धतिमा नगरपालिका सञ्चालन हुनुपर्छ’, लामाले भने, ‘बेथिति अन्त्य गर्दै सिस्टममा चलाएर नगरको विकास गर्नुपर्ने स्थानीयको आवाज छ ।
स्थानीय युवाहरुले नगरप्रमुख लामा, मौरी व्यवसायी श्रेष्ठ, भण्डारा माविका अध्यक्ष मगरले अहिलेका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता बोलाएर माफी नमागेसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । आन्दोलनरत युवाहरुले नौ बुँदे माग सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका छोड्नुको कारण छानबिन गर्न समिति गठन गर्नुपर्ने, नियमित कार्यपालिका बैठक र नगरसभा सञ्चालन गर्नुपर्ने, प्रमुख र उपप्रमुख कार्यालय समयमा अनिवार्य उपस्थित हुनुपर्नेलगायतका माग अघि सारेका छन् । साथै, आन्दोलनरत पक्षलाई विशेष समितिहरुको बैठकमा सहभागी गराउने, सार्वजनिक सम्पत्ति कार्यालय प्रयोजनका लागिमात्रै प्रयोग गर्नुपर्ने, र योजनासँग सम्बन्धित भुक्तानी छिटो गर्नुपर्ने माग पनि उनीहरुको रहेको छ ।
त्यस्तै, नगरपालिकाले नियमितरुपमा सार्वजनिक सुनुवाइ आयोजना गर्नुपर्ने र आन्दोलनरत टोली, कार्यपालिका सदस्य, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहभागी वार्ता टोली गठन गरी छलफल सम्पन्न भएपछि मात्र तालाबन्दी खोलिने घोषणा गरिएको छ । युवाहरुले ४८ घन्टाभित्र आफ्ना माग सम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नगरका जनप्रतिनिधिहरुले लिनुपर्ने चेतावनी दिएका छन् ।
अर्का युवा सुवर्सन कँडेलले तालाबन्दीसँगै नगरपालिकाको गाडी सञ्चालनमा रोक लगाएको बताए । दुई वर्षदेखिको योजनाको भुक्तानी नपाउने तर जनप्रतिनिधि गाडी चढेर हिँड्ने छूट नभएको भन्दै नगरका गाडी चल्न रोक लगाइएको उनले बताए । अर्का युवा दिनेश कालाखेतीले नगरपालिकाको बेथिति अन्त्यका लागि सबै नगरवासी एकजुट हुनुपर्ने बेला आएको बताए । ‘नगरपालिकालाई अनिर्णयको बन्दी बनाउन पाइँदैन’, कालाखेतीले भने, ‘नगरको बेथिति अन्त्य गर्दै विकासको दिशामा नगरलाई लैजानु सबैको दायित्व हो ।’
असार ५ गते राप्ती हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत ओलीले पछिल्लो समय काम गर्ने वातावरण नभएकाले छोड्नु परेको बताइन्छ । यसबारे बुझ्न खोज्दा उनको मोबाइल अफ छ । तर, उनले राप्तीका एक जना जनप्रतिनिधिलाई पठाएको मोबाइल म्यासेजमा नगरप्रमुखले आफूनिकटका व्यक्तिको फाइलको भुक्तानी जसरी पनि गर्नुपर्ने, समस्या मात्र सृजना गर्ने भनेर आरोप लगाएको, साङ्घातिक हमला गर्ने धम्की दिएको, कारबाही र सरूवा गर्न भनेर संघीय मामिला मन्त्रालयमा पत्र पठाएको उल्लेख छ ।
यता, नगरप्रमुख शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृतसँग कुनै विवाद नभएको, प्रक्रिया नपुगेका योजनाको भुक्तानी दिन नमिल्ने भन्ने कुरा सम्बन्धित व्यक्ति वा फर्मलाई जानकारी गराए विषय प्रस्ट हुने र नियमविपरीत भुक्तानी दिन आफूले कुनै हस्तक्षेप वा दबाब नदिएको बताएका छन् । ‘मेरै कारण समस्या नआओस् भनेर हाकिमसाबलाई खुल्लाजस्तै छोडिदिएको थिएँ’, प्रमुख लामाले भने, ‘के कारणले हाकिम नगरपालिका आउनुभएन थाहा भएन, मसँग पनि सम्पर्क भएको छैन, बुझ्ने प्रयास गर्दैछु ।’ प्रमुख, अन्य जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको टसलकै कारण पछिल्लो एक वर्षमा राप्तीमा चार जना प्रशासकीय अधिकृतको सरूवा भइसकेको छ ।


















