0Shares

 

भरतपुर, चितवन । युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर कलेजको नयाँ शैक्षिक कार्यक्रमको बारेमा जानकारी दिएको हो । सो अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा प्रकाश पार्नुभएको थियो । यो विषयले यस क्षेत्रको आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । विश्वविद्यालयले विभिन्न चारवटा संकायमा अध्यापन गराउँदै स्नातकदेखि विद्यावारिधिसम्म झण्डै ६५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो ।

यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले जानकारी दिनुभयो ।

कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको अवस्थीको भनाइ छ । चितवनको भरतपुर–११ मा रहेको कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको अवस्थीले बताउनुभयो ।

त्यस्तै, आजै आयोजित एक भव्य समारोहकाबीच युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै “जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट ” को दोस्रो संस्करण समेत अनावरण गरेको छ । अनावरण गरिएको जर्नलका बारेमा जर्नलका प्रधान सम्पादक डा. अन्जय कुमार मिश्रले प्राध्यापकहरुको लेख रचना राख्न विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने भन्दै आफूहरुले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको बताउनुभयो ।


हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा काम गरीरहेको उहाँको भनाई छ ।
कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएका कलेजका अध्यक्ष चुडामणि खनालले बताउनुभयो ।

क्लबले २०२२ मा राष्ट्रिय स्तरको युटेक ह्याकाथन अल्फा, २०२३ मा राष्ट्रियस्तरको युनाइटेड टेक फ्युजन, रोबो फुटबल, प्रोजेक्ट डेमोस्टेसनलगायतका कार्यहरु गरेको खनालको भनाइ छ । कलेजले आगामी सेप्टेम्बर २२ मा “दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर” विषयमा अन्तर्राष्ट्रिय गोष्टी गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१, २०१५ प्रमापत्र प्राप्त गर्नुका साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको खनालले बताउनुभयो ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवं आईटी विज्ञ प्रा.डा. सुवर्ण शाक्यले बीई आईटीको बारेमा तथा पुलचोक क्याम्पसका उपप्राध्यापक एवं ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा. प्रदीप श्रेष्ठले एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बारेमा जानकारी गराउनुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement