0Shares

दुर्लभ एकसिङ्गे गैंडाको प्रमुख वासस्थान चितवन राष्ट्रिय निकुञ्जमा खाल्डोमा पारेर तस्करले दुई वटा गैंडा मारेका छन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुई वटा खाल्डोमा गैंडालाई धरापमा पारेर मारिएको थियो। ६ र १८ वर्षका पोथी गैंडा मरेको अन्दाजी तीन र १० दिनमा फेला परेको निकुञ्जको अनुमान छ।

तिवारीका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ। ५०० मिटर वरपर हेर्दा अरू खाल्डो भने भेटिएन।

करीब २० वर्षअघि यसरी खाल्डो खनेर गैंडा मार्ने गरिए पनि पछिल्ला वर्षमा गोली हानेर, करेन्ट लगाएर तस्करले गैंडा मार्दै आएका थिए। अहिले निकुञ्जभित्र खाल्डो खनेर धरापमा पारी गैंडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले २०/२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग हुनु र खाल्डो खनुन्जेल पनि संयन्त्रले थाहा नपाउनु दुःखद भएको बताए।

खाल्डो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ। तस्करले खाल्डोको माटो केही पर लगेर फालेको देखिएको छ। कोदालो, गैंची जस्ता साधन प्रयोग गरेर खाल्डो खनिएको अनुमान छ। खाग लगेर खुर छाडिएको छ।

दशैंतिहारको बीचको घटना
गैंडा मृत भेटिएको क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो। बिहीबार सोही क्षेत्रमा ५२औं दिनसम्म नियमित हात्तीको गस्ती थियो। १० वटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दशैं र तिहारको बीचको समयमा तस्करले खाल्डोमा पारेर गैंडा मारेका हुन्।

यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए। उनको भनाइमा तस्करले गैंडाको बाटो पहिचान गरी खाल्डो खनेर नजिकैबाट चियो गरेको देखिन्छ। गैंडा मरेपछि खाग काटेर लगेका हुन्।

सो क्षेत्रमा रहेका गैंडामध्ये १२ वटालाई बाढीले बगाएपछि भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताए। निकुञ्ज प्रशासनले घटना लगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्रने जिकिर गर्दै तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने पुनले जानकारी दिए।

कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए। निकुञ्जभित्र यति वेला बाक्लो झाडी भएकाले नजिकै देख्न पनि मुश्किल हुन्छ। प्रमुख संरक्षण अधिकृत पुनले भने, “सुरक्षामा चुनौती थपिएको छ। हामी यसलाई गम्भीर रूपमा लिएर रणनीतिक हिसाबले काम गर्छौं।”

निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले २०/२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग हुनु र खाल्डो खनुन्जेल पनि संयन्त्रले थाहा नपाउनु दुःखद भएको बताए।

विभाग, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्म ढंगले अघि बढाउने उनले बताए।

उपमहानिर्देशक ढकालले भने, “निकुञ्जभित्र अरू पनि खाल्डा खनिएको र घटना भएको हुन सक्छ। सूक्ष्म अध्ययन गर्नुपर्छ। समग्र संरक्षणका विधि पद्धति, तरीकाको समीक्षा गरिनुपर्छ।”

सशस्त्र द्वन्द्वका वेला तस्करले एकै वर्ष ३८ वटासम्म गैंडा मारेका थिए। पछिल्ला वर्ष वन्यजन्तु चोरी शिकारी निकै घटेको थियो। कुनै वर्ष त निकुञ्जले शून्य चोरी शिकारी वर्ष मनाएको थियो।

गत वर्ष दुई वटा गैंडा मारिएका थिए भने तस्कर पनि पक्राउ परेका थिए। -रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement