देशभरका ४२ स्रष्टालाई सम्मान,
संस्कृतिकर्मी र साहित्यकारको कुम्भमेला
लुम्बिनीको विश्वकोशलगायत लुम्बिनीबारे करिब १० कृति प्रकाशित गरेका गितु गिरी आइतबार संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्न हौसिएका थिए। उनीसँगै अर्का विद्वान् कीर्तिपुर निवासी वसन्त महर्जनले पनि सोही विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार (प्रदेश नं. ३ बाट) प्राप्त गर्दै थिए।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा निर्धारित समयभन्दा निकै ढिलो गरी सुरु भयो, सम्मान कार्यक्रम। प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री के पी शर्मा ओली उपस्थित भए। उनले सम्बोधनकै क्रममा भने, बाढी पीडितको राहत र उद्धार कार्यमा सरकारी सहयोगको व्यवस्थापनमा उनी व्यस्त थिए र त्यसैले ढिलो गरी आइपुगे।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा २०६ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रम थियो। रवीन्द्र अधिकारीको निधनसँगै संस्कृति मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए, प्रधानमन्त्री ओलीले। उद्घोषिकाले उनलाई पनि कवि हृदय भएका भन्दै उनले विभिन्न साहित्यिक कार्यक्रममा वाचन गरेका कविता सुनाइन्, प्रधानमन्त्री ओलीकै अगाडि।
पुरस्कारको क्रम अगाडि बढ्यो। बौद्ध विद्वान्द्वयसँगै लोकसाहित्यकार भक्तबहादुर राईले प्रदेश नं. १ बाट तथा महिला तथा राजनीतिक अन्वेषक शोभा पोखरेलले प्रदेश नं. २ बाट संस्कृति विधातर्फ पुरस्कृत भए। गण्डकी प्रदेशबाट अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, प्रदेश नं. ५ बाट गुल्मीका युवराज शर्मा, कर्णाली प्रदेशबाट डकुमेन्टरीकर्मी छक्कबहादुर लामा र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराका भोजराज भट्टराई पुरस्कृत भए।
त्यस्तै, ललितकला विधामा राष्ट्रिय प्रतिभा पुरस्कार पाए, गोविन्द नारायण ज्यापूले। प्रादेशिकतर्फ भने क्रमशः स्वयं प्रकाश श्रेष्ठ, हरिओम् मेहता, दोलखाका उमेश श्रेष्ठ, पोखराका आलोक गुरुङ, लुम्बिनीका नर बहादुर विश्वकर्मा, मुगुका पेमाल्हामु गुरुङ र सुदूरपश्चिमका कविका चौधरी पुरस्कृत भएका छन्।
संगीत तथा नाट्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक जीवन शर्मालाई सम्मान गरिएको छ। यसै विधामा प्रदेशतर्फ भने क्रमशः भोजपुरका चेत बहादुर राई (नारायण), रौतहतका वृजलाल सहनी, सिन्धुलीका डम्बरकुमारी गुरुङ (लक्ष्मी), कर्ण बहादुर गौतम, कपिलवस्तुका इन्द्र बहादुर विक (किशोर), जुम्लाका पदम बहादुर रोकाया र डोटीका ध्वजबहादुर महरा सम्मानित भएका छन्।
भाषा–साहित्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो, साहित्यकार ओमवीरसिंह बस्न्यातलाई। यस विधामा प्रादेशिक प्रतिभा पुरस्कारबाट क्रमशः भोजपुरका पत्रकार पदम कुमार राई, जनकपुरका संस्कृतिकर्मी चन्द्रशेखर उपाध्याय, काठमाडौंका गीतकार शम्भुकुमार रेग्मी (मिलन), स्याङ्जाका बालसाहित्यकार देवीप्रसाद वनवासी, दाङका साहित्यकार विन्दु शर्मा, दैलेखका लालबहादुर खत्री र धनगढीका कवि भोजराज भट्ट सम्मानित भए।
सबै विधामा राष्ट्रियतर्फको धनराशि १ लाख रूपैयाँ र प्रदेशतर्फको ५० हजार रहेको छ।
यससँगै, महाकवि देवकोटा पुरस्कार पनि यसै अवसरमा प्रदान गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित यस पुरस्कारको धनराशि १ लाख रूपैयाँ रहेको छ। यस पुरस्कारबाट सम्मानित हुनेमा कविता विधातर्फ विश्वविमोहन श्रेष्ठ, निबन्ध र समालोचनातर्फ देवीप्रसाद सुवेदी, आख्यान र नाटकतर्फ नयनराज पाण्डे, बाल र लोकसाहित्यतर्फ जीवेन्द्र देव गिरी एवं भाषा साहित्यतर्फ रोचक घिमिरे सम्मानित भएका छन्।
सोही अवसरमा भगत सर्वजित मानव मर्यादा पुरस्कार ३ जना स्रष्टालाई पैदान गरिएको छ। १ लाख नगदसहित उक्त पुरस्कार दलित मुक्ति आन्दोलनका क्षेत्रमा चितवनका रणेन्द्र बराली, समाज सुधारतर्फ धनकुटाका भद्रमान घले, लेखन तथा अध्ययन अनुसन्धानतर्फ धनुषाका रमेशरञ्जन झालाई प्रदान गरिएको छ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारतर्फ नाटकमा केशवप्रसाद उपाध्याय र काव्यतर्फ झापाका भीष्म उप्रेती सम्मानित भएका थिए।
यसरी मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, संगीत, नाटक आदि क्षेत्रबाट देशभरका ४२ जना संस्कृतिकर्मी र साहित्यकारलाई सम्मान गरेको छ।








